सूचनापाटीकै भरमा त्रिवि
सूचनाप्रविधिको युगमा पनि सूचनापाटीको भरमा चल्नुले त्रिभुवन विश्वविद्यालयको ह्रासोन्मुख अवस्था देखाइरहेका छ ।
स्नातकोत्तर तहका विद्यार्थीलाई सञ्चार, पत्रकारिता र प्रविधि पढाउने ठाउँ हो– त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग। २०५८ सालमा स्थापित यो विभागले विद्यार्थीलाई पछिल्लो सूचनाप्रविधिमा 'अपडेट' रहन सिकाउँछ, अनलाइन (न्यूमिडिया) का पाठहरू पढाउँछ। विभाग आफैं भने यस्तो छैन। सूचनाप्रविधि प्रयोग त टाढाको कुरा विभागको वेबसाइट समेत छैन।
मानविकी तथा समाजशास्त्र केन्द्रीय विभागको हालत पनि त्यस्तै छ। २०७३ साउनमा सञ्चालित स्नातक तह पहिलो वर्षको परीक्षाफल आठ महीनापछि २१ चैतमा प्रकाशन हुँदा काठमाडौंमै रहेका विद्यार्थीले समेत अनलाइनमा हेर्न पाएनन्। समाजशास्त्र, व्यवस्थापन, विज्ञान, प्रविधि, आमसञ्चार, आईटीलगायत दर्जनौं विषयको परीक्षा लिएर नतीजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालय (पनिका) को अहिलेसम्म वेबसाइट छैन। “रिजल्ट भएको सुनियो, तर एसएमएस, फोन, इन्टरनेट कतै राखिएको थिएन” परीक्षार्थी अनिता कार्की भन्छिन्, “भोलिपल्ट मात्रै नतिजा थाहा भयो ।”
देशको सबभन्दा जेठो, स्रोतसाधन सम्पन्न र एकताकाको प्रतिष्ठित त्रिवि समयानुकूल चल्न नसक्दा विद्यार्थीले अनावश्यक समस्या बेहोर्नुपरिरहेको छ। विद्यार्थीले सानो प्रशासनिक कामको लागि हप्तौं धाउनुपर्ने बाध्यता त छँदैछ, परीक्षाफल जस्तो संवेदनशील विषयमा समेत मानसिक तनाव खेप्नुपरेको छ। रेसुङ्गा बहुमुखी क्याम्पस, गुल्मीबाट स्नातक तह उत्तीर्ण गरेको ट्रान्सक्रिप्ट निकाल्न काठमाडौं आएका आशिष घिमिरे बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) को प्राङ्गणमा भेटिए। “ब्यांकमा पैसा जम्मा गर्न, फर्म दर्ता, रुजुलगायतको काममा पूरै तीन घन्टा लाग्यो” उनले भने, “ट्रान्सक्रिप्ट तयार हुन अझ् एक हप्ता लाग्छ रे!”
देशभरका विद्यार्थीले सानो कामको लागि ठूलो रकम र धेरै समय खर्चेर केन्द्रीय क्याम्पस कीर्तिपुर र पनिका धाउनुपरेको छ। दुनियाँका विश्वविद्यालयले अनलाइनबाट पढाउन थालिसके। बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेसन (जीसीई) अन्तर्गत नेपालमै ए लेभल कोर्स सञ्चालन गरेका शैक्षिक संस्थाहरूले भिडियो कन्फरेन्समार्फत पढाइरहेका छन्। त्रिविको सम्बन्धनमा संचालित निजी कलेजहरूले पनि एसएमएस र वेबमार्फत विद्यार्थीलाई सेवा दिइरहेका छन्। त्रिविले भने उहिलेको शैली त्याग्न सकिरहेको छैन। बौद्धिक जमातले नेतृत्व गरेको र बौद्धिक जनशक्ति उत्पादन गर्ने संस्था कहिलेसम्म यो तालमा चल्न सक्छ त? समाजशास्त्रका अध्यापक भीम सिग्देल भन्छन्, “नयाँ सोच भएको नेतृत्व नपाएसम्म त्रिवि यसरी नै चलिरहन्छ।”
नेपालीको घरघरमा कम्प्युटर र हातहातमा मोबाइल भइसक्दा पनि त्रिविले नवीन सोचका साथ नयाँ ढंगले काम गर्ने जाँगरिला पदाधिकारी पाउन सकेको छैन। राजनीतिक भागबण्डामा आएका अहिलेका उपकुलपति त झन बौद्धिक चोरीमा समेत मुछिएका छन्। यस्तो हालतको विश्वविद्यालयले विद्यार्थीलाई कसरी कर्मठ र समयानुकूल बनाउन सक्ला त? परीक्षा नियन्त्रक केशवराज बाँस्तोलाले यो प्रश्नमा झ्नै निराशाजनक उत्तर दिए, त्रिविको पाठ्यक्रम समयानुकूल भएकाले इन्टरनेटबाट सूचना सम्प्रेषण नहुँदैमा केही फरक नपर्ने भन्दै। उनी भन्छन्, “पाठ्यक्रम गतिलो भए, विद्यार्थीलाई जानकारी त जुन माध्यमबाट दिए पनि भयो।”
परम्परामा मग्न
त्रिविको सूचना सम्प्रेषण अहिले पनि आफ्नै सूचनापाटी र गोरखापत्र दैनिकमा सीमित छ। परीक्षा तालिका, केन्द्रलगायतका सूचना गोरखापत्र मा प्रकाशित भए पनि परीक्षाफल हेर्न विद्यार्थीले त्रिविको सूचनापाटीमै भर पर्नु परिरहेको छ। एसएमएस ४९४९ मार्फत प्राप्तांकसहित परीक्षाफल हेर्ने व्यवस्था छ, निजी क्षेत्रबाट। त्रिवि आफैंले आधिकारिक एसएमएस संचालन नगरी परीक्षाफल जस्तो संवेदनशील जिम्मेवारी किन निजी क्षेत्रलाई दिएको? “हाम्रो सूचनापाटी र गोरखापत्र मा परीक्षाफल प्रकाशित भएपछि मात्र ४९४९ बाट त्यो सूचना सम्प्रेषण हुने हो” परीक्षा नियन्त्रक बाँस्तोला भन्छन्, “त्यसमा गडबड भए त्रिवि जिम्मेवार हुँदैन।”
त्रिविलाई अनलाइन सेवाको आवश्यकताबोध भने भइसकेको बताउँछन्, बाँस्तोला। त्यसो भए कहिलेसम्ममा अनलाइनको उपयोग होला त? यो जिज्ञासाको जवाफ भने उनीसँग छैन। त्रिविको नेतृत्व र विभागीय प्रमुखहरू नै प्रविधिप्रति जागरुक नहुँदा विश्वविद्यालय समयानुकूल हुन नसकेको यो अवस्थाले देखाउँछ। त्रिविले सूचनाप्रविधि नअपनाउँदा विद्यार्थीले घण्टौं लाइनमा बसेर हस्तलिखित फारम बुझाउनुपर्ने बाध्यता छ। यसबाट धन र समयको अनावश्यक व्यय त भइरहेको छ नै, लेखाइमा हुने मानवीय त्रुटिले त्रिविको विश्वसनीयतामा समेत ह्रास पुर्याइरहेको छ।