कांग्रेस– राप्रपा प्रतिष्ठाको लडाइँ
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र पूर्वप्रम लोकेन्द्रबहादुर चन्दको बैतडीमा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सर्दै जाँदा कतिपय जिल्लामा दलहरूका उम्मेदवार, नेता–कार्यकर्ता र मतदाताले निराशा व्यक्त गरे पनि सुदूरपश्चिमको डडेल्धुरा र बैतडीमा चुनावी प्रचारले गति लिएको लियै छ। यसको कारण हो– यो चुनाव प्रधानमन्त्री देउवा र पूर्वप्रम चन्दको प्रतिष्ठासँग जोडिनु। त्यही कारण, कांग्रेस र राप्रपाका नेता–कार्यकर्ता पहिलो चरणको निर्वाचनदेखि नै दोस्रो चरणको चुनावी अभियानमा छन्। उनीहरूसँगै अन्य दलका नेता–कार्यकर्ता पनि दुई महीनादेखि निरन्तर चुनावी अभियानमा छन् ।
डडेल्धुरा र बैतडीमा सबै नगरपालिका र गाउँपालिकाका उम्मेदवार घोषणासहित निर्वाचन अभियान चलाउने चाहिं नेकपा एमाले मात्र छ। कांग्रेस, राप्रपा र नेकपा (माओवादी केन्द्र) ले कतै उम्मेदवारसहित त कतै उम्मेदवार विना नै प्रचारप्रसार गरिरहेका छन्। राप्रपाको बैतडी जिल्ला अध्यक्ष प्रेमबहादुर चन्द उम्मेदवार जो भए पनि हामीमध्येकै हुने हो भनेर भोट माग्न घरदैलोमा पुगिरहेको बताउँछन् ।
राप्रपालाई आश
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा २०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनकै दल राप्रपाले जिल्ला सभापतिसहित अधिकांश गाविसमा जितेको थियो। त्यसबेला राप्रपा–एमाले तालमेल थियो भने यसपटक राप्रपा एक्लै चुनावी अभियानमा छ । “प्रदेश ७ को बैतडीमा सबभन्दा बलियो हामी नै हौं” राप्रपा अध्यक्ष चन्द भन्छन्, “यहाँका १० स्थानीय तहमध्ये चारवटा बहुमतले जित्छौं, अन्यमा कांग्रेस र एमालेसँग प्रतिस्पर्धा हुन्छ।”
पार्टीले प्रतिष्ठाको रूपमा लिएको दशरथचन्द र मेलौली नगरपालिका तथा सिगास र शिवनाथ गाउँपालिकामा बहुमतले जित्ने दाबी उनले गरे। राप्रपाले दशरथचन्द नगरपालिकामा पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख र अम्बिका भण्डारी उपप्रमुख तथा मेलौलीमा सुरेन्द्रबहादुर चन्द प्रमुख र चन्द्रकला साउदलाई उपप्रमुखको उम्मेदवार बनाएको छ। त्यस्तै सिगासमा रामसिंह साउद र राजमती धामी तथा शिवनाथमा मदनसिंह साउद र सुन्दरी महता अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छन्। बैतडीलाई राप्रपाले कति महत्व दिएको छ भने पार्टी महामन्त्री जयन्त चन्द दुई सातादेखि घरदैलो अभियानमा छन्। उनी पूर्वप्रधानमन्त्री चन्दका छोरा हुन्।
राप्रपासँग प्रतिस्पर्धालाई आफ्नो प्रतिष्ठाको विषय मानेको कांग्रेसले उम्मेदवार तय नगरिकनै चुनावी अभियानलाई तीव्र पारेको छ। कांग्रेसको बैतडी जिल्ला सभापति नरेन्द्रबहादुर थापा सबै ठाउँमा धेरै आकांक्षी भएकाले उम्मेदवार पछि तय गर्ने गरी चुनावी अभियान अगाडि बढाएको बताउँछन्।
एमालेका बैतडी जिल्लाका अध्यक्ष सुरेन्द्र पाल २०५४ सालमा आफ्नो पार्टी दोस्रो स्थानमा मात्र आएकोले यस पटक पहिलो हुने गरी प्रचारप्रसार भइरहेको बताउँछन्। उनी भन्छन्, “सबै नगर र गाउँपालिकामा उम्मेदवारसँगै स्थायी समिति सदस्यले सम्बोधन गर्ने गरी आमसभा गर्दैछौं।”
एमालेले दशरथचन्द नगरपालिकामा देवदत्त लेखकलाई प्रमुख र सरस्वती नेपालीलाई उपप्रमुख, पाटनमा नरेश विक प्रमुख र दुरा भट्टराई उपप्रमुख, पुर्चौडीमा कर्णबहादुर कुँवर प्रमुख र जानकी साउद उपप्रमुख तथा मेलौलीमा जगदीश नायकलाई प्रमुख र मानमती भट्टलाई उपप्रमुखको उम्मेदवार बनाएको छ। त्यस्तै, पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द र विना भट्ट, शिवनाथमा भरत मडै र कुस्मा चन्द, सिगासमा जसविर बोहरा र भृकुटी भट्ट, सुर्नयामा नरेन्द्र विष्ट र लीलावती बिष्ट, दोगडा केदारमा चक्र कार्की र पार्वती ठगुन्ना तथा डिलाशैनीमा भुपेन्द्र बोहरा र पार्वती रानालाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको छ।
कांग्रेसको दबदबा
आमनिर्वाचनहरूमा कांग्रेसले जितेको डडेल्धुरामा २०५४ को स्थानीय निर्वाचनमा जिल्ला सभापतिसहित अधिकांश गाविसमा एमाले विजयी भएको थियो। त्यो कारण पनि यसपटक ुजित्नेलाई उम्मेदवार बनाउनेु नीति लिएको कांग्रेसका डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल बताउँछन्।
कांग्रेसले भित्री मधेशमा पर्ने परशुराम नगरपालिकामा भीमबहादुर साउद र कलावती बोहरा तथा आलिताल गाउँपालिकामा बलबहादुर गुरुङ र ज्वाला बोगटीलाई प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएको छ। दुवै नगरमा कांग्रेस सभापतिसमेत रहेका प्रम शेरबहादुर देउवाले उम्मेदवार तोकेर पठाएका हुन्। डडेल्धुराका अधिकांश नगर र गाउँपालिकाका उम्मेदवार टुङ्गो लागेको छैन। जिल्ला नेताहरू सभापति देउवाको जित्नेलाई मात्र टिकट दिने निर्देशनका कारण जिल्ला समितिलाई उम्मेदवार तोक्न अप्ठ्यारो परेको बताउँछन्। उनीहरूका अनुसार, यसबाट चुनाव प्रचारमा भने कुनै फरक परेको छैन। भेटघाट, घरदैलो र सानाठूला आमसभाहरू भइरहेका छन् ।
एमालेले भने महीना दिन अघि नै अमरगढी नगरपालिकामा विश्वेश्वर ओझा र संगीता भण्डारी, परशुराम नगरपालिकामा तारीसिंह बोहरा र दमयन्ती धानुकलाई प्रमुख र उपप्रमुखको उम्मेदवार बनाएर चुनावी कार्यक्रम गरिरहेको छ। सभापति देउवाले भीमबहादुर साउदलाई परशुराम नगरपालिका प्रमुखको उम्मेदवार बनाएपछि रुष्ट बनेका कांग्रेसका नगरसभापति तारीसिंह बोहरा ४ जेठमा एमाले प्रवेश गरेका थिए। एमालेले गन्यापधुरा गाउँपालिकामा वीरेन्द्र मल्ल र कृष्णा ओझा, नवदुर्गामा कविन्द्र बिष्ट र जयन्ती बुढाऐर, अजयमेरुमा धनबहादुर साउद र शारदा बिष्ट, भागेश्वरमा विष्णु ठकुराठी र कमला माली, आलितालमा तुलाराम बोहरा र हरिना बोगटीलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको छ। कांग्रेस मुख्य प्रतिस्पर्धी रहे पनि अधिकांश स्थानीय तहमा आफूहरूले जित्ने एमाले डडेल्धुरा अध्यक्ष डा। तारा जोशीको दाबी छ।
द्वन्द्वकालमा आफ्नो प्रभाव रहेको डडेल्धुराको भित्री मधेश क्षेत्रमा माओवादी केन्द्रले पनि उम्मेदवार घोषणा गरिसकेको छ। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा देउवासँग क्रमशः १,३६८ र ११,४२७ मत अन्तरले हारेका माओवादी केन्द्रका केन्द्रीय सदस्य खगराज भट्ट एक महीनादेखि घरदैलो अभियानमा छन्। माओवादी केन्द्रले परशुराममा शेरसिंह माल, आलितालमा जगत पार्की, भागेश्वरमा ओमप्रकाश साउद र अजयमेरुमा उमेश भट्टलाई प्रमुख तथा अध्यक्षको उम्मेदवार बनाएको छ भने बाँकी टुंगो लगाएको छैन। कांग्रेसको उम्मेदवार घोषणा भएपछि आफ्नो टुंग्याउने उसको योजना देखिन्छ। “हामीभित्र विवाद छैन, तैपनि सबै कुरा हेरेर घोषणा गर्छौं” माओवादी केन्द्रका जिल्ला संयोजक नन्द सार्की भन्छन् ।