दुई समुदायबीच मन माझ्ने अवसर
टीकापुर घटनापछि थारू–पहाडी समुदायबीच बढेको दूरी स्थानीय तह निर्वाचनका क्रममा शुरू भएका घरदैलो, भेटघाट र र्यालीहरूले कम गर्दैछन्।
- बच्चु विक र केशव राना, टीकापुर
१८ महीने टेकबहादुर साउद तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्र्मी मारिएको ७ भदौ, २०७२ को टीकापुर घटनाको ६ महीनापछिसम्म रूपमती चौधरी टीकापुर बजारमा तरकारी बिक्री गर्न गइनन्। गत चैतसम्म पनि पहाडी समुदायको आँगनमा जान अप्ठेरो मान्ने उनी बाटोबाटै तरकारी बेच्थिन्।
टीकापुर नगरपालिका–१ र ३ को साँधमा पर्ने हाटबजार चौराहामा भएको प्रहरी–प्रदर्शनकारीबीचको हिंसात्मक झ्डपको भोलिपल्ट ८ भदौमा पहाडी समुदायका व्यक्तिहरूले थारू समुदायका घर, पसल र होटलमा तोडफोड तथा आगजनी गरे। रूपमती जस्ता थुप्रै थारू पहाडी समुदायबाट त्रसित बने। दुई समुदायबीच दूरी बढ्यो।
यो वैशाखदेखि भने टीकापुरको माहोल अलि फेरिएको छ। स्थानीय तह निर्वाचनका लागि भोट माग्न विभिन्न दलका पहाडी, मधेशी तथा थारू समुदायका उम्मेदवार, कार्यकर्ता घर–घर पुग्न थालेका छन्। निर्वाचनले रूपमतीमा पहाडी समुदायको आँगनमै पुगेर तरकारी बेच्ने बल दियो। “भोट माग्ने कामले गर्दा घरघरमा आउजाउ बाक्लियो। कसैले के भन्ला, गर्ला भन्ने चिन्ता पनि हरायो”, उनी भन्छिन्।
मतदातामा उत्साह
३१ जेठको दोस्रो चरणको निर्वाचन जति नजिकिंदैछ, टीकापुरका मतदाताको अनुहारमा उति नै चमक बढिरहेको छ। निर्वाचनलाई स्थानीयले दुई वर्षअघिको घाउ निको पार्ने अवसरका रूपमा लिएका छन्।
दुई वर्षपछि चुनाव प्रचारका लागि छिमेकी थारू समुदायको आँगन टेकेका टीकापुर–१ हाटबजार चौराहाका नरपति रावल भन्छन्, “थारूका उम्मेदवार पहाडेकोमा र पहाडेका उम्मेदवार थारूका घरमा जाँदैछन्।”
२० वर्षअघि टीकापुर र्झ्नुअघि ७४ वर्षीय रावल २०४९ सालको स्थानीय निर्वाचनमा अछामका निर्वाचित वडा सदस्य थिए। चुनावको बेला कुटपिट, हुलहुज्जत देखे/भोगेका उनी यतिबेलाको टीकापुरको चुनावी रौनक देखेर छक्क परेका छन्। “यहाँ त चुनावले मेलमिलाप गराइरहेको छ” रावल भन्छन्, “चुनावपछि थारू–पहाडीका मनको तूष पखालिनेछ।”
टीकापुर घटना हुँदा डडेल्धुरामा काम गरिरहेका स्थानीय रामरोशन चौधरी घर फर्किने तयारीमा थिए। तर, पत्नी गीताले 'राति घरघरमा आएर प्रहरीले मान्छे पक्रँदैछ, नआऊ' भनेपछि उनी रोकिए र बाजुरातिर लागे। “थारू–पहाडी खुलेर बोल्दैनथे, चुनाव प्रचार शुरू भएसँगै बोलचाल, उठबस बढेको छ”, उनी भन्छन्।
टीकापुर बहुमुखी क्याम्पसका सह–प्राध्यापक नाथुराम चौधरी पनि निर्वाचनको तयारीसँगै नगरको वातावरण सहज बन्दै गएको बताउँछन्। “उम्मेदवार घरदैलोमा जान थालेपछि आत्मीयता बढेको छ”, उनी भन्छन्।
उम्मेदवारमा उमङ्ग
टीकापुर घटनापछि टीकापुर नगरपालिका–१ की सीतादेवी चौधरी सार्वजनिक कार्यक्रममा जानै छाडेकी थिइन्। तर, निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्य उम्मेदवारको टिकट पाएपछि घरदैलो र चुनावी सभाहरूमा सहभागी हुन थालेकी छिन्। उनी भन्छिन्, “पहिलेको जस्तो छैन, सबैले सघाइरहेका छन्”, उनी भन्छिन्।
टीकापुर–३ बाट नयाँ शक्ति पार्टीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका लछुमन विश्वकर्मा दुई सातादेखि घरदैलो अभियानमा छन्। हाटबजार चौराहा नजिकै घर भएका उनलाई परिवारजनले डरका कारण उम्मेदवार नबन्न दबाब दिएका थिए। उनी भन्छन्, “सबैको घरघरमा जाँदैछु, नराम्रो कसैले भनेका छैनन्।”
टीकापुर–३ बाट वडा अध्यक्षमा नेपाली कांग्रेसबाट अमर चौधरी, एमालेबाट रामबहादुर विश्वकर्मा, नेकपा (माओवादी केन्द्र) बाट पतिराम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट रामसेवक चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पतिराम चौधरी उम्मेदवार बनेका छन्।
सबै घरदैलो अभियानमा जुटेका छन्। प्रचारका क्रममा कहिलेकाहीं जम्काभेट हुने गरेको बताउँदै विश्वकर्मा भन्छन्, “हँसिमजाक गर्छौं। टीकापुर घटनाको भयले पनि होला, कसैले कसैको नराम्रो भनेका छैनन्।”
नगरमा एमालेबाट मेयरमा तपेन्द्र यादव र उपमेयरमा कमला जोशी उम्मेदवार बनेका छन्। र, सँगसँगै घर–घर पुगिरहेका छन्। माओवादी केन्द्रका ललित थापा (शिव) पनि वडा अध्यक्षका उम्मेदवारसँगै घरदैलोमा छन्।
माओवादी केन्द्रबाट वडा नं.२ देखि ९ मा क्रमशः विसन चौधरी, पतिराम चौधरी, कालुराम डगौरा, विजया सार्की, केदारनाथ चौधरी, रामलाल चौधरी, दीर्घ ठकुल्ला र लौटन चौधरीलाई उम्मेदवार बनाएको छ।
माओवादी केन्द्रका टीकापुर नगर अध्यक्ष खड्क शाही चुनावले मनमुटाव हटाउन सहयोग पुगोस् भनेरै धेरै वडाहरूमा थारू समुदायका उम्मेदवारलाई प्राथमिकता दिइएको तर्क गर्छन्।
नगरमा कांग्रेसले मेयर, उपमेयर र वडा अध्यक्षको उम्मेदवार घोषणा गरिसकेको छैन तर प्रचार भने शुरू गरिसकेको छ। मेयरको उम्मेदवार सिफारिशमा परेकी केशरी बिष्ट वडा सदस्य उम्मेदवारसँग घरदैलोमा व्यस्त छिन्। टीकापुर घटनापछि चाहेर पनि अर्को समुदायको घरमा पुग्न गाह्रो पारेको बताउँदै बिष्ट भन्छिन्, “चुनावले त्यो अवसर दिएको छ। अलिकति रहेको तूष पनि मेटिन्छ।”
टीकापुर नगरपालिकाका ९ वडामा २९ हजार १९२ मतदाता छन्। त्यसमा ५० प्रतिशतभन्दा बढी थारू समुदायका छन्। मेयर र उपमेयर उम्मेदवार छनोटमा भने थारू समुदायको नाम सुनिएको छैन। कांग्रेसका नगर सभापति धनराज उपाध्याय त्यही समीकरण मिलाउनकै लागि उम्मेदवार चयनमा ढिलाइ भइरहेको तर्क गर्छन्। नेपाल लोकतान्त्रिक पार्टीले लौटन चौधरीलाई मेयरको उम्मेदवार बनाउने तयारी गरिरहेको बुझिन्छ।
ठूला दलले थारू समुदायबाट मेयर वा उपमेयरमा उम्मेदवार नबनाएर उनीहरूलाई भित्री रूपमा खुशी पार्ने मौका गुमाएको सहप्राध्यापक नाथुराम चौधरी बताउँछन्। मनमा गडेका यस्ता कुरा दलहरूले बुझन सक्नुपर्ने बताउँदै उनी भन्छन्, “सबै दलले त्यसो गर्थे भने माहोल झ्नै सौहार्द हुन्थ्यो।”
क्षतिपूर्ति र मुद्दा फिर्ताले सजिलो
टीकापुर घटनापछि क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण भइसकेको छ। पक्राउ गर्ने डरले विस्थापित सर्वसाधारण पनि घर फर्किएर पहिलेकै अवस्थामा कामकाज गर्न थालिसकेका छन्।
तर, घटनाको मुख्य योजनाकार ठानिएका रेशम चौधरी भने फरार छन्। उनको स्वामित्वको फूलबारी एफएम जलेकै अवस्थामा छ भने फूलबारी रिसोर्टको गेटमा ताला लागेकै छ।
सरकारले ४ जेठमा थरूहट र तराई आन्दोलनका सम्पूर्ण मुद्दा फिर्ता लिने निर्णय गरेको छ। टीकापुर घटनामा थारू र पहाडी समुदायका १०१ जना विरुद्ध मुद्दा परेको थियो, जसमध्ये २२ जना थुनामा छन्।
यसअघि ३० वैशाखमा सरकारले टीकापुर घटना पीडितलाई कुल रु.१५ करोड क्षतिपूर्ति दिने घोषणा पनि गरेको थियो। चुनावको मुखमा गरिएका यस्ता निर्णयले पीडितमा सकारात्मक सन्देश दिएको छ।
“पहिल्यै क्षतिपूर्ति दिनुपर्थ्यो, ढिला भयो। तैपनि राम्रो निर्णय भयो” स्थानीय बुद्धिजीवी भीमबहादुर कुमाल भन्छन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं स्थानीयवासी दानबहादुर विक क्षतिपूर्ति र मुद्दा फिर्ता लिने निर्णयले भोट माग्न जान सजिलो भएको बताउँछन्।