हरिबहादुरसँग हरिवंशको यात्रा
कलाकार हरिवंश आचार्यको परिचय अब कलाकारको रुपमा मात्रै छैन । उनी लेखकको रुपमा पनि चिनिएका छन् ।
चार वर्ष अघि बजारमा आएको आत्मकथा चिना हराएको मान्छे मार्फत किताबी लेखन शुरु गरेका हरिवंशले भर्खरै 'हरिबहादुर' नामक उपन्यास सार्वजनिक गरेका छन् । यही उपन्यास हरिबहादुरलाई लिएर लेखक हरिवंश आचार्य यतिबेला देशदौडाहमा निस्किएका छन् ।
आज पोखराबाट शुरु भएको हरिबहादुरको यात्रा बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी, नारायणगढ, बिर्तामोड, धरान, विराटनगरहुँदै २५ जेठमा सिन्धुली पुगेर समापन हुनेछ ।
प्रकाशन संस्था फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत निरज भारीका अनुसार पठन संस्कृतिलाई विस्तार गर्न र साहित्यको क्षेत्रलाई थप फराकिलो बनाउन किताब यात्राको आयोजना गरिएको हो । यात्राको क्रममा पुस्तक हस्ताक्षर, अन्तरक्रियालगायतका कार्यक्रम रहेको भारीले बताए ।
१५ जनाको टोलीसहितको हरिबहादुर यात्रालाई विभिन्न कर्पोरेट हाउसहरुले प्रयोजनसमेत गरेका छन् । जसले नेपाली साहित्यिको व्यवसायिक बजार आरम्भ भएको संकेत दिएको छ ।
समाजका खलपात्रलाई हरिबहादुरमा समेटिएको लेखक हरिवंश आचार्य बताउँछन् । “नराम्रो कर्मले फल पनि नराम्रो नै पाइन्छ, भन्ने सन्देश उपन्यासले बोकेको छ,” उनले भने ।
समाजको सकारात्मक पाटो त सबैले उठाएका छन् तर आफूले नकारात्मक पाटोलाई उजागार गर्ने हिम्मत गरेको हरिवंशको बुझाई छ ।