लोकतन्त्रको उपहास
राज्यनिर्मित ‘मौन संस्कृति’ ले स्वतन्त्र आवाजहरू बन्द गराउन थालेको दृष्टान्त हो, २९ वर्षदेखिको हिमाल साउथएशियन को प्रकाशन स्थगन ।
‘हिमाल साउथएशियनको अवसान भनेको हाम्रो सामूहिक बौद्धिक हत्या हो’, हिमाल साउथएशियन को प्रकाशन स्थगन हुने सूचना पाएलगत्तै चिकित्सक एवम् अभियन्ता डा. जीवन क्षेत्रीले ब्लगमा लेखे ।
काठमाडौंबाट प्रकाशन भइरहेको अन्तर्राष्ट्रिय पत्रिका हिमाल साउथएशियन कोे प्रकाशन राज्यका निकायहरूको निरन्तर असहयोगका कारण स्थगन हुने सूचना प्रवाहले दक्षिण एशियासहित विश्वका पत्रकार, बौद्धिक जमात र पाठकहरूमा विस्मातको तरंग सिर्जना गर्यो । एकपछि अर्को चिन्ता र आक्रोशका सन्देश सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियामा अझै पनि प्रवाह भइरहेका छन् ।
दक्षिण एशियाका अन्य देशहरूभन्दा मिडियाप्रति उदार भनिएको नेपालबाटै प्रकाशित हुने पत्रिका, जसले ‘सीमापार पत्रकारिता’ गर्दै दक्षिण एशियाली साझ संस्कार र संस्कृति निर्माणका लागि निरन्तर बहस चलाइरह्यो, त्यही पत्रिका बन्द हुने खबरले अलिकति पनि संवेदनशील र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई झ्ट्का नलाग्नु शायद अस्वाभाविक हुन्थ्यो ।
हिमाल साउथएशियन ले म्यानमारदेखि अफगानिस्तान र भुटानदेखि श्रीलंकासम्मका समस्याहरूमा बहस चलाइरह्यो नेपाललाई समेत जोड्दै । यस क्षेत्रका बौद्धिक र चर्चित पत्रकारहरूका अनुसन्धानमूलक र खोजपूर्ण लेखहरूबाट दक्षिण एशियामै गर्व गर्न लायक पत्रिकाको मानक खडा गर्न सक्यो, हिमाल साउथएशियन ले ।
‘दुःखद् खबर । सम्भवतः हिमाल (साउथएशियन) मात्रै साँच्चिकै दक्षिण एशियाली पत्रिका हो’, स्थगनको सूचनापछि भारतीय राजनीतिज्ञ एवम् अभियन्ता योगेन्द्र यादवले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘भ्वाइस अफ अमेरिका’ का कूटनीतिक सम्वाददाता स्टेफेन हर्मनले अमेरिकी विदेश मन्त्रालयले हिमाल साउथएशियन को प्रकाशन स्थगनप्रति चासो व्यक्त गरेको उल्लेख गरेका छन् ।
‘विश्वभरमै स्वतन्त्र मिडिया खतरामा छन् । यो मुद्दालाई अमेरिकाले गम्भीरतापूर्वक लिएको छ’, विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै उनले ट्वीट गरेका छन्, ‘खुला र स्वतन्त्र मिडियाको परम्परा नेपालको संस्कृति, राजनीति र इतिहासबारे बहसको प्रमुख अंग हो । नेपाली जनता र नेपालको प्रजातन्त्र सुदृढीकरणका लागि यो परम्परा कायमै रहनुपर्छ ।’
अफशोच ! स्वतन्त्र मिडिया र वैचारिक विविधतालाई उत्प्रेरित गर्नुपर्ने लोकतान्त्रिक भनिने राज्यका अंगहरू नै दक्षिण एशियाली समाजले गर्व गर्ने प्रकाशन स्थगनको कारण बन्न पुगे । श्रीलंकाली मूलकी अमेरिकी पत्रकार एवम् लेखिका भीभी गनेशानन्थन अमेरिकामा पनि हिमाल साउथएशियन पढिने भन्दै लेख्छिन्, ‘पत्रिकाको प्रकाशन बन्द हुने सुन्दा दुःख लागेको छ, मेरा लेखहरू पनि छापिएका थिए, हिमाल (साउथएशियन) मा ।’
पाकिस्तानी इतिहासकार एवम् प्राध्यापक मन्नान अहमदले हिमाल साउथएशियन बन्द भएको खबरलाई ‘भयानक’ भनेका छन् ।
पछिल्लो समय पुस्तकाकारमा प्रकाशित हुने अंग्रेजी त्रैमासिक हिमाल साउथएशियन ले हिमाली पत्रिकाका रूपमा २९ वर्षअघि प्रकाशन शुरू गरेको थियो भने सन् १९९६ देखि यसले पहिलो दक्षिण एशियाली पत्रिकाको रूपमा आफूलाई उभ्याउन सफल भयोे ।
‘दक्षिण एशियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसिप या अन्य खालका हस्तक्षेपबाट नभई ब्यूरोक्रेसीका विभिन्न अंगमार्फत दबाब दिई हिमाल साउथएशियन लाई बन्द गराइएको हो,’ हिमाल साउथएशियन को प्रकाशक संस्था ‘साउथ एशिया ट्रष्ट’ ले ८ भदौमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ट्रष्टका अनुसार अधिकांश अनुदानबाट चल्ने हिमाल साउथएशियन का लागि दातृ संस्थाले दिएको अनुदान पछिल्लो ७ महीनादेखि सरकारी निकायबाट प्रयोग गर्न स्वीकृति दिइएको छैन भने अन्तर्राष्ट्रिय पत्रिकामा काम गर्ने गैर–नेपाली पत्रकारहरूलाई श्रम स्वीकृति समेत उपलब्ध गराउन बन्द गरिएको छ ।
विभिन्न नियमनकारी निकायका पदाधिकारीहरूले ट्रष्टको क्रियाकलापमा कुनै समस्या नरहेको, ‘माथिको दबाब’ का कारण आफू निरीह भएको बताएको ट्रष्टले जनाएको छ । ‘हाम्रो सानो सम्पादकीय र प्रशासनिक टोलीले यी र अन्य चुनौतीबीच पत्रिका प्रकाशन गर्ने निरन्तर कोशिश गर्यो तर, स्थिति काबुभन्दा बाहिर गइसकेपछि पत्रिका स्थगनको निर्णय लिइयोे’, ट्रष्टले भनेको छ ।
२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि नेपाल दक्षिण एशियामै प्रेस स्वतन्त्रताको हिमायती देखिए पनि लामो संक्रमणकाल र राजनीतिक अन्योलमाझ यहाँको राजनीतिक नेतृत्व खुला समाजप्रति अनुदार हुँदै गएको छ भने प्रेस स्वतन्त्रता कुण्ठित गरिंदैछ । जसको पछिल्लो उदाहरण बन्न पुग्यो, हिमाल साउथएशियन ।
‘माथिको दबाब’ का कारण दक्षिण एशियाली क्षेत्रमै प्रख्यात पत्रिका बन्द गराइनु लोकतन्त्रमा नभई ‘ठगतन्त्र (क्लेप्टोक्रेसी)’ मा मात्रै सम्भव हुन्छ । के नेपाल राज्य ‘क्लेप्टोक्रेसी’ उन्मुख भएको हो ? “निकै दुःखको कुरा, धूर्त शक्तिले तारो बनाएर हिमाल (साउथ एशियन) लाई बन्द गराइएको छ । यो पत्रिका दक्षिण एशियामा विवेकको आवाज हो”, द हिन्दू की पूर्व सम्पादक एवम् लेखिका मालिनी पार्थसारथीले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
विविधताका बहुआयामप्रतिको स्वीकारोक्ति, अभिव्यक्ति स्वतन्त्रता र खुला समाजको निर्माण लोकतन्त्रका आधारभूत मान्यता हुन् । स्वतन्त्र पत्रकारिताले खुला समाज र विविधताका बहुआयामप्रति समाजलाई अभ्यस्त बनाउँदै लोकतान्त्रिक सुदृढीकरणतर्फ राज्यलाई अघि बढ्न मद्दत पुर्याउँछ ।
देशमा विकसित हुँदै गरेको ‘मौन संस्कृति’ र राजनीतिक ‘दोगलापन’ को शिकार अन्ततोगत्वा लोकतन्त्र र सिंगो मुलुक नै बन्छ । राज्य पोषित ‘मौन संस्कृति’ विरुद्ध नबोल्ने हो भने अहिलेसम्मका सबै उपलब्धि गुम्न सक्छन् । भारतीय मूलका बेलायती पत्रकार मिर्जा वाहिदले हिमाल साउथएशियन को प्रकाशन स्थगनलाई ‘अविश्वसनीय रूपमा दुःखद्’ भन्दै ट्वीट गरेका छन्, ‘यति राम्रो प्रकाशन, मलाई आशा छ यो चाँडै फर्किनेछ ।’
ट्रष्टले साउथएशियन को आगामी मंसीर अंक प्रकाशन हुने र स्थिति अनुकूल भए नेपालबाटै वा अन्य देशबाट पत्रिका पुनः प्रकाशनमा आउने पनि जनाएको छ । पत्रकार वाहिदको आशा र ट्रष्टले देखाएको सम्भावनाले एउटा आशा देखाए पनि अब आ–आफ्ना ‘कम्फर्ट जोन’ भन्दा बाहिर निस्केर विवेकपूर्ण सोच नराखिए मौलाउँदै गरेको ‘मौन संस्कृति’ ले सबै स्वतन्त्र आवाजहरू नै बन्द गराउन सक्छ ।