अरू विरुद्ध मोर्चाबन्दी आफ्नै छैन तयारी
दीपक ज्ञवाली
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न एक साता बाँकी रहँदा दलहरू केवल अरु विरुद्धको मोर्चाबन्दीमा सीमित छन् ।
बुटवल उपमहानगरपालिका–१० मा नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीको संयुक्त निर्वाचन कार्यालय खुलेको छ। दुई दलको झ्ण्डासँगै रहेको साइनबोर्डमा लेखिएको छ– 'नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टी स्थानीय तह निर्वाचन सम्पर्क कार्यालय।' (हे.तस्वीर) यो साइनबोर्डले 'एमालेको किल्ला' बुटवलमा अरू दलले बलियो मोर्चाबन्दी शुरू गरेको पनि देखाउँछ।
दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई तेस्रो स्थानमा पुर्याएको यो क्षेत्रमा नेकपा एमाले पनि आफ्नो
पकड कायम राख्न मोर्चाबन्दीकै कसरतमा छ। भन्नलाई बुटवलमा 'एमाले एक्लै काफी' भन्ने यसका नेताहरू स–साना दलहरूलाई साथ लिने प्रयासमा छन्। संविधानसभा निर्वाचनमा हारेको भैरहवालगायतका क्षेत्रमा अरू दलका 'जित्न सक्नेलाई' छाडेर रूपन्देहीमा आफू नम्बर एक हुने एमालेको रणनीति छ। माओवादी केन्द्रले पनि कांग्रेस र जनमुक्ति पार्टीसँग मोर्चाबन्दीको पहल गरिरहेको जिल्ला संयोजक रामप्रसाद बञ्जाडे बताउँछन्।
पछिल्ला दिनमा निर्वाचनप्रति उत्साही बनेका मधेशकेन्द्रित दलहरू पनि तराई–मधेशमा सबैलाई रोक्ने दाउमा छन्। त्यसनिम्ति उनीहरूका सामु एकमात्र उपाय छ– आपसी एकता। त्यसकारण, मधेशका परिवर्तनकारी शक्तिबीच मोर्चाबन्दीको लागि छलफल भइरहेको संघीय समाजवादी फोरमका रूपन्देही अध्यक्ष महेन्द्र यादव बताउँछन्। अरूलाई रोक्न मोर्चाबन्दीमा लागेका कांग्रेसदेखि संघीय समाजवादीसम्मका दलहरूको आफ्नै आन्तरिक तयारी भने शून्यप्रायः छ। उनीहरूमध्ये कसैले पनि बुटवलमा उम्मेदवार तोक्न सकेका छैनन्। प्रदेश–५ विभाजन विरोधी आन्दोलनको केन्द्र बनेको बुटवललाई सबैले प्रतिष्ठाको विषय भने बनाएका छन्।
चुनावी प्रचारका लागि संयुक्त कार्यालय खोलिसकेको कांग्रेसले उम्मेदवार सिफारिश समेत गरेको छैन। संसद् बैठक छाडेर निर्वाचन तयारीका लागि जिल्ला आएका रूपन्देही कांग्रेसका सभापति समेत रहेका सांसद् अब्दुल रज्जाक अधिकांश तहका एउटै पदमा २० जनासम्म आकांक्षी भएकाले समय लागेको बताउँछन्। माओवादी केन्द्रले भने बुटवल नगरपालिकामा मात्र उम्मेदवार टुंगो लाग्न बाँकी रहेको बताएको छ। अरू दलका उम्मेदवार र तालमेल हेरिरहेको उसको भनाइ छ। एमालेले भने जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई प्रमुख र गोमा आचार्यलाई उपप्रमुखको उम्मेदवार बनाएको छ।
सरकारले अन्यत्रजस्तै रूपन्देहीमा थपेका पाँचवटा स्थानीय तहले दलहरूको आन्तरिक संरचना र निर्वाचन तयारीमा गञ्जागोल पारेको छ। उनीहरू ती निकायमा पार्टी संरचना निर्माणमा लागेका छन्। माओवादी केन्द्रका रूपन्देही संयोजक बञ्जाडे तह थपिएपछि पहिला हतारहतार पार्टी संरचना बनाउनु परेकोले निर्वाचनको तयारीमा गञ्जागोल भएको बताउँछन्। हुन पनि, तह थपिनुअघि दलहरू चुनावी बैठक, प्रचारप्रसार, सभालगायतका कार्यक्रममा व्यस्त थिए।
पहिलो चरणको नतीजा आइसक्न लाग्दा दलहरू आन्तरिक गञ्जागोल र अलमलका बीच तराई–मधेशका प्रदेशहरूमा वर्चश्व बढाउने रणनीतिमा लागेका छन्। तिनमा पनि खास गरेर कांग्रेस र मधेशकेन्द्रित दलका नेताहरू अबको नतीजा आफ्नो पक्षमा हुने दाबी गरिरहेका छन्। तराईमा एमाले अलोकप्रिय रहेको उनीहरूको बुझाइ छ। तर, एमाले सचिव प्रदीप ज्ञवाली मेची–महाकाली अभियान, तराईकेन्द्रित विकास बजेट, बलियो संगठन जस्ता कारणले मधेशमा पनि आफ्नो पार्टीले बाजी मार्ने बताउँछन्। दोस्रो चरणमा निर्वाचन हुने ४१ मध्ये २१ जिल्ला तराई–मधेशमा छन्।