बेवास्ताको विपत्
ठूलो पहिरो–बाढी नआउँदै एक सय भन्दा बढीको ज्यान जानुको सीधा अर्थ हो– विपत् न्यूनीकरणका लागि आवश्यक पूर्व तयारी छैन।
पहिरोमा परेर मृत्यु भएका प्यूठानको लुङ्ग गाविसका शोभा रिजाल र खवाङ्गका किरण थापाको शव १४ साउनमा फेला पर्यो। योसँगै प्यूठानमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। मृतकमध्ये फोप्ली गाविसका मात्रै २५ जना छन्। त्यस्तै, गुल्मीमा ७, बाग्लुङमा ६, पाल्पामा ४, रोल्पामा ४, मकवानपुरमा ३, अर्घाखाँचीमा २, झापामा २, रूपन्देहीमा २ र काठमाडौं, दोलखा, सर्लाही, पर्वत, उदयपुर, दाङ, कपिलवस्तु, बारा र सप्तरीमा १/१ जनाको ज्यान गएको छ। देशभरि पहिरोबाट ९१, बाढीबाट ४८ र अत्यधिक झ्रीका कारण ६ जनाको मृत्यु भएको छ।
गृह मन्त्रालयको विपत् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार ६ हजार ९६५ परिवार प्रभावित भएका छन् भने प्राकृतिक विपत्का कारण यो वर्ष रु.९२ करोड बराबरको क्षति पुगिसकेको छ। देशभरिमा सबैभन्दा बढीको ज्यान गएको प्यूठानमा ३९६ परिवारका दुई हजार १८० जना विस्थापित छन्। उनीहरूले ठाकुरभूमि प्रावि, अम्बिका मावि फोप्ली र अर्घाका सामुदायिक भवनहरूमा आश्रय लिइरहेका छन्। प्यूठानका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज पन्त विस्थापितहरूको संख्या अझै बढ्न सक्ने बताउँछन्। “किनभने गाउँगाउँबाट प्रभावित सबैको तथ्यांक आइसकेको छैन”, उनी भन्छन्, “प्रभावित सबै परिवारलाई रु.८ हजार राहत उपलब्ध गराइएको छ।”
पुगेन राहत
प्यूठानको फोप्ली, खवाङ्ग र अर्घा गाविसमा राहत सामग्री पुग्न सकेको छैन। जिल्ला प्रहरी प्रमुख डीएसपी रञ्जितसिंह राठौर निरन्तरको झ्रीका कारण राहत सामग्री पुर्याउन नसकिएको बताउँछन्। मौसमको खराबीकै कारण गोरख बक्स गणले १४ साउनमा राहत सामग्री पठाउन सकेन। विस्थापितहरू जिल्ला दैवी प्रकोप उद्धार समितिले पठाएको चिउरा, चाउचाउ, दालमोठ, बिस्कुटको भरमा छन्। अन्य खाद्यान्न र लत्ताकपडा पुग्न सकेको छैन।
तराईका जिल्लाहरूको अवस्था पनि प्यूठानको जस्तै छ। सिरहा, सप्तरीलगायतका जिल्लाका बाढी पीडितहरू चिउरा, मुरै खाएर बसेका छन्। सप्तरीको गोबरगाढा, सकरपुरा, विषहरिया, रम्पुरा मल्हनियाँ, कोइलाडी बर्साइन गाविसका बाढी पीडितहरू जिल्ला दैवी प्रकोप उद्धार समितिले वितरण गरेको मुरै र चिउराको भरमा छन्। गैर–सरकारी संस्थाहरूले खाद्यान्नलगायतका राहत सामग्री उपलब्ध गराउन सकेका छैनन्। १० हजारभन्दा बढी सप्तरीवासी बाढीबाट प्रभावित भएको समितिका फोकल पर्सन तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक कोइराला बताउँछन्। उनका अनुसार, बाढी प्रभावित बालबालिका, गर्भवती, अपाङ्गता भएका व्यक्ति समेतको तथ्यांक तथा क्षतिको विवरण संकलन भइरहेको छ।
अविरल वर्षाका कारण खाँडो नदीको बाँध भत्केर आएको बाढीले सकरपुराका सबै वडामा विनाश गरेको छ। सकरपुरा वाहेक लौनियाँ र तिलाठीका घरहरूमा ८ साउनयता दुई–तीन फिटसम्म पानी जमेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीका अनुसार जोखिममा रहेकाहरू सुरक्षित स्थान खोज्दै आफन्तको शरणमा पुगेका छन्। सदरमुकाम राजविराज, सकरपुरा, लौनियाँ, तिलाठी, कोइलाडी, दिघवा, महदेवा, मधवापुर, भगवतपुर, बथनाहा, भारदह, पोर्ताहा, मैनाकडेरी, विषहरिया, कोइलाडी बर्साइन, मधेपुरा, वभनगामाकट्टी गाविसका साथै कंचनपुर र सप्तकोशी नगरपालिकाका धेरै घर डुबानमा छन्। त्यसमध्ये सबैभन्दा बढी डुबानमा परेको सकरपुरका पाँच सयभन्दा बढी घर डुबानमा छ।
तिनाउको ताण्डव
११ साउनमा तिनाउ नदीमा आएको बाढीले बुटवल, देवीनगरका १५ घरसहित झ्ोलुङ्गे पुल बगायो भने किनारका २०० घरमा बाढी पस्यो। नदी किनारका ६ हजारभन्दा बढी बासिन्दा त्रासमा छन्। तिनाउमा जनताको तटबन्ध कार्यक्रम अन्तर्गत सात वर्षमा साढे ५० करोड रुपैयाँ खर्च भइसकेको छ। १५ किलोमिटर पक्की पर्खाल, आरसीसी गेटवाल लगाइएको छ भने १५ हेक्टर क्षेत्रफलमा बायो इन्जिनियरिङ गरिएको छ। सेमलार, नरेनापुर, खड्वा वनगाई गाविसमा छिटो हुर्कने बिरुवा लगाइएको छ। र पनि, तिनाउले बेलाबेला ताण्डव देखाउन छाडेको छैन।
चुरेबाट भेल लिएर आउने नदीले भारतीय भूमिमा सहज निकास नपाउँदा बढी कटान गर्छ। त्यसमाथि बहाव क्षेत्र नै छेकेर वस्ती बनेपछि नदीको बर्खे उपद्रो बढेको छ। विज्ञहरूका अनुसार नदीको बहाव क्षेत्र ३३७ मिटर हो, तर अतिक्रमणले अधिकांश ठाउँ १५० देखि ५० मिटरमा खुम्चिएको छ। तिनाउमा २०१८, २०२७, २०३८, २०५०, २०५९ र २०६५ मा ठूलो बाढी आएको थियो। ६४ जनाको ज्यान लिएको २०३८ सालको बाढी देखेका बटौली संरक्षण समितिका अध्यक्ष रवीन्द्र गोपाल लाकौल किनारको अतिक्रमण हटाएर नदीलाई खुला नछोडे योभन्दा ठूलो अनिष्ट हुनसक्ने बताउँछन्।
मानवीय हस्तक्षेप र जथाभावी दोहनका कारण नदी बहुलाउने गरेको विज्ञहरू बताउँछन्। तिनाउको अध्ययन गरेका इन्जिनियर खेटराज दाहाल हरेक वर्ष नदीले क्षति पुर्याउनुको मूल कारण प्राकृतिकभन्दा मानवीय हस्तक्षेप हो। विकासका नाममा सरकारी रकमबाटै नदीको प्राकृतिक स्वरुप परिवर्तन गर्ने र किनारका अव्यवस्थित बसोबासका कारण तिनाउले ताण्डव देखाउने गरेको उनी बताउँछन्। दाहाल भन्छन्, “बग्ने बाटो नै रोकेपछि नदीले जे पनि बगाउँछ।”
झरीको झट्का
जल तथा मौसम विज्ञान विभागका अनुसार यसपटक औसत भन्दा बढी पानी परिसकेको छ। (हे. नक्शा)विभागका महानिर्देशक डा. ऋषिराज शर्मा प्रशान्त महासागरमा विकसित हुने एल्लिनोमा नकारात्मक असर देखिंदा नेपालसहित दक्षिण एशियामै गत वर्ष भन्दा बढी पानी परेको बताउँछन्। उनका अनुसार, एल्लिनो 'सकारात्मक' यता कम र 'नकारात्मक' हुँदा धेरै पानी पर्छ।
विभाग अन्तर्गतको बाढी भविष्यवाणी केन्द्रका अनुसार, कर्णाली, कोशी जस्ता नदीको वहाव यो वर्ष खतराको सूचकभन्दा माथि पुगेको छैन। खतराको सूचक भनेको क्षतिको सूचक पनि हो। २०७१ साउनमा १५६ जनाको ज्यान जाने गरी सिन्धुपाल्चोकको माङ्खा र जुरेमा खसे जस्तो विपत्तिको पहाड पनि खसेको छैन। र पनि, बाढीपहिरोले १४ साउनसम्ममा १४१ जनाको ज्यान लिइसकेको छ।
हरेक साल आउने प्रकोपसँग जुध्ने तयारी नगर्दा बढी क्षति भएको जानकारहरू बताउँछन्। नेपालको वार्षिक जल प्रवाह दुई अर्ब २५ करोड घनमिटर रहेकोमा त्यसको ८० प्रतिशत पानी असार–असोजको बीचमा प्रवाह हुन्छ। यो अवधिको बाढीपहिरोलाई अनपेक्षित ठानिंदैन। जलवायु विश्लेषक ङमिन्द्र दाहाल भन्छन्, “मनसुनको समयमा हुने बाढीपहिरो जस्ता प्रकोप र त्यसले पुर्याउने क्षति न्यूनीकरणमा पर्याप्त ध्यान नदिंदा वर्षेनि क्षति हुँदै आएको छ।”
उनका अनुसार, अहिलेको बाढीपहिरो शुरूआत मात्रै हो, प्रकोपको खास महीना अगस्ट हो। जुलाईसम्म परेको पानी जमीनले सोस्छ। त्यसपछि जमीन गल्ने हुनाले बाढीको सानो धक्काले पनि पहिरो जान सक्छ। यस हिसाबले हेर्दा २०७२ वैशाखको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लामा पहिरो नजानुलाई सुखद् संयोग मान्नु पर्छ। असार तेस्रो साता भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकको तातोपानी र लिपिङ क्षेत्रमा पुर्याएको क्षतिलाई अपवाद मान्ने हो भने महाभूकम्पले क्षति पुर्याएका जिल्लाहरू अहिलेसम्म ठूलो बाढीपहिरोमा परेका छैनन्।
भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनाल पहिरोबाट जोगिनुले भूकम्पले चर्केका ठाउँहरू अनुमान गरिएजति गहिरो नभएको पुष्टि भएको बताउँछन्। उनका अनुसार, यो वर्ष डाँडा नै खस्ने 'स्लोप फेलियर' नभए पनि 'ड्रेबिस फेलियर' भएर धनजनको क्षति भइरहेको छ। नेपालका पहाडहरू कलिलो भएकाले मुसलधारे वर्षा नभए पनि निरन्तरको झ्रीले सजिलै बगाउने गरेको छ। नेपाल लगायत दक्षिण एशियाका पहाडहरू अरू ठाउँकाभन्दा निकै कान्छा अर्थात् ५० लाख वर्षका मात्रै भएकाले निरन्तर झ्री पर्दा सचेत हुनुपर्ने प्रा.डा. खनाल बताउँछन्।
तीन दशकभन्दा बढी जलाधार क्षेत्रको अध्ययनमा बिताएका मधुकर उपाध्या चुरेका खोला बढी चञ्चले रहेको र निरन्तर झ्री पर्दा बग्ने ग्रेगान र बालुवाले गर्दा तटीय क्षेत्रमा विनाश निम्तिएको बताउँछन्। उनका अनुसार, खोल्सा–खोल्सी वा कुनै बेला नदी बगेको स्थानमा मानवबस्ती बसाल्नु समस्याको प्रमुख जड हो। बाढीको विषयमा पूर्व जानकारी दिन सकिने भए पनि पहिरो अपझर्ट आउने हुँदा मानवीय क्षति धेरै हुने उनी बताउँछन्। स्कूल तहमै बाढीपहिरोका सबै पक्षबारे पढाउनु जोखिम न्यून बनाउने एउटा उपाय हुनसक्ने बताउँदै उपाध्या भन्छन्, “स्थानीय ज्ञानमा आधारित पाठ्यक्रम बन्न चाहिं राजनीतिक प्रतिबद्धता चाहिन्छ।”
विपत्को बेला जनताको साथमा हुनुपर्ने सरकार र संसद् अरू नै ध्याउन्नमा छ। २९ असारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेयता व्यवस्थापिका–संसद् सरकार गठनमा केन्द्रित छ। माओवादी केन्द्रबाट सांसद् मनोनीत श्याम श्रेष्ठ व्यंग्य गर्छन्, “संसद्लाई जनताको वास्तविक समस्यामाथि छलफल गर्ने फुर्सद कहाँ छ?”
जनताप्रति उत्तरदायी कुनै सांसद्ले कुरा उठाइहाले पनि सम्बन्धित मन्त्री छलफलमा उठेका विषय सुन्न संसद्मा नबस्ने श्रेष्ठको अनुभव छ। उनको भनाइमा, सुनुवाइ नहुने भएपछि सांसद्हरूले पनि बोल्न जाँगर देखाउँदैनन्। तर, जनतालाई आपत्विपत्मा संसद् र सरकारको बढी आवश्यकता परेको हुन्छ। प्रमुख नदीहरूको जल प्रवाह अवलोकन गरिरहेको सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले पनि बाढीबाट हुने मानवीय क्षति घटाउन सकेको छैन।
साथमा तुफान न्यौपाने काठमाडौं, दीपक ज्ञवाली बुटवल, श्रवणकुमार देव राजविराज र विजयसिं भारती प्यूठान
-----------------------------------------------------------------------------------------------
जोखिममा तिनाउ पुल
बुटवलको देवीनगर र मोतिपुर जोड्ने तिनाउ नदीको झोलुङ्गे पुल ११ साउनमा बाढीले बगायो। मोतिपुर क्षेत्रबाट पाँच हजारभन्दा बढी विद्यार्थी बुटवल पढ्न आउँथे। पुल बगाएपछि वारपार ठप्प भएको छ। उताबाट दैनिक बुटवल भित्रिने दूध, तरकारी, फलफूल पनि रोकिएको छ।
तिनाउको अध्ययन गरेका इन्जिनियर खेटराज दाहाल पुलभन्दा तल्लो र माथिल्लो भागमा जथाभावी भइरहेको गिट्टीढुङ्गा उत्खननलाई पुल बग्नुको प्रमुख कारण मान्छन्। हुन पनि एक्जाभेटरले पुलको जगसम्मै खोतलेर ढुंगागिटी निकालेको थियो। २०३६ सालको बाढीले तिनाउको पक्की पुल बगाएको थियो। त्यो बेला पुल नजिकैका १५० घर रहेको 'दाउरे टोल' पूरै बगेको थियो।
डा. दाहालका अनुसार अहिले फेरि पक्की पुल भत्कन सक्ने जोखिममा छ। पूर्व–पश्चिम राजमार्गमा रहेको तिनाउ पुलका मुख्य खम्बाहरू जमीनको सतहभन्दा पाँच मिटरमाथि देखिएका छन्। दैनिक हजारौं सवारी साधन आवतजावत गर्ने पुलको सतहको संरचना पनि जीर्ण बनेको छ। समयमै मर्मत नगरिए पुल भत्कन वा बग्न सक्ने सम्भावना इन्जिनियरहरूले औंल्याउँदै आएका छन्।
--------------------------------------------------------------------------------------
तिलाठीको अग्रसरता
सप्तरी जिल्लाको तिलाठी गाविसवासीले बारम्बार आग्रह गरे, तर न भारतीयले सुने न त आफ्नो सरकारको संयन्त्रहरूले नै केही गरिदियो। वर्षैपिच्छे गाउँ डुब्दा उनीहरू टुलुटुलु हेरेर बस्न बाध्य थिए। “सबैतिरबाट हारेपछि बाध्यताको कदम चाल्यौं”, स्थानीय निरज झा भन्छन्, “वर्षौदेखिको भारतीय बदमासी र आफ्नै सरकारको निरीहताका बीच जीवन धानिरहेका हामीले १३ साउनमा भारतको एकतर्फी बाँध भत्काइदियौं।”
यो कदम उठाउँदा रगत बगाउनुपरेको छ। बाँध भत्काएको केहीबेरमै आएका भारतीयहरूले धावा बोले। यो संघर्षका दौरान एक दर्जन नेपाली घाइते भए। पूर्व जिविस सदस्य समेत रहेका तिलाठीका देवनारायण यादवको टाउकोमा १२ वटा टाँका लगाउनु पर्यो। सप्तरीसँग सीमा जोडिएको कुनौलीस्थित दशगजा क्षेत्रमा १२ साउनबाट बाँध बनाउन थालेका थिए। २०७१ भदौमा भारतले बनाएको यो बाँध ८ साउनको बाढीले बगाएको थियो। यो बाँधका कारण सप्तरीको रम्पुरा मल्हनियाँ, तिलाठी, लौनियाँलगायतका गाविसहरू जलमग्न हुँदै आएका थिए।
८ साउनमा बाँध भत्केपछि तत्काल नबनाउने दुई पक्षबीचको मौखिक सहमति भारतीय पक्षले तोडेको थियो। सप्तरीवासीले भारतीयहरूको बाँध बाँध्ने प्रयासविरुद्ध लड्दै आए पनि आफ्नै देशको प्रशासनले सहयोग गर्न सकिरहेको थिएन। “२०६४ सालमा पनि भारतीय सुरक्षाकर्मीहरूले निकै दुःख दिएका थिए” पूर्व जिविस सदस्य देवनारायण यादव भन्छन्, “त्यतिबेला जल उत्पन्न प्रकोप नियन्त्रण विभागको सहयोगमा यतापट्टि बाँध बनाउँदा भारतीय सुरक्षाकर्मी आएर बन्दूक देखाउँदै हाम्रा ओभरसियर र इन्जिनियरलाई समातेर लगेका थिए।”
२०७१ सालमा भारतीय पक्षले कुनौलीमा एकतर्फी बाँध बनाएपछि झडप हुँदै आएको यादव बताउँछन्। सप्तरीका प्रमुख जिल्ला अधिकारीदेखि काठमाडौंका मन्त्रीसम्मलाई गुहार माग्दा पनि सुनुवाइ नभएपछि जनता आफैं भारतीय बाँध भत्काउन बाध्य भएको उनले बताए। “खाँडो खोलाको बालुवाले दशगजाको सीमा स्तम्भ पुरेको पाँच वर्ष भइसक्यो”, यादव भन्छन्, “तर, त्यसमा पनि हाम्रा अधिकारीहरूको ध्यान छैन।”
तिलाठीवासीको 'कारबाही' पछि नेपाल र भारतका अधिकारी सम्मिलित बैठकले तत्काल यो बाँध नबनाउने सहमति भएको छ। १४ साउनको दिउँसो नेपाली भूमिमा भएको बैठकमा सप्तरीका प्रजिअ बलदेव गौतम, प्रहरी प्रमुख भीमप्रसाद ढकाल, भारतको सुपौल जिल्लाका डीएम वैजनाथप्रसाद यादव, एएसपी शैलेन्द्रकुमार सिन्हासहितको उपस्थितिमा यस्तो मौखिक सहमति भएको छ। सहायक प्रजिअ रामेश्वर अर्यालका अनुसार खाँडो नदीको बहाबलाई यसअघिकै दिशामा ल्याउने र बाँध बाँध्ने सम्बन्धमा दुवै देशको संयुक्त प्राविधिक टोली बनाउने सहमति भएको छ। “प्राविधिक टोलीले राय दिएपछि त्यस अनुसार काम अघि बढाउने सहमति भएको छ”, सहायक प्रजिअ अर्याल भन्छन्।
गत वर्षको पुसमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दशगजामा टहरा बनाउँदा मौवाहा गाविसका जनताको ठूलै समूह राजविराज आएर प्रजिअलाई जानकारी गराएका थिए। त्यसलगत्तै तत्कालीन प्रजिअ नारायणप्रसाद भट्टसहितको टोली गएर टहरा हटाउन लगाएको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद ढकाल बताउँछन्।
श्रवणकुमार देव, राजविराज
-----------------------------------------------------------------------------------------------------------------
'मनसुन आफ्नै चक्रमा'
ङमिन्द्र दाहाल, जलवायु विश्लेषक
हिमालय पर्वत र महासागरबीचको यो दक्षिण एशियाली क्षेत्र मनसुनका हिसाबले उत्तम क्षेत्र हो। राम्रो मनसुनी क्षेत्र भएकाले सानो क्षेत्रफलमा पनि यति धेरै जनसंख्या बसोबास गरेका छन्। यस्तो क्षेत्र विश्वमा अन्त छैन। यहाँका मान्छेको जीवनमा मनसुनले निकै ठूलो प्रभाव पारेको छ। तर, मनसुनको समयमा हुने बाढी, पहिरो जस्ता प्रकोप र त्यसको क्षति न्यूनीकरणमा पर्याप्त ध्यान नदिंदा वर्षेनि क्षति हुँदै पनि आएको छ।
यो क्षेत्रमा करीब चार महीना मनसुन रहन्छ। त्यसमध्ये ८०–९० दिनसम्म पानी पर्छ। मनसुनको यही चार महीनामा पर्ने पानी बाँकी ८ महीनाका लागि संचित हुन्छ। हिउँ, पोखरी वा भूमिगत भण्डारको रुपमा ८ महीनाका लागि स्रोत बनेर बस्छ। यसपालि पनि वर्षामा ठूलो परिवर्तन आएको छैन, अघिल्लो वर्षको तुलनामा जुन परिमाणमा पानी पर्दै आएको थियो, त्यस्तै नै पर्दैछ। तर, यसपालि समग्र दक्षिण एशियामै औसत भन्दा बढी पानी पर्ने पूर्वानुमान छ।
अहिले भइरहेको बाढी र पहिरोको प्रकोप त शुरुआत मात्रै हो। बाढी आउने खास समय त अगस्त महीना हो। जुलाईसम्म परेको पानी त सोस्सिइरहेको पनि हुन्छ। तर, यसपछि भने थोरै पानी परे पनि नसोसिने हुनाले बग्न थाल्छ। जमीन गलेको कारणले सानो धक्का मात्रले पनि पहिरो जानसक्छ। त्यसैले बाढी, पहिरोको अपेक्षा त अगस्त महीनाभर नै गर्नुपर्छ। जुलाई महीनामा पानी धेरै पर्ने गर्छ भने अगस्तमा बाढी र पहिरो धेरै जान्छ।
मनसुन सधैंकै प्राकृतिक चक्र अनुसार नै परिरहेको छ। यसको इतिहासबाट माथिल्लो क्षेत्रमा यति पानी पर्दा तल्लो क्षेत्रमा यत्रो बाढी आउँछ भन्ने थाहा पाइएको छ। त्यसैले माथिल्लो क्षेत्रमा परेको पानीको परिमाण नापेर सम्भावित बाढीबारे तल्लो क्षेत्रका बासिन्दालाई खबर गरिदिने प्रणाली (पूर्व सूचना प्रणाली) कति क्षेत्रमा शुरु पनि भइसकेको छ। मोबाइलको एसएमएसबाटै हुनसक्ने यस्तो सूचना प्रवाहलाई विस्तार गर्नु आवश्यक छ।
अर्को, आजसम्म बाढी, पहिरो कस्ता ठाउँमा आएका छन् भन्ने जानकारी छ, रेकर्ड छ। त्यसैले ती स्थानमा बसोबास गरेर जोखिम बढाउनु भएन। जस्तो–खोला किनारमा बसोबास गर्ने र खेती नै गर्ने हो भने पनि मनसुन बाहेकका ८ महीनामा गर्नुपर्यो। यो मनसुनको चार महीना खोलाकै लागि छोडिदिनुपर्यो। बाढीको क्षेत्र 'डिफाइन' छ। त्यो क्षेत्र उसकै लागि छोडिदिनुपर्छ। जनतालाई सुरक्षित क्षेत्रमा जाऊ भनेर मात्र पनि हुँदैन। कुन–कुन क्षेत्र सुरक्षित क्षेत्र हो, भन्ने पनि जानकारी दिनुपर्यो।