जगदम्बा–श्री र मदन पुरस्कार विजेता एकै थलोमा
जगदम्बा–श्री र मदन पुरस्कार विजेताहरुलाई मदन पुरस्कार गुठीले एकै थलोमा भेटघाट गराएको छ । ९ वैशाखमा मदन पुरस्कार गुठी, पाटनढोकामा आयोजित भेटघाट कार्यक्रममा पहिलो मदन पुरस्कार विजेता सत्यमोहन जोशी र चित्तरञ्जन नेपालीदेखि २०७२ का विजेता रामलाल जोशीसम्म सहभागी थिए ।
कार्यक्रममा बोल्दै २०१३ मा पहिलो मदन पुरस्कार प्राप्त सत्यमोहन जोशीले आफूले पाएको उपलब्धी मदन पुरस्कारकै देन भएको बताए । “मैले अहिलेसम्म जेजति अवसर पाए, ति सबै मदन पुरस्कारकै देन हुन” जोशीले भने । उनले २०१३ मा ‘हाम्रो लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाएका हुन ।
२०१३ मै मदन पुरस्कार प्राप्त चित्तरञ्जन नेपालीले मदन पुरस्कार गुठीसँग जोडिएर काम गर्दाको अनुभव सुनाएका थिए । उनले ‘जनरल भीमसेन थापा’ पुस्तकका लागि २०१३ मा मदन पुरस्कार पाएका थिए । करिब दशवर्ष मदन पुरस्कार छनोट समितिमा रहेर समेत काम गरेको बताउदै उनले भने, “पुरस्कार छनोट समितिले निष्पक्ष रुपमा पुरस्कार छनोट गर्दै आएको छ ।”
कार्यक्रममा बोल्दै २०७१ को मदन पुरस्कार विजेता विजयकुमार पाण्डेले मदन पुरस्कार गुठी नयाँ पुस्ताको नेतृत्वमा आएको उल्लेख गर्दै यसको गरिमा झन बढ्ने शुभेच्छा प्रकट गरे ।
मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितको १४ पुष, २०७३ मा निधन भएपछि गुठी अध्यक्ष बनेका कुन्दमणि दीक्षितले कार्यक्रममा स्वागत गरेका थिए । गत वर्ष गुठीले अभिभावक गुमाएको उल्लेख गर्दै अध्यक्ष दीक्षितले जगदम्बा–श्री र मदन पुरस्कार विजेताहरुको उपस्थितिले प्रेरणा मिलेको बताए ।
कार्यक्रम सञ्चालन गर्दै लेखक÷पत्रकार केदार शर्माले मदन पुरस्कार गुठीले गर्दै आइरहेका कामको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जगदम्बा–श्री र मदन पुरस्कार वितरण समारोहको इतिहास झल्किने २ मिनेटको भिडियो प्रदर्शन गरिएको थियो ।
भेटघाटमा मदन पुरस्कार विजेताहरु नित्यराज पाण्डेय (२०१६), मोदनाथ प्रश्रित (२०२३), ताना शर्मा (२०२६), विहारीकृष्ण श्रेष्ठ (२०२८), चूडामणि बन्धु (२०२८), मदनमणि दीक्षित (२०३९), कञ्चन पुडासैनी (२०४१), सरुभक्त (२०४८), दयाराम श्रेष्ठ (२०५३), बुद्धिनारायण श्रेष्ठ (२०५७), नारायण वाग्ले (२०६१), युवराज नयाँघरे (२०६५), अमर न्यौपाने (२०६८), राजन मुकारुङ (२०६९), राधा पौडेल (२०७०), विजयकुमार पाण्डे (२०७१), रामलला जोशी (२०७२) लगायतका स्रष्टाहरु सहभागि रहेका थिए ।
त्यस्तै जगदम्बा–श्री सम्मान प्राप्त भैरव रिसाल (२०६२), डा.तीर्थबहादुर श्रेष्ठ (२०६३), दुर्गालाल श्रेष्ठ (२०६७), रत्नशमशेर थापा (२०६९ लगायतको उपस्थिति रहेको थियो । पहिलो जगदम्बा–श्री सम्मान २०४५ मा नारायण गोपाललाई प्रदान गरिएको थियो ।