दीक्षा दृष्टान्त
एउटा कुरा भने निश्चित थियो, दुई वर्षअघि एमटीभी आयोजित 'पेप्सी भोइस् अफ नेपाल' को उपाधि नजितेकी भए पनि दीक्षा थापा गाउन छाड्ने थिइनन्। उनी स्वयंलाई पनि लाग्छ– म त गाउनै जन्मिएकी हुँ।
नहोस् पनि किन? संगीतकार विजयकुमार थापाकी छोरी दीक्षाको घरमा उनले थाहा पाएदेखि नै सांगीतिक माहोल थियो। “शायद बुबाको प्रभाव ममाथि पर्यो” प्रेसिडेन्सियल बिजनेस स्कूलबाट स्नातक गरिरहेकी दीक्षा भन्छिन्।
चार वर्षअघि उनले पहिलोपटक यूट्यूबमा जासन एम. राजको अंग्रेजी गीत 'आई एम योर्स' को 'कभर भर्सन' (अरूको गीत आफ्नो स्वरमा पुनः रेकर्ड गराउनु) अपलोड गरिन्। यूट्यूब सुनेर धेरैले उनको प्रतिभाको तारिफ गरे। हौसला दिए। “त्यसपछि बल्ल म पनि गाउन सक्छु भन्ने आत्मविश्वास पलायो”, दीक्षा भन्छिन्। अनि, यूट्यूबमा उनका थप कभर भर्सन सुनिन थाले।
कोठामा गिटारको कर्डसँग खेल्दै गीतको कभर भर्सन गर्दागर्दै साथी हिमाल श्रेष्ठले उनलाई पेप्सी भोइस् अफ नेपाल प्रतियोगितामा भाग लिन सुझाए। दीक्षाकै भनाइमा यो ठूलो चुनौती थियो। प्रतियोगिताका लागि उनले नयाँ गीतदेखि, धुन भर्ने र गाउने सबै गरिन्। हिमालसँगै उनले गाएको गीत 'यादहरू मेटाउने प्रयासमा आफैं पो मेटिन थालेछु' ले प्रतिस्पर्धी सबैलाई पछि पार्यो। अब दीक्षा साँच्चिकै गायिका बनिन्। र, उनको सक्रियता पनि बढेको छ। कार्यक्रम आयोजक, रेडियो कार्यक्रम सञ्चालक, कन्सर्ट प्रस्तुतिले उनलाई व्यस्त बनाएको छ।
नेपालीसँगै अंग्रेजी, हिन्दी गीतमा पनि गाउन सक्ने दीक्षा र गायक चिन्टुका विभिन्न गीतको मिश्रण 'मासअप' शृखलाले यतिबेला चर्चा कमाइरहेको छ। उनी भन्छिन्, “अझै धेरै काम गर्न बाँकी छ।”
शिव