नेपाल चीन सम्बन्धमा ‘कोसेढुंगा’
चीनको महत्वाकांक्षी परियोजना ओबीओआरको सदस्य बनेसँगै खुलेका अवसरहरू छोप्न नेपालले गतिलै तयारी गर्नुपर्नेछ ।
२४ वैशाखको मन्त्रिपरिषद् बैठकले उत्तरी छिमेकी चीनले अघि सारेको ‘वान बेल्ट वान रोड (ओबीओआर) इनिसिएटिभ’ मा सहभागी हुने निर्णय गरेसँगै नेपालले उक्त परियोजनामा हस्ताक्षर गरेको छ । परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यू होङले काठमाडौंमा २८ वैशाखमा ओबीओआरको समझ्दारी पत्र (एमओयू) मा हस्ताक्षर गरेपछि नेपाल पनि यसको सदस्य बनेको छ ।
नेपाल र चीन दुवै पक्षले समझ्दारी पत्रको ‘कन्टेन्ट’ भने खुलाएका छैनन् । यद्यपि यसलाई ओबीओआरको ‘फ्रेमवर्क’ सम्झैता मात्र भनिएको छ । जसमा द्विपक्षीय सहकार्यमा निर्माण हुने योजनाको छनोट, कार्यान्वयन र लाभ बाँडफाँडका आधारहरू उल्लेख भएको बताइएको छ ।
समझ्दारीपत्रमा ‘योजना छनोटमा सम्बन्धित देश (नेपाल) को सार्वभौम अधिकार रहने र कार्यान्वयनपछिको लाभ वितरणका सैद्धान्तिक कुराहरू समेटिएको’ भनिएको छ । यसको अर्थ अहिले नै कुनै परियोजना निर्माणको समझ्दारी भइसकेको छैन भन्ने हो । भविष्यमा योजनाको छनोट गरी ओबीओआरको ‘फ्रेमवर्क’ मार्फत चिनियाँ लगानी भित्र्याउन भने समझ्दारीले ढोका खोलेको छ ।
सिल्क रोड (रेसम मार्ग) को नवीन रूप मानिएको यो परियोजनाले चीनलाई एशियाका अन्य देशसँगै यूरोप र अफ्रिकालाई सडक र जल मार्गमार्फत व्यापारिक रूपमा जोड्ने परिकल्पना गरेको छ । यसको समझदारी पत्रमा ४० भन्दा बढी देशले हस्ताक्षर गरिसकेका छन् भने ६० भन्दा बढी देशले सैद्धान्तिक सहमति जनाइसकेका छन् ।
परियोजनाको समझदारी पत्रमा हस्ताक्षर गर्ने र सैद्धान्तिक सहमति जनाउने देशका प्रतिनिधिसँगै अन्तर्राष्ट्रिय संस्था समेतलाई निम्त्याएर चीनले ३१ वैशाखदेखि बेइजिङमा ओबीओआर अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा सहभागी नेपाल परियोजनाको सम्भवतः कान्छो सदस्य हो ।
नेपाल मामिलामा चासो राख्ने चिनियाँ प्राध्यापकहरूले सम्मेलनको पूर्वसन्ध्यामै सही, परियोजनामा हस्ताक्षर गरेर नेपालले ‘सहकार्यमार्फत साझ लाभ प्राप्त गर्ने अवसर छोप्न सफल भएको’ टिप्पणी गरेका छन् ।
“समझदारी पत्रमा हस्ताक्षर हुनु पनि ठूलो उपलब्धि हो, यो ‘माइलस्टोन’ मा टेकेर धेरै अगाडि बढ्नु छ”, रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय अध्ययन विभागका निर्देशक डा. छन् स्याओछन्ले हिमाल सँग भने ।
नेपालमै निर्भर
यो ‘माइलस्टोन’ बाट शुरू हुने यात्राको गन्तव्य कहाँ हो ? चीनको महत्वाकांक्षी यो अभियानमा सहयात्री बनेर नेपालले के पाउनेछ ? डा. स्याओछन् भने यी र यस्ता थुप्रै प्रश्नको उत्तर ‘नेपालकै तयारीमा भर पर्ने’ बताउँछन् ।
“यो एउटाले दिने र अर्कोले लिने विषय नै होइन, साझ लाभका लागि गरिने सहकार्य हो” उनी भन्छन्, “यसका लागि चीन तयार छ, बल्ल नेपाल पनि तयार भएजस्तो देखिएको छ ।”
खासगरी संविधानसभाबाट संविधान जारी भएपछिको भारतीय नाकाबन्दीको समयमा चीनबाट हिमाल छिचोलेर केही थान ट्यांकर पेट्रोलियमसहित काठमाडौं आइपुगेपछि उत्तर जोडिने नेपाली महत्वाकांक्षामा एकाएक आत्मविश्वास भरिएको थियो ।
त्यसलगत्तै भएको ‘व्यापार तथा पारवहन’ सम्झौता र अन्य समझ्दारीले चीनसँगको ‘कनेक्टिभिटी’ को सम्भावनालाई थप बल दिएको थियो । चीनसँग रेल र सडक मार्गमार्फत जोडिने, अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण गर्ने, ठूलो संख्यामा चिनियाँ पर्यटक भित्र्याउने जस्ता योजनाहरू मुलुकभित्र चर्चाका विषय बनिरहे ।
तर, ‘ओबीओआर फ्रेमवर्क भन्दा बाहिरबाट यस्ता आयोजनामा सहकार्य गर्न चीन अनिच्छुक’ देखिएपछि भने ओबीओआरको सदस्य बन्न नागरिक तहबाट समेत सरकारलाई दबाब परेको थियो ।
ओबीओआरलाई नै परराष्ट्र नीतिको अंग बनाएको चीनले आफ्ना सबैजसो वैदेशिक सहयोग कार्यक्रम पनि यसैमार्फत गर्न खोजेको देखिएको छ । त्यसैले ठूलो लगानी र उच्च प्रविधिको आवश्यकता पर्ने नेपालका परियोजनाहरूमा चिनियाँ सहयोग/लगानी ओबीओआरको सदस्य नबनी सम्भव थिएन । तर समझ्दारीमा हस्ताक्षर हुने बित्तिकै नेपालीको अपेक्षा अनुसार चीन जोडिने परियोजनाहरू एकाएक शुरू हुने भने होइन ।
सांघाईस्थित फुदान विश्वविद्यालयका दक्षिण एशिया अध्ययन केन्द्र उप–निर्देशक प्राध्यापक ली मिनवाङ ओबीओआर समझ्दारी पत्रमा हस्ताक्षर भएपछि नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीहरूलाई स्रोत जुटाउन सरकारी सहयोग मिल्ने बताउँछन् ।
एशियाली पूर्वाधार लगानी ब्याङ्कलगायत अन्य थुप्रै चिनियाँ संस्थाहरू यतिबेला ओबीओआरको फ्रेमवर्क अन्तर्गतका योजनाहरूमा लगानी गरिरहेका छन् । यस्ता संस्थाहरूलाई प्रोत्साहन गर्ने संस्थापन नीतिका कारण पनि ओबीओआरमा हस्ताक्षरपछि नेपालमा चिनियाँ लगानी भित्रिने सम्भावना ह्वात्तै बढेको छ । तर त्यसका लागि योजना पहिचान गरी लगानी भित्र्याउन समझ्दारी गर्ने तत्परता भने नेपालले नै देखाउनुपर्नेछ ।
द्विपक्षीय समझदारी पत्रले योजना छनोट, कार्यान्वयन र लाभ वितरणमा सहकार्य गर्ने ‘मोडालिटी’ टुंगो लगाएको भए पनि योजनाको ठोस प्रस्ताव भने नेपालले नै पेश गर्नुपर्नेछ । नेपाली प्रस्तावमा सम्झैता भएपछि मात्रै सरकारी र निजी कम्पनीमार्फत चीन पैसा र प्रविधि बोकेर नेपाल पस्नेछ ।
चीनले ओबीओआरको फ्रेमवर्कभित्रबाट पाकिस्तान र बंगलादेशजस्ता दक्षिण एशियाली देशहरूसँग गरिरहेको विकास साझ्ेदारीमार्फत ती देशहरूले देखिने गरी प्रगति गरेका छन् । त्यस आधारमा सडक, रेल, जलविद्युत् वा विमानस्थल जस्ता पूर्वाधार विकासका ठूला परियोजनामा चीनसँगको सहकार्यले नेपालले पनि उल्लेख्य लाभ पाउने सम्भावना टाढा देखिंदैन ।
-------------------------------------------------------------------------------------------
'सहकार्यमार्फत लाभ'
डा. छन् स्याओछन्
निर्देशक, अन्तर्राष्ट्रिय अध्ययन विभग, रेनमिन विश्वविद्यालय
नेपालमा स्थानीय तहको चुनाव र चीनमा ओबीओआरको अन्तर्राष्ट्रिय सम्मेलन हुनै लाग्दा नेपाल र चीनबीच ओबीओआरको समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो खुशी मनाउनुपर्ने सफलता हो ।
ओबीओआर हस्ताक्षर त शुरुआत मात्र हो । यो ‘माइलस्टोन’ मा टेकेर हामीले धेरै परको यात्रा तय गर्नुछ । अहिलेको समझदारीले भविष्यमा अन्य धेरै क्षेत्रमा सहकार्य गर्न सक्ने आधार खडा गरेको छ ।
अब नयाँ योजना बनाएर भूपरिवेष्ठित देश नेपालले बाहिरी विश्वसँग जोडिन सक्नुपर्छ । यसले नेपालमा चीनबाट ठूलो लगानी भित्र्याउन र व्यापार बढाउन सहयोग गर्नेछ । धेरै चिनियाँ नेपाल घुम्न जानेछन् ।
वास्तवमा यो कुनै एक पक्षले दिने र अर्कोले लिने नभई सहकार्यमार्फत दुवैले लाभ लिने परियोजना हो, सहकार्यमार्फत साझा फाइदाको बाटो पहिल्याउने हो ।