भोटमा नेपालका अधिकार (इतिहास)
उबेलाको भोटमा नेपालले अहिले सुन्दा अचम्म लाग्नेगरिका अधिकारहरू लिएको थियो।
कुरा फेरि उही भोट चीनका। भोटमा जस्तो नेपालमा चीनको कत्ति पनि प्रभाव जम्न नदिने ब्रिटिशनीतिको प्रसङ्गमा रेजिडेन्ट स्मिथ र महाराजको सं. १९६४ भदौ १ गतेकै वार्तालापको प्रसङ्गमा भोटका खचडा र कृश्नसिंहका बारे पनि स्मिथले जान्न चाहेका थिए।
कृश्नसिंह केही कुरामा अनवन परेर ब्रिटिश इण्डियाबाट नेपाल पसेका थिए। तिनको वयान लिएर पठाउन खोज्दा केही भारदारले सबैको सबै भेद खोलेर ब्रिटिशलाई दिनुहुँदैन भन्दा महाराजले 'हामीले ब्रिटिशसँग कुरा गोप्य राख्यौं, दोस्ती देखाएनौं भने उनीहरूले हामीलाई कसरी विश्वास गर्छन् र बन्दूक जस्ता हातहतियार दिन्छन् त?' भनेर चित्त बुझाए।
कृश्नसिंहसँग वार्तालापको तवरबाटै कुरा बुझेर त्यसको विवरण पठाइदिए। 'भोटसँगका चीन तरफका पुराना दस्तावेजहरू ब्रिटिशतर्फका जस्तो सबै दुरुस्त छैनन्' भनेर महाराजले भने।
त्यसकारण, 'खचडामाथि नेपालको हक कसरी पुगेको रहेछ' भन्ने सम्बन्धमा लिखत कागजपत्र खोज्दा नपाइएकोले 'ल्हासामा रहेका हाम्रा वकीललाई पनि लेखिपठाएको छु' भन्दै खचडाबारे खुलेर भन्न चाहेनन्। महाराजले त्यो नजाने, नबुुझेको कुरा थिएन।
भोटमा दैनिक प्रशासन चलाइरहेका नेपालका वकीलले न्याय निसाफको आम्दानी–खर्चको यथार्थ विवरण पठाइरहेकै थिए। भोटमा चलिआएको आफ्नो प्रशासनको हकअधिकारको कुरा खुलस्त पारेर अंग्रेजलाई बताउन भारदार पनि चाहँदैनथे, स्वयं महाराजले पनि सबै आँतभेउ बताउन चाहन्थे। उनले खुलस्त पार्न नचाहेको विवरण यहाँ म 'भोट–चीन सम्बन्धका केही सांस्कृतिक पक्ष' बाट खुलस्त पार्न लागेको छु।
भोटमा बेपार गर्न जाने नेपाली महाजनले श्रीमती लिएर जान पाउँदैनथे। पहिलेका प्रतिनिधि भएर नेपालबाट जाने नाइकेले पनि महिला लिएर जान पाउँदैनथे।
वि.सं. १९१२ को सन्धिपछि ल्हासामा नेपाली वकील पनि बस्ने व्यवस्था भयो। वकीलले पत्नी र सुसारेसम्म लैजान थाले। नेपाली प्रजाजतिको हेरविचार, सुरक्षा र परेका मुद्दा–मामिलाको फैसला गर्ने वकीलकै अधिकार हुँदा भोटका अड्डा–अदालतमा यस्ता मुद्दा जाँदैनथे। परपरका कुती, केरुङ्ग दिगर्चा, ग्याञ्ची हुँदोका नेपालीका हेरविचार भने तत्तत् स्थानका थकाली नाइकेहरूले गर्थे।
भोटमा नेपाली बेपारीहरूले त्यहींका भोटिनीसँग बिहे गर्दथे। कतिले भोटेलाई साथी बनाएर वा मीत लाएर उसैकी श्रीमतीलाई साझे बनाउँथे।
मितिनीसँग बस्न छुट्टै घरजम गर्नुपर्दैनथ्यो। त्यसरी जन्मेका सन्तान छोरा भए नेपाली रैती 'खचडा' र छोरी भए भोटिनी अर्थात् भोटेकै रैती हुने चलन थियो।
भोटले आफ्ना प्रत्येक रैतीबाट ग्यानपञ्जी रकम २ मोहर उठाउँथ्यो। नेपाली रैतीबाट चाहिं त्यस्तो रकम उठाउन पाउँदैनथ्यो। त्यसो हुँदा खचडा नेपालीबाट उठेको दण्ड, जिताउरी दस्तुर नेपालकै हुन्थ्यो। आम्दानीको लागि पनि कतापट्टिको रैती भनेर निरख हुन्थ्यो।
नेपाली बेपारीका कोठीमा जन्मेका छोराछोरीका सम्बन्धमा कहिलेकाहीं लफडा परेर झगडै हुन्थे। रैती बढ्दा दैदस्तुर रकम पनि बढ्ने र नेपाली रैती हुँदा भोटको अति कठोर दण्डशासनाबाट बचिने हुनाले नयाँ रैतीको झुकाउ नेपालप्रति हुने भएकोले पनि यस्ता लफडा हुन्थे।
भोटका रैतीले अनेक वेठवेगार, झार्लाङ्गमा दलिनुपर्थ्यो। नेपाली रैतीले भने नेपाललाई २ मोहर ग्यानपञ्जी बुझाए पुगिहाल्थ्यो। कति खचडा त १ मोहर मात्र तिर्ने पनि थिए।
चीनसँगको युद्धमा भोटको धेरै नोक्सान परेको र मठमन्दिर, गुम्बाहरू पनि भत्केबिग्रेका हुँदा तिनको जीर्णोद्धार तथा अरू धर्मकर्म, पाठपूजा गर्न पनि रकम आवश्यक पर्दा भोटले आफ्ना सबै रैतीबाट आमटाङ्ग नामको रकम उठाउन थालेको थियो। जनही लोग्नेमान्छेसँग २ मोहर स्वास्नी मान्छेसँग ८२ पैसा (१।। .।।) आमटाङ्ग लिइन्थ्यो।
गोरखालीसँग बस्ने भोटेनीका कतिपय छोरी, खचडासँग बसेका खचडिनी र तिनका छोराछोरीलाई नेपाली रैती मानी आएकामा केरुङ आदि स्थानका ढेवाले जबर्जस्ती आमटाङ्ग उठाउन थालेकाले कचपच उठेपछि १९६६ सालमा नेपालले केरुङदेखि ल्हासासम्मकै नेपालीको जनगणना गरी लगत दुरुस्त राखेको थियो।
केरुङतर्फको लगत
केरुङ निवासी नेपाली जम्मा जवान २२१।
खुद नेपाली जवान ३३, कामी भन्ने जवान ७७। खचडा भोटिनी जहान समेत ८०। कुती, खासा, लाप्टाङ, लप्ची समेतमा रहेका जम्मा जवान २६०। खुद नेपाली २२, खचडा भोटिनी जहानसमेत २४८। दिगर्चा निवासी जम्मा जवान १७३, खुद नेपाली जवान ३१। स्यारपा जवान १८, खचडा भोटिनी जहान समेत १२४।
ल्हासातर्फका लगत
ल्हासा निवासी नेपाली जम्मा जवान ४१८। खुद नेपाली जवान २३५। खचडा भोटिनी जहान समेत १८३।
वि.सं. १९७१ जेठ २ गते रोज ६ मा ल्हासामा बस्ने नेपाली प्रजा काश्मेरी मुसलमानको जनसंख्या लगत गर्नु भन्ने वकील लालबहादुर बस्नेतका नाउँमा भएको आदेश अनुसार उक्त मितिमा भएको लगत बमोजिम ल्हासाका नेपाली मुसलमानको संख्या ४६।
वि.सं. १९७० माघ १६ गते रोज ५ मा गाम्ता थकालीका बयान बमोजिम गरिएको लगतबाट गाम्ताका खचडा जम्मा २४। चितन गाउँका खचडा जम्मा ४९। रोङपाछे, चितन, ङेरोङ, खुंखार, ङेताङ, सम्ये, सामरी, छोगेल आदिका खचडा ४४। ङाछी, मुडिलिङ्ग, छागेल, लवरां, कांगु, ठांगु आदिका खचडाहरू ८०। ङानाम, झयावालिङ्ग, रोकध्यांगो, कितल, ङानुम्, रामसोर, टशीलिङ्गका खचडाहरू ५३।
वि.सं. १९७१ वैशाख ५ गते ६ रोजको डिट्ठा देवीदत्त सेढाईको लगतबाट केरुङ्गका तिरो लागेका खचडा २०। तिरो नलागेका १२ वर्ष मनिका खचडाहरू १७। झुङ्गाका तिरो लागेका खचडाहरू १२। तिरो नलागेका १२ वर्ष मुनिका खचडाहरू ४।
गुम्बामा बाँडा हुँदा तिरो नलागेका २। डिट्ठा देवीदत्त सेढाईंको लगत बमोजिम वि.सं. १९७७ चैत्र १५ गते रोज १ मा केरुङ्गका खचडाको संख्या ५० जवान। वि.सं. १९८५ को लगत बमोजिम केरुङका तिह्रो तिर्ने खचडा २९। तिह्रो नलागेका खचडा १९। बढ २। झुङ्गामा तिरो लागेका १२। तिरो नलागेका ३। केरुङ्गमा बस्ने नेपाली प्रजाको संख्या वि.सं. १९८६ वैशाख १ गते रोज ७ को लगतबाट जम्मा २४। मरुवा २। बढ १।
वि.सं. १९८९ वैशाख १० गते रोज ६ मा डिट्ठा पद्मबहादुर स्वाँरको लगत बमोजिम केरुङमा ग्यान पञ्जी रकम १५। कालामोहर तिर्ने नेपाली प्रजा ४३ थिए। तिनमा १ जना उजुर परेको २ जना घर फर्केका। वि.सं. १९८४ मा केरुङ्ग भोट बस्ने सरदिया रैती जना २४। ग्यानपञ्जी रकम कालामोहर तिर्ने खचडा ३६। तिरो नतिर्ने खचडा जना २९। बढ जना ०। झुङ्गेमा बस्ने जम्मा १२। तिरो नलागेका २।
(अन्यत्रको जनगणना यहाँ टिपिएको छैन)।
एकैचोटि सं. २०१२ मा नेपाल–चीन शान्ति तथा मैत्री सन्धिपछिको १३ सालको ल्हासा इलाकाको नेपालीको जनसंख्या ९०० पाइन्छ, करीब ४/५ सय घरमा। ग्यानपञ्ची २ मोहर सबै तिर्थे, १ मोहर तिर्ने खचडा पनि थिए। टीका दस्तुर तिर्ने पनि थिए। शेर्पा, मियाँ र अरू नेपाली रैती भए तिनले १ मोहर तिर्थे।