मुस्लिमः जहिल्यैका मतदाता
उल्लेख्य संख्यामा रहे पनि जहिल्यै मतदातामा सीमित नेपालगञ्जका मुस्लिम समुदाय यसपटक उम्मेदवारमा दाबी गरिरहेका छन् ।
बच्चु विक/केशव राना, नेपालगञ्ज
स्थानीय निर्वाचनका लागि बाँकेको जानकी गाउँपालिका–३ मा नेकपा (माओवादी केन्द्र) को गाउँ तहबाट वडा अध्यक्षमा सिफारिश गरिएका जगतराम कुर्मी (३२) प्रचारमा जाने/नजाने दोधारमा छन् । “त्यहाँ त सबै हाम्रै छन् र सिफारिश गरे, अब जिल्लाबाट टिकट दिन्छन् कि दिंदैनन्, पत्तो छैन” मुस्लिम युवतीसँग विहेवारी गरेका कुर्मी भन्छन् ।
कुर्मीको वडामा चार हजार मतदाता छन् । जसमध्ये मुस्लिम समुदायका १७ सय छन् । यो संख्यामा थप एक हजारजति पार्टीको मत जोडेर निर्वाचनमा सहजै जित्ने उनको अनुमान छन् । “जित पक्का छ, तर टिकट पो छैन” उनी गुनासो गर्छन् ।
गाउँमा मात्रै होइन, शहरका मुस्लिम समुदायका उम्मेदवारका आकांक्षी पनि दोधारमा छन् । नेपालगञ्ज उपमहानगरपालिका–८ मा नेकपा (एमाले) बाट वडा अध्यक्षमा वडा र नगर समितिबाट सिफारिशमा परेकी तलक परविन खान (३४) पार्टीको जिल्ला कमिटीकै मुख ताकेर बसेकी छन् ।
“मुस्लिम समुदाय बाहुल्य क्षेत्रमा त्यही समुदायकै उम्मेदवार उठाउनुपर्छ भन्ने बुद्धि आए त हो, नत्र अरूलाई दिन के बेर !” राजनीतिशास्त्रमा स्नातकोत्तर खान भन्छिन् ।
मेयर, उपमेयरमा पनि उस्तै
नेपाली कांग्रेसबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि सिफारिश भएका निजामुद्दिन सिद्दिकी (५८) को चिन्ता पनि उस्तै छ ।
कांग्रेसको वडा, नगर, क्षेत्रीय र जिल्ला कार्य समितिबाट सिफारिश गरिए पनि उनी विश्वस्त हुन सकिरहेका छैनन् । “सही मूल्यांकन हुने हो भने टिकट पाउने म नै हुँ”, उनको दाबी छ ।
कांग्रेसले क्षेत्रीय समितिबाट सिद्दिकीसहित मेयरमा डा.सुरेशकुमार कनौडिया, सुरेन्द्र हमाल, अच्युत प्रसाई, लक्ष्मीनारायण शाह, सुदीपनरसिंह राणा, राजु शाक्य, आशासिंह राठौर, प्रशान्त बिष्ट, मोहम्मद कादिर जोलाई, निरञ्जनसिंह सिजापति र रमेशकुमार गुप्ताको नाम सिफारिश भएको छ ।
“एक त अरूजस्तै योग्य र अर्को मुस्लिम समुदायको भएका कारण पनि मेरो हकदाबी अरूको भन्दा बढी लाग्छ”, उनी भन्छन् ।
फूटबल र हकीका चर्चित खेलाडी सिद्दिकी २०४९ र २०५४ मा स्थानीय निर्वाचनमा नेपालगञ्ज नगरपालिका–११ का वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
अहिले कांग्रेस जिल्ला कार्यसमितिको कोषाध्यक्ष रहेका उनी जातीयता, क्षेत्रीयता, सामुदायिकतामा विश्वास नभए पनि राज्य सञ्चालनमा सबैको सहभागिता हुनुपर्नेमा जोड दिन्छन् ।
एमालेबाट मेयरका १२ दावेदारमध्ये समसुद्दिन सिद्दिकी (५२) पनि एक हुन् । भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी सिद्दिकी २०५१ देखि राजनीतिमा सक्रिय छन् ।
तीन कार्यकाल एमाले बाँकेको जिल्ला सचिवालय सदस्य रहेका उनी अहिले जिल्ला सल्लाहकार समितिमा छन् । “समावेशी लोकतान्त्रिक व्यवस्थाको विशेषता नै सबैको प्रतिनिधित्व हो ।
विश्वास छ, एमाले त्योबाट पर जाँदैन र मलाई नै उम्मेदवार तोक्नेछ” उनी भन्छन्, “मुस्लिम समुदायको प्रतिनिधित्व भएन भने त्यो दुर्भाग्य हुनेछ ।”
कांग्रेस र एमालेसँगै माओवादी केन्द्रबाट पनि नेपालगञ्जमा मेयरमा मुस्लिम समुदायको दाबी छ । माओवादी केन्द्रका नेपालगञ्ज नगर कमिटीका इन्चार्ज अत्तहर हुसेन फारुकी (४३) मेयरमा उम्मेदवारीका लागि जिल्लाबाट सिफारिशमा पनि परेका छन् । तर, उनी ढुक्क छैनन् ।
“आशा पालेर बसेको छु”, पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहेका उनी भन्छन् ।
राजनीतिमा लाग्नुअघि शिक्षण पेशामा संलग्न फारुकी पनि समावेशी लोकतन्त्रका लागि लामो समयदेखि लडिरहेका कारण पार्टीबाट आफूले टिकट पाउनुपर्ने तर्क गर्छन् । “पार्टीको सिद्धान्तका कारण पनि मैले टिकट पाउने आशा बढेको हो”, उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने महामन्त्री धवलशमशेर जबरा मेयरको उम्मेदवार बन्ने पक्कापक्की छ । नगर समिति र जिल्ला समितिले मेयरका लागि जबरा र उपमेयरका लागि रमारानी वैश्यको नाम मात्रै सिफारिश गरेको छ ।
“मेयर र उपमेयरमा मुस्लिम समुदायलाई समेट्न सकिएन, अब वडा अध्यक्षमा समेट्ने प्रयास गर्दैछौं” मेयरका उम्मेदवार जबरा भन्छन् । जबरा २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेको तर्फबाट नेपालगञ्ज नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
उपमेयरमा कांग्रेसबाट फैपाज अली अन्सारी, एमालेबाट रेश्मा दर्जी, माओवादी केन्द्रबाट कलामुन अन्सारी र शवनम अन्सारी सिफारिशमा परेका छन् । तर, टिकट पाउने ग्यारेन्टी भने कसैको छैन ।
थिति बसाउने बेला
उम्मेदवारका प्रत्यासी मात्र होइन स्थानीय मुस्लिम अगुवा र मतदाता पनि सबै दलले उम्मेदवार तय गर्दा मुस्लिम समुदायका नेतालाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् ।
यसमा उनीहरूको दुई वटा तर्क रहने गरेको छ, एउटा स्थानीय सरकारमा मुस्लिम समुदायको सहभागिता र अर्को उपमहानगरमा मुस्लिम जनसंख्या उल्लेख्य हुनु ।
“सधैं अर्कैैबाट शासित हुनुपर्छ भन्ने छैन । राज्य सञ्चालनमा सबैको प्रतिनिधित्व हुनुपर्छ”, मुस्लिम अगुवा मोहम्मद हारुन भन्छन् ।
२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ११ लाख ६४ हजार २५५ अर्थात् ४.४ प्रतिशत मुस्लिम बसोबास गर्छन् । त्यसमध्ये ९६ प्रतिशत भन्दा बढी मुस्लिम तराई–मधेशमै बसोबास गर्छन् ।
नेपालगञ्ज उपमहानगरपालिकामा ६३ हजार ५०० मतदातामा झ्ण्डै ४० प्रतिशत मुस्लिम छन् । राष्ट्रिय मुस्लिम आयोगका अनुसार मुस्लिम समुदायका एक प्रतिशत मात्रै सरकारी सेवामा कार्यरत छन् ।
मुस्लिम समुदायका करीब १२ प्रतिशत बालबालिका मात्रै स्कूल पूरा गर्छन् । “४० प्रतिशत मतदाता भएको समुदायले जहिल्यै मतदान मात्रै गरिराख्नुपर्ने, जनप्रतिनिधि हुन नपाउने ?” अगुवा हारुन प्रश्न गर्छन् ।
जामा मस्जिद, नेपालगञ्जका अध्यक्ष रसिद अहमद सिद्दिकी ठूला दलहरूले मुस्लिम समुदायका उम्मेदवार बनाएर सकारात्मक सन्देश दिने बेला आएको बताउँछन् ।
“पछाडि परेको समुदायलाई हात दिएर माथि ल्याउने बेला यही हो”, उनी भन्छन् । हरेक दलमा वर्षौंदेखि काम गरेका मुस्लिम समुदायका योग्य व्यक्ति रहेको बताउँदै सिद्दिकी उम्मेदवार हुने बित्तिकै समुदायको मनोबल र राज्यप्रतिको अपनत्व एकसाथ बढ्ने दाबी गर्छन् ।
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जका सह–प्राध्यापक अशोक बस्नेत पनि दलहरूले मुस्लिम समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन उम्मेदवारी महŒवपूर्ण कदम हुने बताउँछन् ।
“यसो गरे समुदाय चलायमान हुन्छ, राजनीतिप्रति चासो बढ्छ” उनी भन्छन्, “त्यसैले पनि सबै दलले मेयर वा उपमेयरमा मुस्लिम उम्मेदवार बनाई सकारात्मक सन्देश दिनुपर्छ ।”