आफ्नै धुनको खोजीमा विजय-प्रिति जोडी
‘कभर भर्सन’ गाएरै यूट्यूबमार्फत सेलिब्रेटी बनेका विजय–प्रीति जोडी अब आफ्नै रचनामार्फत चिनिन चाहन्छन् ।
जसै इन्टरनेटको प्रयोग बढ्न थाल्यो, क्यासेट र सीडी बिक्री स्वाट्टै ओरालो लाग्यो । नेपाली संगीत बजार धर्मराउन थाल्यो । ‘पाइरेसीले सिध्यायो’ भन्दै संगीतकर्मीहरूले तीतो मात्र ओकलेनन्, कति त वैकल्पिक व्यवसाय नै खोज्न बाध्य भए । ठीक यही बेला संगीतमा एउटा ‘गुमनाम’ जोडीको उदय भयो, जसले यही प्रविधिको आलोकबाटै नयाँ चिनारी बनाए ।
विजय घिमिरे–प्रीति थापाको जोडीले चर्चा बटुल्न न त कुनै स्वर परीक्षा उत्तीर्ण गर्नुपर्यो, न रेकर्डिङ स्टुडियो, न कुनै क्यासेट र सीडीका माध्यमबाट अल्बम नै निकाल्नुपर्यो । योभन्दा रोचक त नेपालीमाझ सुनिन उनीहरू नेपालमै हुनै परेन । यूट्यूब च्यानलले एकैचोटि सबै काम गरिदियो । पुराना लोकप्रिय गीतका ‘कभर भर्सन’ गाएरै उनीहरू रातारात सेलिब्रेटी बन्न पुगे ।
भिजे म्युजिक यूट्यूब च्यानलमा बजेका उनीहरूका गीत लाखौंले सुनिसकेका छन् । नयाँ नयाँ सजाऊ है संसार गीतलाई नौ लाख ९३ हजारभन्दा बढीले सुने, हेरेका छन् । सुन भनन, सम्झना बिर्सना, माया माया, तिम्रै माया, कलको पानी जस्ता अरु गीत पनि उत्तिकै रुचाइएका छन् ।
विजय र प्रीति कसैले पनि नचिताएको चर्चा थियो त्यो । विराटनगरमा ६ कक्षादेखिका सहपाठी यो दम्पती ७ वर्षअघि विद्यार्थी भिसामा बेलायत पुगेको थियो । नर्सिङकी विद्यार्थी प्रीतिलाई विजय गीत सुनाइरहन्थे, जवाफमा प्रीति पनि थोरै गुन्गुनाउँथिन् । त्यसो त विजय कलेजका कार्यक्रममा बेलाबेला गीत सुनाउने र गिटार बजाउनेमा पर्थे । रेकर्डिङको आधारभूत ज्ञान पनि सिकेका थिए । तर, यो सोखमै सीमित थियो ।
चार वर्षअघिको एक दिन साथीहरूसँगको गेट–टुगेदरमा चलचित्र कुसुमे रुमाल को सुन भनन् गीत गाए । सबैले उनीहरूको स्वरको प्रशंसा गरे । हौसिएका दम्पतीले त्यसैको भिडियो बनाएर यूट्यूबमा अपलोड गरे । दुई साता नबित्दै चालीस हजारभन्दा बढीले हेरिदिए । “हाम्रा लागि यो कहिल्यै नसोचेको कुरा थियो”, गतसाता काठमाडौंमा भेटिएका विजय भन्दैथिए, “किनभने त्यो रहरै रहरमा अपलोड गरिएको थियो ।”
पहिलो गीतबाट मनग्ये चर्चा बटुलेपछि जोडीले अरु गीतहरू पनि अपलोड गर्न थाल्यो । एकपछि अर्को सबैको तारिफ हुन थाल्यो । उनीहरूको ‘क्रेज’ यतिसम्म बढ्यो कि, विजय–प्रीति जोडीले भर्चुअलबाट स्टेजमै ओर्लनुपर्यो । स्थानीय कार्यक्रमहरूबाट निमन्त्रणा आउन थाल्यो । र, यो क्रम अहिले पनि उसैगरी चलिरहेको छ । आफू बस्ने फ्ल्याटमै मिनी स्टुडियो बनाएका उनीहरूले गीत रेकर्डिङदेखि भिडियो एडिटिङसम्मको काम आफैं गर्छन् ।
‘कभर भर्सन’ दम्पतीको परिचय बनाएका विजय–प्रीतिका गीतले चर्चा पाउनुमा स्वर मात्र होइन, गीत छनोटको पनि मुख्य हात छ । पहिल्यै चर्चित गीतलाई गाउँदा सुन्नेहरूले पनि सँगसँगै गुन्गुनाउन सक्छन् ।
विजय अहिलेको पुस्ताले गुन्गुनाउन छाडेको गीत पुनर्ताजगी गराउने मेलोमा पनि आफूहरूको भूमिका रहेको बताउँछन् । “हामीले गाएका गीत हाम्रा बुबा पुस्तामा चर्चित थिए”, विजय भन्छन्, “अहिले मेरो छोरो यिनै गीत सुनेर हुर्किरहेको छ ।”
विजय यत्तिमै सन्तुष्ट छैनन् । अब पनि आफ्नै गीतबाट चिनिन चाहन्छन् । उनलाई थाहा छ, आफ्नै सिर्जनाको आयु लामो हुन्छ । “कभर सङ मात्रै गर्दा असली गायकी चाहिं ओझेल पर्ने रहेछ”, उनको स्वीकारोक्ति छ ।
पहिलो युगल अल्बम पेन्ट मी लभ ल्याइसकेका उनी अब दोस्रो अल्बमको तयारीमा छन् । अल्बमका केही गीतको म्युजिक भिडियो निर्माणका लागि उनी मनाङ र मुस्ताङ जाने तरखर पनि गरिरहेका छन् । “आफ्नो रचनालाई पनि उत्तिकै सशक्त बनाउने प्रयास गरिरहेको छु”, विजय भन्छन् ।