‘महिलाप्रतिको दृष्टिकोण फरक भएकोले चुनौती छ’ (भवानी राणासँग अन्तर्वार्ता)
भवानी राणा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष हुनुभयो, के कुराले त्यहाँ पुर्यायो ?
आर्थिक रुपमा महिला सक्षम हुनुपर्छ भन्ने शिक्षा मलाई आमाले दिनुभयो । आफैं केही गर्नुपर्छ भनेर उद्यमशीलतामा लागें । १८ जना पुरुष अध्यक्ष भएको महासंघको ५१ वर्षे इतिहासमा मैले १९औं अध्यक्षका रुपमा नेतृत्व सम्हालेकी छु । यो क्षेत्रमा लागेको २० वर्षभन्दा बढी भयो । शुरुमा सदस्यको रुपमा मनोनीत भएपनि कार्यकारिणी समितिमा निर्वाचन लडेर विजयी भएँ । उपाध्यक्ष पनि चुनाव लडेरै भएकी हुँ । वरिष्ठमा पराजित भएँ, तर पछि जिम्मेवारी आयोे । अध्यक्षसम्म आइपुग्न मैले थुप्रै चुनौतीसँगै अवसर पनि पाएँ ।
महिला भएकै नाताले काम गर्न गाह्रो हुन्छ कि सजिलो ?
महिलालाई हेर्ने दृष्टिकोण नै फरक भएकोले चुनौती बढी छ । तर, चुनौतीसँगै अवसरहरू पनि छन् । म महिला र पुरुष सँगसँगै हिंड्नुपर्छ भन्ने कुरामा विश्वास राख्छु । कार्यकारिणी सदस्यमा निर्वाचित हुँदा १४ जनामा म एक्लो महिला थिएँ । क्षमताकै कारण मलाई पत्याइएको हो । जति माथि पुगिन्छ त्यति नै चुनौती र प्रतिस्पर्धा पनि बढ्दो रहेछ । यो महिला हो भनेर चुनौती र प्रतिस्पर्धाले छोड्दैन ।
महासंघलाई अगाडि बढाउने योजना के–के छन् ?
म टीममा विश्वास राख्छु । मेरो टीममा फरक–फरक क्षेत्रबाट खारिएर आएका युवा साथीहरू हुनुहुन्छ । नीतिगत सुधार गर्ने, मुलुक संघीयतामा गइसकेकाले जिल्ला तथा प्रदेशका उद्योग वाणिज्य संघलाई सशक्त बनाउने, विकास र अनुसन्धानका कार्यक्रम चलाउने लगायतका योजनाहरू छन् । अहिलेसम्म कति उद्योग छन्, तिनको अवस्था र उत्पादन कस्तो छ भनेर अध्ययन भएको छैन । त्यो थाहा पाउन पनि यी कामहरू आवश्यक छन् । पब्लिक प्राइभेट पार्टनरसिपमा पूर्वाधारका योजनालाई अगाडि बढाउने सोच छ ।
महासंघका अहिलेका प्रमुख चुनौती के हुन् ?
मुलुकको अस्थिर राजनीतिले काम गर्न अप्ठेरो छ । अस्थिर सरकार भएका कारण श्रम र वैदेशिक लगानी सम्बन्धी कानूनहरू आउन सकेका छैनन् । नीतिगत सुधारका लागि स्थिर सरकार चाहिन्छ । लगानी मैत्री नीति नभएसम्म लगानीकर्ता आउँदैनन् । ब्यांक ब्याज, समयमै पूँजीगत खर्च हुन नसक्नुलगायतका समस्या पनि छन् ।
गुटबन्दीका कारण कमजोर बनेको महासंघ राष्ट्रिय परिदृश्यमा बेवास्ताको शिकार हुने गरेको छ । कसरी अगाडि बढाउनुहुन्छ ?
निर्वाचनपछि गुट–उपगुट हुनुहुँदैन र एकताकै लागि हामी सहमति गरेर अगाडि बढेको हो । निर्वाचनपछि पुराना कुरा बिर्सेर एकसाथ अघि बढ्छौं ।
पूर्ववर्तीहरूले हटाउन नसकेको गुटबन्दी तपाईं कसरी हटाउनुहुन्छ ?
मैले पाँचजना अध्यक्षसँग काम गरें, थुप्रै कुरा सिकें । पशुपति मुरारका र मैले पहिला एउटै प्यानलबाट चुनाव लडेका थियौं । वरिष्ठ उपाध्यक्षमा फरक प्यानलबाट चुनाव लड्यौँ । पछि उहाँ अध्यक्ष र म वरिष्ठ उपाध्यक्ष भएर सँगै काम ग¥यौं । गुट भनेको निर्वाचनका बेला हो । नयाँ कार्यसमितिमा एकजूट भएर अघि बढ्ने भन्ने संकल्प भइसकेको छ । कार्यकारिणी समिति एक भएपछि बाहिर गुटबन्दी भए पनि कुनै फरक पर्दैन ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानका कारण तपाईंले निर्वाचन लड्नु परेन, परेको भए ?
म पहिलादेखि नै निर्वाचित भएर आएकी हुँ । महासंघभित्रको राजनीति हटाउन वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने प्रावधान राख्यौँ । एउटा व्यक्ति वरिष्ठ उपाध्यक्ष हुँदासम्म एकदमै खारिएको हुन्छ । नेतृत्व लिने बेलामा महासंघभित्रको राजनीति र गुट–उपगुटका कारण बाहिरिनुपर्ने अवस्था हटाउन अध्यक्षमा चुनाव नहुने प्रावधान राखिएको हो ।
निर्वाचनमा एउटा पक्षको प्रचार गरेको आरोप तपाईंमाथि लाग्यो । पराजित टीमलाई कसरी मिलाउनु हुन्छ ?
सहमतिका लागि मैले प्रयास गरेकै हो । त्यो नभए पनि चुनावको बेलाका परिणाम आएसँगै मतभिन्नता अब सकियो । अब उहाँहरू महासंघभित्रका थुप्रै ठाउँमा काम गर्न सक्नुहुन्छ ।
व्यावसायिक काम र संस्थागत हितभन्दा ठूला व्यापारिक घरानाहरूको पक्षपोषण गर्ने र आफूनिकट दलको कारिन्दा बन्ने आरोप महासंघको नेतृत्वमाथी लाग्ने गरेको छ । यस्तो आरोप किन लाग्छ ?
हरेक नेतृत्वको आफ्नै चरित्र हुन्छ । कोही वार्तामा विश्वास गर्ने नरम त कोही कडा हुन्छन् । त्यस्तो आरोप लाग्ने अवस्था म देख्दिनँ ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा महासंघको उपस्थिति सरकारकै कारिन्दा जस्तो भएको आरोप पनि छ नि ?
हाम्रो सम्बन्ध राम्रै ढंगले अघि बढेको छ । सार्क च्याम्बरमा सुरज वैद्यले नेतृत्व गर्नुभएको छ । भारत, चीनलगायतका मुलुकका उद्योग वाणीज्य महासंघसँग हाम्रो राम्रो सम्बन्ध छ । बरु देश भित्रैको अस्थिर राजनीतिले समस्या पारिरहेको छ ।
प्रस्तुतिः मुकेश पोखरेल