परिकथाका पात्र
सोनिस अवाल अहिले दुई वर्ष चार महिनाका भए । उनी अहिले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शिशु स्याहार केन्द्रमा जान थालेका छन् ।
ठिक दुईवर्षको यहीबेला अर्थात् १२ बैशाख २०७२ मा यिनै सोनिस आफ्नै घरले पुरिएका थिए । २२ घण्टासम्म हराइरहेका उनी जिउदै भेटिन्छन् भन्ने आशा कमैलाई थियो । तर, उनी जसै सकुशल भेटिए, यो खबर र तस्बिरले संसारभर चर्चा पायो । भूकम्पका बेला बामे पनि सर्न नसक्ने उनी अहिले दौडन्छन् ।
भूकम्प आउँदा ९ वर्षिया सोनिया (सोनिसकी दिदि) टीभी हेरिरहेकी थिइन् । आमा रश्मिला सोनिसलाई सुताएर नजिकैको पसलतिर लागिन् । उनी घरबाट निस्किएको मिनेट नबित्दै भूकम्प आयो । एकाएक जमिन हल्लिएर मानिसहरु चिच्याउन थालेपछि सोनिया पनि आत्तिइन । भाइलाई च्यापेर घरबाहिर निस्कने प्रयास गर्दागर्दै कोठाको दराज उनीमाथि बजारियो। । त्यसपछि के भयो, सोनियालाई थाहै भएन ।
क्षणभरमै घर भग्नावशेषमा परिणत भयो । लगत्तै नेपाली सेना र प्रहरीको टोली उद्धारमा खटियो । दुई घण्टापछि सोनिया सामान्य घाइते अवस्थामा फेला परिन् । तर सोनिसको पत्तो लागेन । धेरैले हरेश खाइसकेका थिए । तर, रुँदारुदै आँखा थाके पनि आमा रश्मिलालाई छोरो जीवितै भेटिन्छ भन्ने विश्वास थियो । बेलाबेला बच्चा रोएको आवाज सुनिएपछि सेनाले उद्धारको प्रयास जारिराख्यो । २२ घण्टापछि सोनिस सकुशल भेटिए ।
भूकम्पले घर ध्वस्त भएपछि अवाल परिवार भाडामा बस्न थालेको छ । पुरानो घर भएको जमिन पनि अहिले विस्तार हुँदै गरेको भक्तपुर–नगरकोट सडक खण्डभित्र परेकोे छ । लालपुर्जा नभएकोले अवाल परिवारले मुआब्जा पनि पाएको छैन । “भूकम्प पीडितले पाउने राहत पनि लालपुर्जा नभएकाले पाइएन”, रश्मिला भन्छिन् ।
सोनिस एकमहिनादेखि शिशु स्याहार केन्द्र जान थालेका छन् । खाना आफै खान सक्ने भएका छन् । रश्मीलालाई छोरालाई मटेश्वरीमा पढाउने मन थियो । तर, महँगो शुल्क धान्ने आँट गर्न सकिनन् । “साह्रै जिज्ञासु छ । केही नयाँ कुरा देख्यो भने हेरिरहन्छ”, उनी भन्छिन् ।
शिशु स्याहार केन्द्र पुग्दा सोनिस साथीहरुसँग खेलिरहेका थिए । केन्द्रकी पूर्णकेशरी धौबन्जराका अनुसार, सोनिस निकै चलाख छन् । खासै सुत्दैनन्, मान्छेसँग नजिकिन खोज्छन् ।
सोनिसका बुवा श्याम ट्रिपर चालक हुन् । रश्मिला भने घरमै सिलाईको काम गर्छिन् ।
भूकम्पपछि सोनिसले पाएको चर्चासँगै उनको परिवारलाई सहयोग गर्ने खोज्नेको पनि ताँती लाग्यो । “एकवर्षसम्म त देश तथा विदेशबाट नगददेखि खाद्यान्न तथा लत्ताकपडा आइरह्यो”, उनी भन्छिन् । सेनाको टोलीले सफल उद्धार गरिएका सोनिसलाई सेनाले स्नातकतहसम्म पढाउने जिम्मा लिएको छ । यसले पनि अवाल दम्पतिको चिन्ता केही कम गरेको छ ।
“सोनिसको नाममा परिवारलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु, गुन बिर्सेका छैनौं”, रश्मिला भन्छिन् ।