देउवाको क्षेत्रमा दलहरुको प्रचार तीव्र
३१ जेठमा हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सबै दलले चुनावी अभियान तिव्र पारेका छन् ।
कांग्रेसले अन्य नगरपालिका र गाउँपालिकामा उमेदवार घोषणा नगरे पनि परशुराम नगरपालिकामा भने सभापति देउवाले भीमबहादुर साउदलाई एक महीना अघि नै उम्मेदवार बनाएर पठाएपछि अन्य दल पनि यो क्षेत्रमा आकर्षित भएका हुन् ।
दोस्रो चरणमा निर्वाचन हुने भए पनि डडेल्धुराको भित्री मधेश क्षेत्रको परशुराम नगरपालिकामा भने एक महीना अघिदेखि नै सबै दलको प्रचार प्रसार जारी छ ।
डडेल्धुराका दुई नगरपालिका र पाँच गाउँपालिका मध्ये सबै भन्दा बढी १७ हजार ५०९ मतदाता रहेको यस नगरपालिकाले सबैलाई प्रभावित गर्ने भएकोले दलहरु जोडबल लगाइरहेका छन् ।
डडेल्धुरामा दर्ता भएका १३ दल मध्ये नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र राप्रपाले परशुराममा दैनिकजसो सभाहरु गर्दै आइरहेका छन् ।
उनीहरुका चुनावी कार्यक्रम सँगसँगै भइरहेका छन् । कतिपय ठाउँमा त वडा सम्पर्क कार्यालयहरु समेत सँगसँगै राखिएका छन् ।
परशुराम नगरपालिका–७ साँदनीमा काँग्रेस र माओवादी केन्द्रको वडा कार्यालय वल्लोपल्लो घरमा छ भने त्यसमाथि एमालेले प्रचारका लागि झण्डा र सूर्य टङ्गाएको छ ।
कांग्रेसबाट मेयरका उम्मेदवार भीमबहादुर साउद र उपमेयरका उम्मेदवार कलावती बोहरा दैनिक घरदैलो, भेटघाटमा छन् ।
एमालेले तारीसिंह बोहरालाई मेयर र दयमन्ती धामीलाई उपमेयरको उमेदवार बनाएको छ ।
एमालेले यससँगै अमरगढी नगरपालिकामा मेयरमा विश्वेश्वर ओझा र उपमेयरमा संगीता भण्डारी, गन्यापधुरा गाउँपालिकामा अध्यक्षमा वीरेन्द्र मल्ल र उपाध्यक्षमा कृष्णा ओझा, नवदुर्गामा अध्यक्ष कविन्द्र बिष्ट र उपाध्यक्षमा जयन्ती बुढाऐर, अजयमेरुमा अध्यक्षमा धनबहादुर साउद र उपाध्यक्षमा शारदा विक, भागेश्वरमा अध्यक्ष बिष्णु ठकुराठी र उपाध्यक्ष कमला माली, आलितालमा अध्यक्ष तुलाराम बोहरा र उपाध्यक्ष हरिना बोगटीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै माओवादी केन्द्रले अन्य नगरपालिका र गाउँपाकिलामा उम्मेदवार घोषणा नगरेपनि परशुराम नगरपालिकामा शेरसिंह माललाई मेयर र विमला महतालाई उपमेयरको उमेदवार बनाएको छ ।
तीनै दलबाट मेयरका उमेदवार बनेका साउद, बोहरा र माल सँगसँगै काम गर्दै आएका निर्माण व्यवसायी पनि हुन ।
कांग्रेस नगर सभापति रहेका बोहरा दुई साता अघि मात्रै एमालेमा प्रवेश गरेका थिए । ३१ वैशाखमा निर्वाचन गरिएको भए माओवादी केन्द्रका उम्मेदवार माल जित्ने पक्कापक्की जस्तै थियो ।
गत फागुन १० मा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई यो नगरपालिकामा घुमाएर माओवादीले चुनावी प्रचार गरेको थियो ।
तर देउवाले नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेका साउदलाई उमेदवार बनाएर पठाएपछि अवस्था बदलिएको छ ।
साउदकै मातहतमा रहेर बोहरा र मालले यस क्षेत्रमा काठको कारोबार गर्दै आएका थिए ।
“म सजिलै जित्छु, गाउँ बाहिर छदा पनि सेवा गर्थे, अहिले यहिँ बसेर सेवा गर्न आएको छु” कांग्रेस उम्मेदवार साउद भन्छन् ।
एमाले उम्मेदवार बोहरा पनि आफू जित्ने दाबी गर्दै भन्छन, “यो एमालेको किल्ला हो, मेरा समर्थक पनि थपिएका छन् ।”
माओवादी केन्द्रका उम्मेदवार मालको दाबी पनि कम छैन । उनी भन्छन, “भीम साउद आउँदैमा केही फरक पर्दैन, हाम्रो जित सुनिश्चित छ ।”
देउवाले साउदलाई उमेदवार बनाएर पठाएपछि कांग्रेस बलियो मानिएको यस क्षेत्रमा तीन दलको प्रतिस्पर्धा रहेको छ ।
जुन दलले परशुराम नगरपालिकामा जित्न सक्यो, उसैले एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुराको संसदीय तथा प्रादेशिक निर्वाचन प्रभावित गर्न सक्छ ।