मिर्गौला रोगीलाई सहयोगः हात्तीको मुखमा जीरा
गोपाल गडतौला
सरकारले स्थानीयतहमै प्रभावकारी उपचार व्यवस्था मिलाउन नसक्दा थुप्रै मिर्गौला रोगीले निःशुल्क डायालिसिस् कार्यक्रमबाट लाभ लिन सकिरहेका छैनन् ।
सामान्य मजदूरीले दुई सन्तानसहितको परिवार धान्न कठिन भएपछि अर्जुनधारा–७, झापाकी शान्ता राई (२७) घरसल्लाहमै गएको कात्तिकमा रोजगारीका लागि कतार पुगिन्। तर, उनी गएको केही महीनामै श्रीमान् भुपेन राई (३६) थलिए। चिकित्सकले उनका दुवै मिर्गाैला खराब भएको बताए। यो खबरले ऋण काढेर विदेशिएकी शान्ताको मन अडिएन। उनी फर्किइन्। उपचारका लागि धरान, विराटनगर र काठमाडौंका अस्पतालमा चहार्दा र डायालिसिस् थाल्दासम्म भएको सबै सम्पत्ति सिद्धिएको शान्ता बताउँछिन् ।
ऐलानी जग्गामा बस्ने भूपेनको दुरवस्था देखेका शनिश्चरे बजारका चतुर्भुज काफ्ले, चन्द्र रानामगरलगायतका सहयोगीहरूले 'भूपेन बचाउ अभियान' मार्फत चन्दा उठाएको रु.१८ लाखमध्ये रु.१२ लाख खर्च भइसकेको छ। जसमध्ये रु.५ लाखले शान्तालाई टेम्पो किनिदिएका छन्। टेम्पो चलाएर जसोतसो हातमुख जोर्ने मेलो बनाएकी उनी त्यही टेम्पोमै साताको तीनपटक श्रीमान्लाई डायालिसिस्का लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल पुर्याउँछिन् ।
सरकारले फागुन २०७३ देखि मिर्गौला रोगीका लागि आजीवन निःशुल्क डायालिसिस् सेवा प्रदान गर्ने घोषणा गरेको थियो। यसअघि केपी ओली नेतृत्वको सरकारले ठीक एकवर्षअघि जेठमै मिर्गौला बिरामीलाई दुईसय आठ पटकसम्मको डायालिसिस् निःशुल्क गर्ने निर्णय गरेको थियो। तर, सरकारी सेवाका लागि तोकिएका अस्पतालहरूमा भर्ना नपाएका कारण भूपेन अहिले पनि मासिक रु.५० हजार जति खर्चेर डायालिसिस् गराइरहेका छन्। “निःशुल्क भनेको डायालिसिस्को पैसा तिर्दा―तिर्दा कंगाल भइसकियो”, शान्ता भन्छिन् ।
अमृतलाल श्रेष्ठ (६१) दश वर्षदेखि मिर्गौलाको उपचार गराइरहेका छन्। राष्ट्रिय समाचार समितिको मेची अञ्चल प्रमुखको रूपमा २०६५ सालमा निवृत्त श्रेष्ठले अहिलेसम्म नेपाल र भारतमा गरी उपचारमा रु.२० लाख खर्च गरिसके। जसमध्ये करीब रु.५ लाख भने शुभचिन्तकको सहयोग हो। पैसा अभावकै कारण गत मंसीरदेखि सातामा एकपटक मात्र डायालिसिस् गरिरहेका उनी प्रत्येक पटक रु.५ हजार जति खर्च भइरहेको बताउँछन् ।
निःशुल्क डायालिसिस् कार्यक्रम अघि नै सरकारले २०६५ सालमै मुटु, मिर्गौला, क्यान्सरलगायतका दीर्घ एवं गम्भीर रोगको उपचारका लागि रु.१ लाखदेखि रु.३ लाखसम्म सहयोग गर्न थालेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलका अनुसार, जिल्लास्थित पाँच सदस्यीय समितिको सिफारिशमा सरकारले उक्त रकम बराबरको उपचार खर्च सम्बन्धित अस्पतालमै उपलब्ध गराउने गरेको छ। तर, यी सबै उपचारका लागि अस्पताललाई सरकारले सूचीकृत गरेको हुनुपर्छ।
सयौं रोगी, तीन बेड
स्वास्थ्य मन्त्रालयले १० जेठदेखि झापाको ॐ साई पाथिभरा अस्पताललाई निःशुल्क डायालिसिस् सेवाका लागि सूचीकृत गरेको छ। भद्रपुरस्थित ॐ साई सरकारी सूचीमा परेको अञ्चलकै एक मात्र अस्पताल हो। तर, यो अस्पतालमा डायालिसिस्का बिरामीको लागि तीन वटा मात्र बेड छन्। तर, जिल्ला जनस्वास्थ्य कार्यालयमा ३२७ मिर्गौला रोगीले सरकारी सहयोगका लागि निवेदन दिएका छन्। र, वर्षेनि यो संख्या बढिरहेको छ।
सरकारले तोकेको अस्पतालमा भर्ना नै नपाएका कारण विर्तामोड नगरपालिका–४ का गंगाप्रसाद मैनाली (५६) पनि कहिले काठमाडौ त कहिले झापामै पैसा तिरेरै सातामा दुईपटक डायालिसिस् गराइरहेका छन्। यसबीचमा करीब रु.६ लाख खर्च भइसकेको उनका छोरा राजन बताउँछन् ।
मिर्गौला खराब भएपछि १४ महीनायता रु.१० लाख सिध्याएको बताउने बुधबारे–४, झापाका किरण धिमाल (२८) ले अहिलेसम्म १२० पटक डायालिसिस् गराइसकेका छन्। “यो बिमारले पूरै परिवारलाई नै सिध्याउँदो रहेछ”, उनी भन्छन्।
जिल्लाकै ज्यामिरगढीका रुवि मेचे (५५) ले पनि पाँच महीनादेखि ॐ साई अस्पतालमै डायालिसिस् गराइरहेका छन्― निःशुल्क होइन, पैसा तिरेर। उपचारमा अहिलेसम्म रु.७ लाख खर्च गरिसकेका रुविको उपचार खर्च पनि चन्दा र सहयोगको भरमा चलिरहेको छ।
मेचीनगर–७ की नेत्रमाया कार्की (२७) को हालत पनि उस्तै छ। ५९ पटक डायालिसिस् गरिसकेकी उनको पनि मिर्गौला खराब भएको थाहा पाएपछिको पछिल्लो आठ महीनामा साढे आठलाख रुपैयाँ खर्च भइसकेको छ। उनी सातामा तीनपटक डायालिसिस् गर्न उनी ॐ साई अस्पताल धाइरहन्छिन् ।
अञ्चल अस्पतालको तयारी
स्वास्थ्य मन्त्रालयले मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा ॐ साईलाई मात्र निःशुल्क डायालिसिस्का लागि सूचीकृत गरेकै कारण अन्य बिरामीले निःशुल्क सेवा पाउन नसकेका हुन्। त्यसो त झापाबाहेकका अन्य जिल्लामा डायालिसिस् गर्ने उपकरण पनि छैन। विर्तासिटी अस्पतालका प्रशासक विनोद बस्नेत अञ्चलभर कम्तीमा ८०० मिर्गौला रोगी रहेको अनुमान गर्छन्। पहाडी जिल्लाहरू ताप्लेजुङ, पाँचथर र इलामका कतिपय बिरामी काठमाडौंमै बसेर डायालिसिस् गराइरहेको बताउँछन्। आफ्नो अस्पतालमा पनि निःशुल्क डायालिसिस् सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयमा 'लविङ' भइरहेको तर मन्त्रालयले बेवास्ता गरेको बताउँदै उनी भन्छन्, “यस क्षेत्रका रोगीप्रति सरकार अनुदार भएको जस्तो देखिन्छ।”
यसबीच भद्रपुरस्थित मेची अञ्चल अस्पतालले भने निःशुल्क डायालिसिस् सेवा शुरू गर्ने तयारी गरिरहेको छ। अस्पताललाई वैशाख अन्तिम साता स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयबाट डायालिसिस् सेवा सञ्चालनको लागि उपकरण खरीद गर्न रु.६६ लाख प्राप्त भएको थियो। उक्त रकमबाट अस्पतालले चारवटा हेमोडायालिसिस् मेशीन खरीद गरिसकेको छ। अस्पतालको भवनका दुईवटा कोठामा डायालिसिस्का चारवटा बेड राख्ने तयारी भइरहेको छ। “मेशीन जडान भइसकेको छ, एक महीनाभित्रमा डायालिसिस् शुरू गर्न सक्छौं” मेची अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. पीताम्बर झा भन्छन्, “दुई वर्षको प्रयासपछि बल्ल सफल हुँदैछौं ।”
महँगो उपचार
मिर्गौलाका बिरामीले सरदर सातामा दुईपटक डायालिसिस् गर्छन्। निःशुल्क डायालिसिस्को सुविधा पाउँदासमेत डायलाजर पाइप, हेमोग्लोविन बढाउने औषधिलगायत बिरामीको प्रति महीना कम्तीमा रु.१६ हजार जति खर्च हुन्छ। पैसा तिरेर डायालिसिस् गर्नेहरूले योभन्दा कम्तीमा तीन गुणा बढी अर्थात् मासिक रु.५० हजारको हाराहारी खर्च गरिरहेका हुन्छन् ।कृत अस्पताललाई रु.२५०० उपलब्ध गराउँछ। तर, सरकारले रोगीलाई दिएको सहयोगले उपचारको सम्पूर्ण खर्च नधानेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डोटेल स्वीकार्छन्। “उपचार एकदमै महँगो छ भन्ने बुझेर व्यक्तिले आफ्नो खान्की, व्यायाम आदिमा ख्याल गर्नुपर्छ”, उनको सुझाव छ ।
खानपानमा सचेत
मधुमेह र रक्तचापलाई मिर्गौला रोगको मुख्य कारण मानिन्छ। माछा–मासु, चिल्लो पदार्थ, असन्तुलित भोजन, पानीमा हुने आर्सेनिक, विषादियुक्त खानेकुरा जस्ताले मिर्गौलामा भार बढाउँछ। यस्ता खानेकुराको अत्यधिक सेवनबाट मिर्गौलामा युरिया र क्रिएटिनेन जमेर बस्छ। यो दर बढ्दा शरीरको विकार छान्ने अंग मिर्गौला संक्रमित हुन्छ। मिर्गौला फेल भयो भनेकै यही हो। कतिपय अवस्थामा चिकित्सकको सल्लाह विना खाइने औषधिले पनि मिर्गौलालाई हानि पुर्याइरहेको हुन्छ।
अर्को कुरा, मिर्गौलामा खराबी देखिएमा कम पानी पिउनुपर्छ। डायालिसिस् गरिरहेका बिरामीले अत्यधिक पानी पिए मिर्गौलालाई भार थपिन्छ।
मिर्गौला रोगबाट बच्न नियमित व्यायाम र खानपिनमा विशेष ख्याल पुर्याउनुपर्छ। वर्षमा कम्तीमा एकपटक मिर्गौला जाँच गराउनुपर्छ।