ओबीओआरपछि चीनसँग थप दुई सम्झौता हुँदै
अर्थमन्त्री कृष्णबहादुर महराले स्याप्रुबेसी–रसुवागढी सडक स्तरोन्नतीसम्बन्धी र नेपाल चीन क्रस बोर्डर इकोनोमिक जोन निर्माणमा चिनियाँ सहयोगसम्बन्धी दुई सम्झैतामा ३१ वैशाखमा हस्ताक्षर गर्दै छन् ।
तुफान न्यौपाने, बेइजिङ
बेल्ट एण्ड रोड इनिसिएटिभको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ३१ वैशाखमा चीनसँग थप दुई सम्झैतामा हस्ताक्षर गर्दैछन् । बेल्ट एण्ड रोड इनिसिएटिभको सदस्य बन्न त्यसको समझदारी पत्रमा हस्ताक्षर भएको दुई दिनपछि चीनसँग थप दुई सम्झौतामा हस्ताक्षर हुने भएको हो ।
स्याप्रुबेसी–रसुवागढी सडक स्तरोन्नतीसम्बन्धी र नेपाल चीन क्रस बोर्डर इकोनोमिक जोन निर्माणमा चिनियाँ सहयोगसम्बन्धी दुई सम्झौतामा हस्ताक्षर हुने भएको हो ।
उपप्रधानमन्त्री महराको नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधि मण्डलको स्वागतमा नेपाली दूताबास बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महराले उक्त जानकारी दिएका हुन् ।
३१ वैशाख–१ जेठमा चीनको राजनधानी बेइजिङमा बेल्ट एण्ड रोड इनिसिएटिभको शिखर सम्मेलन हुँदैछ । यो परियोजनामा २८ वैशाखमा हस्ताक्षर गरेको नेपालले पूर्वाधार विकासका लागि चीनबाट पुँजी, प्रविधि र जनशक्तिको सहयोग अपेक्षा गरेको छ ।
कार्यक्रममा उपप्रधानमन्त्री महराले चीनसँग सडक र रेलमार्ग मार्फत जोडिएर लाभ लिने नेपाली चाहना रहेको बताएका थिए । “विदेशी लगानी र प्रविधि भित्र्याएर पूर्वाधार विकासमा प्रगति गर्ने अवसर हाम्रासामु आएको छ”, उपप्रधानमन्त्री महराले भने ।
साथै उनले चीनसँग ‘क्रस बोर्डर इकोनोमिक जोन’सम्बन्धी सम्झौता भएपछि चिनियाँ कम्पनीलाई नेपालमा लगानीको वातावरण बन्ने पनि बताए ।
“लगानीको वातावरण बनाउन र सुरक्षाको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध छ”, उनले भने, “चीनसँग भएको पुँजी, प्रविधि, सामर्थ र छिमेकीलाई सहयोग गर्ने प्रतिवद्धता हाम्रा लागि राम्रो अवसर हो ।”
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बेल्ट एण्ड रोड इनिसिएटिभको सदस्य बनेपछि नेपालमा धेरै ठूलो मात्रामा चिनियाँ सहयोग जुटाउन बाटो खुलेको बताए । तर त्यसबाट लाभ लिन भने छिटोछिटोे थुप्रै कामहरू गर्न बाँकी रहेको उनको भनाई थियो ।
“बेल्ट एण्ड रोड इनिसिएटिभबाट लाभ लिन हामीले प्रथामिकता पहिचान, परियोजना विकास र छनोट तथा त्यसको बहुउपयोगबाट उच्चतम लाभ हासिल गर्ने गरी नीति र कार्यक्रमक तर्जुमा गर्नुपर्नेछ”, उनले भने ।