गठजोडमा निर्भर
परम्परागत रूपमा नेपाली कांग्रेस बलियो मानिएका पश्चिमाञ्चलका जिल्लामा स्थानीय तहको निर्वाचनमा भने अन्तरपार्टी तालमेल निर्णायक हुने देखिन्छ।
पश्चिमाञ्चलका ११ जिल्ला समेटिएको प्रदेश–४ मा ८५ वटा स्थानीय तह छन् । ३१ वैशाखको पहिलो चरणको निर्वाचनमार्फत जनप्रतिनिधि चुन्ने यो क्षेत्रमा यसपटक पनि कांग्रेस–एमाले नै मुख्य प्रतिस्पर्धी छन् ।
तर, २० वर्षअघि स्थानीय निर्वाचन हुँदा सशस्त्र विद्रोह गरिरहेको माओवादी यसपटक निर्वाचनमा हुनुले प्रतिस्पर्धालाई त्रिपक्षीय र रोचक बनाएको छ ।
जस्तो कि, माओवादी केन्द्रले कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा कांग्रेसलाई जिताउने अचम्मको तालमेल ग¥यो । यता लमजुङमा भने एमाले–माओवादी केन्द्रको सहकार्य सम्भव भयो ।
गोरखालगायतका केही जिल्लामा गत संविधानसभा निर्वाचनमा माओवादी केन्द्र बलियो देखिए पनि पार्टी विभाजनले पुरानाहरूलाई नै पुनस्र्थापित गर्ने सम्भावना देखिन्छ ।
उच्च हिमाली क्षेत्र मनाङ र मुस्ताङबाहेक बाँकी जिल्लाहरूका चुनावी तापमानले रूख (कांग्रेस) र सूर्य (एमाले) लाई ‘उन्नाइस–बीस’ को अवस्थामा ल्याएको छ ।
तनहुँः कांग्रेसकै दाबी
तनहुँका चार नगरपालिकामध्ये भानु र व्यास नगरपालिकामा कांग्रेसको बलियो पकड छ भने भिमादमा एमाले । शुक्लागण्डकी नगरपालिकामा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
कांग्रेसबाट भानु नगरपालिकाको मेयरमा उठेका उदय गौली पुराना नेता मानिन्छन् । तर, एमालेकी उम्मेदवार भगवती न्यौपाने कमजोर भने छैनन् । एमाले र माओवादी केन्द्रबीच गर्ने भनिएको तालमेल अन्तिम समयमा हुन नसकेका कारण यसको फाइदा कांग्रेसले उठाउने सम्भावना पनि छ ।
व्यास नगरपालिका पनि कांग्रेसकै प्रभाव क्षेत्र हो । स्थानीय तह पुनःसंरचनापछि थपिएका क्षेत्रमा पनि कांग्रेसकै बलियो पकड भएकाले जीत सुनिश्चित बनेको कांग्रेस कार्यकर्ता बताउँछन् ।
भिमाद नगरपालिकामा भने एमाले हावी देखिन्छ । थपिएका क्षेत्रमा पनि एमालेकै बोलवाला छ । हुनत शुक्लागण्डकी नगरपालिकामा पनि एमालेको प्रभाव कमजोर मानिंदैन । तर, चर्को गुटबन्दी र कांग्रेस–माओवादी केन्द्रको तालमेलले कांग्रेस बलियो देखिन्छ ।
आँबुखैरेनी, ऋषिङ, म्याग्दे गाउँपालिकामा कांग्रेस अगाडि छ भने घिरिङ र देवघाटमा एमालेको दबदबा देखिन्छ । बन्दीपुर गाउँपालिकामा भने माओवादी केन्द्र केही बलियो देखिन्छ ।
गोरखाः माओवादी फुटले कांग्रेसमा उत्साह
विगतका दुवै संविधानसभा निर्वाचनमा गोरखा जिल्लाका तीन वटै सीट जितेको माओवादी विभाजनपछि कमजोर बनेको छ । यसको फाइदा एमालेभन्दा बढी कांग्रेसलाई पुग्ने स्थानीयहरूको भनाइ छ । तर, गोरखा नगरपालिकामा भने त्रिपक्षीय प्रतिस्पर्धा नै हुने देखिन्छ ।
एमालेले २०५४ सालका मेयरलाई नै उम्मेदवार बनाएकाले अहिले पनि जित्ने अपेक्षा गरेको छ । पालुङटार नगरपालिकामा भने कांग्रेस र नयाँशक्ति पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । बाबुराम भट्टराईको क्षेत्र भएकाले पनि यहाँ नयाँशक्तिको प्रभाव बलियो छ ।
सुलिकोट गाउँपालिकामा माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा हुँदैछ भने सिरानचोकमा कांग्रेस, माओवादी र नयाँशक्ति मुख्य प्रतिस्पर्धामा छन् । अजिरकोटमा कांग्रेस अगाडि छ । कांग्रेस नेता चीनकाजी श्रेष्ठको क्षेत्र आरूघाटमा यसपटक एमालेले पनि जित्ने दाबी गरिरहेको छ ।
माओवादी फुटका कारण गण्डकी गाउँपालिकामा पनि कांग्रेसकै पल्ला भारी छ । धार्चे गाउँपालिकामा कांग्रेस अगाडि देखिए पनि एमालेको उम्मेदवारी नपरेका कारण नयाँशक्ति बलियो देखिएको छ ।
मनकामना मन्दिर भएको शहीद लखन गाउँपालिकामा पनि कांग्रेस र माओवादीबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । भीमसेन गाउँपालिकामा समेत कांग्रेसकै हात माथि देखिएको छ ।
स्याङ्जाः एमालेलाई अप्ठेरो
स्याङ्जाका पाँच नगरपालिकामध्ये चापाकोट, पुतलीबजार, भीरकोट र वालिङमा कांग्रेस अगाडि देखिएको छ । एउटै गल्याङमा मात्र एमाले अगाडि देखिन्छ । तर, वालिङ बाहेकका अन्य नगरपालिकामा कांग्रेसको मुख्य प्रतिस्पर्धी भने एमाले नै हो । वालिङमा भने कांग्रेस–माओवादी केन्द्रबीच भिडन्त हुनेछ ।
चापाकोटमा कांग्रेसले क्षेत्रीय सभापति शिव गिरीलाई मैदानमा उतारेको छ भने एमालेबाट दन्तचिकित्सक बुद्धिमान श्रेष्ठले उम्मेदवारी दिएका छन् । श्रेष्ठका तुलनामा गिरी पुराना र उदार नेताका रूपमा चिनिन्छन् ।
गत स्थानीय निर्वाचनमा पुतलीबजार नगरपालिकामा एमालेले जितेको भए पनि गत संविधानसभा निर्वाचनमा कांग्रेसले पाएको मत र उम्मेदवारका आधारमा कांग्रेस माथि देखिन्छ ।
जिल्लाका गाउँपालिकाहरूमध्ये अर्जुन चौपारीमा कांग्रेस, आँधीखोला, हरिनास र फेदीखोलामा एमालेको सम्भावना बलियो छ । कालीगण्डकीमा भने कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
बिरुवा गाउँपालिकामा एमालेको राम्रो प्रभाव भए पनि यहाँ कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलले उसलाई घाटा पुग्ने देखिन्छ ।
पर्वतः माओवादी मत निर्णायक
पर्वतका दुई नगरपालिकामध्ये कुश्मामा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । फलेवासमा भने कांग्रेस ढुक्क देखिन्छ ।
पहिले कांग्रेसको दबदबा रहेको कुश्मामा स्थानीय तहको पुनःसंरचना पछि थपिएका तीन गाविसमा एमालेको वर्चस्व रहेकोले अवस्था प्रतिस्पर्धात्मक बनेको हो । ‘न्यूट्रल’ मत वा माओवादी केन्द्र कुनै एक दलप्रति ढल्किएमा उसैले जित्ने संभावना छ ।
जिल्लाको महाशिला गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्र मिल्दा पनि एमाले बलियो देखिन्छ । जलजला र पैयुँमा कांग्रेस केही अगाडि छ भने मोदीमा एमाले थोरै बलियो देखिन्छ ।
म्याग्दी: तालमेलमा निर्भर
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा एमालेको पकड मजबूत मानिन्छ । तर, कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनले यसपटक एमालेलाई झस्काएको छ ।
८ गाविस मिलेर बनेको म्याग्दी नगरपालिकामा मेयरको पद दलहरूका लागि प्रतिष्ठाको विषय बनेको छ । नगरपालिकामा एमाले बलियो भए पनि माओवादी केन्द्रसँगको तालमेलले कांग्रेस पनि कमजोर छैन ।
एमालेले उपमेयरमा राप्रपासँग तालमेल गरे पनि नगरक्षेत्रमा राप्रपाको मत खासै छैन । त्यसैले पनि हारजितमा झ्निो मतान्तर हुने देखिन्छ ।
तालमेल नभएकाहरूमध्ये अन्नपूर्ण गाउँपालिकामा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा छ । एमाले सुदृढ मानिएको धवलागिरि गाउँपालिकामा कांग्रेस–माओवादी केन्द्र तालमेलले एमालेलाई समस्या परेको देखिन्छ ।
उता मंगला गाउँपालिकामा भने कांग्रेस–माओवादी केन्द्र गठजोडका बाबजूद एमाले अगाडि देखिन्छ । मालिका गाउँपालिकामा माओवादी केन्द्रको पकड भए पनि पूर्व माओवादी नेताले स्वतन्त्र उम्मेदवारी दिएकाले एमालेले जित्ने सम्भावना बढी छ । रघुगंगा गाउँपालिकामा भने कांग्रेस विश्वस्त देखिन्छ ।
नवलपरासीः कांग्रेसलाई कडा चुनौती
नवलपरासीका चार नगरपालिकामध्ये गैंडाकोटमा कांग्रेस र देवचुलीमा एमाले दाबीमा प्रशस्त आधार देखिन्छन् । कावासोतीमा कांग्रेस–एमालेबीच कडा प्रतिस्पर्धा हुनेछ भने मध्यविन्दु नगरपालिकामा थारू मत निर्णायक हुने देखिन्छ ।
चार गाउँपालिकामध्ये हुप्सेकोट, बुङदीकालीमा कांग्रेस र विनयीमा एमाले सुदृढ देखिएको छ । बुलिङटारमा कांग्रेस बलियो भए पनि एमालेका उम्मेदवार युवा भएकाले परिणाम यसै भन्न नसकिने बताइन्छ ।
तर, जिल्लाकै दाउन्ने डाँडा पश्चिमको अवस्था भने फरक छ । पूर्वतर्फ निर्वाचनको रौनक छाइरहँदा पश्चिम सुनसान छ । कारण, जिल्ला एउटै भए पनि पश्चिमको भूभाग प्रदेश–५ मा परेको छ । अर्थात् यहाँ निर्वाचनको मिति ३१ जेठमा तोकिएको छ । दाउन्ने डाँडाको सानो पानीढलोले प्रदेश विभाजन गरेको छ ।
रोचक चाहिं के छ भने, भिन्न प्रदेशमा विभाजित भए पनि जिल्लामा दुवै चरणको निर्वाचन सम्पन्न गर्ने जिम्मा भने जिल्ला निर्वाचन कार्यालय, नवलपरासीकै जिल्ला निर्वाचन कार्यालयले पाएको छ । निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीका अनुसार, दोस्रो चरणमा ३ नगरपालिका र ४ गाउँपालिकामा मतदान हुनेछ ।
तर, पहिलो चरणमै निर्वाचन हुने कतिपय ठाउँका मतदाता परिचय पत्रमा गम्भीर त्रुटि देखिएको छ । मतदाता सूचीमा भएका १६५ जनाको परिचय पत्र नै भेटिएन । थुप्रै परिचय पत्रहरूमा नाम एउटा र तस्वीर अर्कै पाइए ।
यस्ता त्रुटि तत्काल सच्याउन संभव नभएपछि सूचीमा नाम भएका सबैलाई मतदान गर्न दिने निर्णय गरिएको निर्वाचन अधिकृत भण्डारी बताउँछन् ।
लमजुङः हावी एमाले–माओवादी केन्द्र गठजोड
लमजुङका ८ वटै स्थानीय तहमा एमाले–माओवादी केन्द्रबीच गठबन्धन देशकै लागि अर्को आश्चर्यको समाचार हो ।
तालमेलले जिल्लाका चार नगरपालिकामध्ये बेसीशहरमा एमाले बलियो देखिए पनि कांग्रेसले जिल्ला सभापति भेषबहादुर पौडेललाई नै प्रतिस्पर्धामा उतारेकाले यसै भन्न सकिने अवस्था छैन । राइनासमा बलियो एमाले माओवादीसँगको तालमेलले झ्न् ढुक्क देखिन्छ ।
पहिलेदेखि कांग्रेसको वर्चस्व रहेको सुन्दरबजार नगरपालिकामा कांग्रेसका नगर सभापति नै मेयरमा बागी उठेपछि एमालेले ठूलो राहत महसूस गरेको छ ।
मध्यनेपाल नगरपालिकामा भने गठबन्धनका कारण माओवादी केन्द्र बलियो देखिए पनि कांग्रेस पनि कमजोर देखिन्न । जिल्लाका चारवटै गाउँपालिकामध्ये मस्र्याङ्दी र कोल्हासोंथरमा एमालेलाई माओवादीले सघाउनेछ भने दूधपोखरी र दोर्दीमा एमालेले माओवादीलाई ।
बाग्लुङ: बलियो जनमोर्चा
४ नगरपालिका र ६ वटा गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको बाग्लुङमा राष्ट्रिय जनमोर्चाको पकड बलियोे छ । तर, सदरमुकाम रहेको बाग्लुङ नगरपालिकामा भने कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
गल्कोट नगरपालिकामा भने जनमोर्चालाई मेयर र आफूले उपमेयर लिएर एमालेले तालमेल गरेको छ । ढोरपाटन नगरपालिकामा माओवादी केन्द्रका प्रभावशाली नेता देवकुमार नेपाली एमालेमा प्रवेश गरी उम्मेदवार बनेका छन् । जैमिनी नगरपालिकामा भने कांग्रेस र राष्ट्रिय जनमोर्चा बीच मुख्य प्रतिस्पर्धा हुनेछ ।
गाउँपालिकाहरूमा भने जनमोर्चा नै बलियो देखिएको छ । उसले प्रमुख पद आफुले लिएर अरूसँग तालमेल गरेको छ । काठेखोला गाउँपालिकामा कांग्रेसविरुद्ध जनमोर्चा, एमाले र माओवादी केन्द्रले तालमेल गरेका छन् । ताराखोलामा कांग्रेस र माओवादी केन्द्रबीच मुख्य भिडन्त हुने देखिएको छ ।
बरेङमा जनमोर्चा र एमालेको गठबन्धन बलियो देखिएको छ भने बढीगार्डमा एमाले–माओवादी केन्द्र गठबन्धनले जित्ने निश्चित प्रायः भएको स्थानीयवासी बताउँछन् ।
तालमेल नभएका निसीखोला गाउँपालिकामा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने देखिन्छ । तमाङखोला गाउँपालिकामा माओवादी केन्द्र र जनमोर्चाले तालमेल गरेका छन् ।
कास्की: कांग्रेसको आश, एमालेको विश्वास
नेपाली कांग्रेस र नेकपा (एमाले) नै परम्परागत प्रतिस्पर्धी रहेको कास्कीमा नेकपा (माओवादी केन्द्र) ले कांग्रेसलाई समर्थन गरेपछि निर्वाचन पेचिलो बनेको छ । कारण हो, २०७० सालको संविधानसभाको निर्वाचनमा मुख्य पार्टीहरूले ल्याएको मत ।
संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ एमालेले ५० हजार ५४०, कांग्रेसले ४८ हजार ७५४ र माओवादी केन्द्रले २३ हजार ३०१ मत पाएका थिए । प्रत्यक्षतर्फ कांग्रेस र एमालेले दुई/दुई क्षेत्र बाँडेका थिए ।
संविधानसभा निर्वाचनमा जिल्लामा कुल मतदाता संख्या १ लाख ९८ हजार ६६८ थियो । अहिले भने यो संख्या बढेर २ लाख २४ हजार ८११ पुगेको छ । विगतको गणित हेर्दा जिल्लामा कांग्रेस नै अघि देखिन्छ । तर, वर्तमान भने अलि फरक देखिन्छ ।
पछिल्लो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नं. १ मा कांग्रेसका यज्ञबहादुर थापाबाट २७२ मतान्तरबाट मात्र पराजित एमालेका मानबहादुर जिसी नै अहिले महानगरको मेयरका उम्मेदवार छन् ।
एमालेका वैकल्पिक केन्द्रीय सदस्य एवं कास्कीका पूर्व जिल्ला अध्यक्ष समेत रहेका जिसीसँग स्थानीय निकायमा काम गरेको पुरानो अनुभव पनि छ ।
उनी तत्कालीन कालिका गाविसका अध्यक्ष थिए । उता कांग्रेसबाट मेयरका उम्मेदवार रामजी कुँवर भने नेपाल टे«ड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष हुन् । कुँवर पोखरामा अधिकांश सार्वजनिक कार्यक्रमहरूमा नदेखिएको अनुहारमा पर्छन् ।
महानगरपालिका मेयरमा कांग्रेस र माओवादी केन्द्रको समीकरणप्रति स्थानीय माओवादी कार्यकर्ता असन्तुष्ट देखिन्छन् । मेयरमा कांग्रेसलाई सघाउन उपमेयर आफूहरूलाई दिनुपर्नेमा कांग्रेस सहमत नभएको माओवादी केन्द्रका कास्की संयोजक दीपक कोइराला बताउँछन् ।
स्थानीयमा खासै परिचित नभए पनि भद्र स्वभाव र माओवादी केन्द्रको समर्थनका कारण कांग्रेसका उम्मेदवारको जितको सम्भावनालाई पूरै नकार्न भने सकिन्न । तर, नगर–गाउँका दुःखसुखसँग खेलेर हुर्केका एमाले उम्मेदवार जिसीको जितलाई बढी स्वाभाविक मान्नुपर्ने एमालेजनको धारणा छ ।
एक महानगरपालिका र चार वटा गाउँपालिका रहेको कास्कीमा पनि एमाले–कांग्रेसकै प्रतिस्पर्धा हुने देखिन्छ । अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस बलियो देखिएको छ भने मादी गाउँपालिकामा एमाले । रुपा गाउँपालिकामा उम्मेदवार छनोटमा कांग्रेस कार्यकर्तामा देखिएको असन्तुष्टिको फाइदा एमालेले उठाउन सक्ने सम्भावना छ ।
युवराज श्रेष्ठ/पोखरा, साथमा दीपक ज्ञवाली