विजयको वर्ष– २०७३, अघि बढाउने वर्ष– २०७४
महाभूकम्प, संविधानसभाबाट संविधान, संविधानको विरोधमा तराई–मधेशका केही हिस्सामा चलेको लम्बे विरोध र त्यसैको वहानामा भारतको अमानवीय नाकाबन्दी । संवत् २०७३ ले अघिल्लो सालबाट विरासत पाएको यही थियो ।
नयाँ संविधानले मुलुक अडिएको त थियो, तंग्रिएको थिएन । महीनौंको नाकाबन्दीले झुकाउन नसकेको नेपालीमा स्वावलम्बनप्रतिको आत्मबल भने अभूतपूर्व रूपमा बढेको थियो ।
२०७३ सालमा अघि बढ्न हामीसँग संविधानको टेको र त्यसको प्रतिरक्षामा देखिएको नेपाली स्वावलम्बन मात्र थियो, जो दूर क्षितिजकै सही, तर समृद्धिको डोर पक्रन सकिनेमा विश्वस्त थियो ।
यही विश्वासमा २०७२ लाई विदा गर्दै नयाँ वर्षको स्वागतमा २८ चैत २०७२ (त्यो वर्षको अन्तिम अंक) को सम्पादकीयमा हिमाल ले भन्यो– ‘समृद्धिको वर्ष २०७३ !’
यतिखेर नेपाल र नेपाली समाजलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्नेगरिका कार्यभारहरू पूरा गरेर २०७३ विदा भएको छ । र, हाम्रा अगाडि समृद्धिको फराकिलो बाटो लिएर उभिएको छ– २०७४ ।
२०७३ को शुरूमा दूर क्षितिजमा सम्भावनाका किरणहरू त देखिन्थे, तर तिनको आभा गोचर हुन सकिरहेको थिएन ।
सरकार र राजनीतिक दलहरूप्रति आशाभन्दा निराशा र आशंका ज्यादा थिए । तर, २०७४ को शुरूमै हामी आवाज घन्काएर भन्न सक्छौं– २०७३ मा हामीले त्यति चाहिं पक्कै गर्यौं, जति गर्दा यो लोकतान्त्रिक बहुलवादी समाजको पहिचान उर्ध्वगामी रहन सक्यो ।
समृद्धि आउनु ठूलो कुरो होइन, त्यसलाई कसरी ल्याइँदैछ भन्ने महत्वपूर्ण हो । हामीले समावेशी, न्यायपूर्ण लोकतान्त्रिक समृद्धिको बाटो पहिल्याएको हो, जसमा हामी छौं । संवत् २०७३ ले यो पुष्टि गरेर गएको छ ।
नेपालले अँध्याराका संवाहकमाथि चढाइँ गरेको २०७३ विजयको वर्ष हो । नेपालीलाई द्वन्द्वको चक्रव्यूहमा फसाएर आफू भाग्यविधाता बनिरहन चाहने शक्ति विरुद्धको विजय त हो नै यो, सँगसँगै हाम्रो आफ्नै अकर्मण्यता, अवसाद र भाग्यवादमाथिको विजय पनि हो ।
लोडशेडिङ हाम्रो समयको एउटा ‘सत्य’ नै बनिसकेको थियो । एउटा पुस्ता अँध्यारोमै हुर्किरहेको थियो । तर, त्यसलाई पूर्ण असत्य प्रमाणित मात्र गरेको नभई अब यो दोहोरिन्न भन्ने विश्वासको दियो पनि जगाएर गयो, २०७३ साल ।
त्यस्तै, भ्रष्टाचार नियन्त्रणका नाममा त्रास सिर्जना गरेर समानान्तर सरकार चलाउन उद्यत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको पतन पनि यही वर्ष भयो ।
विदेशीको आशीर्वाद र इशारामा मैमत्त बनेका कार्कीविरुद्ध संसद्मा दर्ता महाअभियोग र सर्वोच्च अदालतको फैसलाबाट ‘विधि मरेको छैन, मर्दैन’ भन्ने पुष्टि भयो ।
साथै, न्यायपालिका र व्यवस्थापिकालाई बल दिने क्रममा भएको खबरदारीले हाम्रो नागरिक आवाज राजनीतिक आन्दोलनका लागि मात्र नभई सुशासन बहालीका लागि पनि प्रखर रहेको पुष्टि गर्यो ।
त्यस्तै, डा. गोविन्द केसीको सत्याग्रहले निर्दिष्ट गरेको निमुखामुखी स्वास्थ्य नीतिलाई स्वास्थ्यमन्त्री गगन थापाले वास्तविकतामा परिणत गरिदिए ।
आफैं दीर्घरोगी बनेको स्वास्थ्य मन्त्रालयका लागि संजीवनी बनेका मन्त्री थापाले गरीब र असहाय बिरामीकेन्द्रित क्रान्तिकारी नीति–योजनाहरूलाई कार्यान्वयनको तहमा पुर्याइसकेका छन् ।
यसरी २०७३ ले साबित गर्यो– सही व्यक्तिको छनोटले घस्रिरहेको समाजलाई उभ्याउन सक्छ भनेर ।
२०७३ मा मुखर भएको नागरिक खबरदारी नै थियो, जसले नेपाली भाषालाई बिटुलो बनाउने दुष्प्रयासलाई पनि परास्त गर्यो ।
लगभग अँध्यारोमा शुरू भएको २०७३ सालको यात्रामा दीप जलाउनेहरू थुप्रै थिए, जसको एक–एक क्रियाशीलताले दुई दशकसम्म विस्तारित हिंसा र संक्रमणको चपेटामा रहेको समाजलाई दौडन सक्ने अवस्थामा पुर्यायो ।
भूकम्पपीडितका लागि होस् या महोत्तरीका निमुखा मुसहरहरूका निम्ति, सीताराम–कुञ्जना कट्टेल (धुर्मुस–सुन्तली) दम्पतीले सामुदायिक आवास बनाएर राज्यको सामुन्ने जनताले गर्न सक्ने कामको मानक स्थापना गरिदिए । अनि, मेलम्चीको पानी खाने राजधानीवासीको झण्डै तीन दशकको सपना विपना हुने अवस्था २०७३ मै देखियो ।
र, वर्षको अन्त्यमा स्थानीय तहको निर्वाचन घोषणाले जनतामा उत्साह सञ्चार गरेको छ । दुई दशकबाट जनप्रतिनिधिविहीन रहेको स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयन र संघीय अभ्यासतर्फको पहिलो कदम मात्र नभई सरकारलाई जनताको घरदैलोमा पुर्याउने ऐतिहासिक उपक्रम पनि हो ।
केन्द्रीकृत राज्यव्यवस्थामा जकडिएका जनताका लागि यो त्यस्तो द्वार हो, जहाँबाट उनीहरू स्वराजमा प्रवेश गर्नेछन् । त्यसरी सशक्त बनेका व्यक्ति/समुदायले विभेद, बेथिति विरुद्धका बाँकी लडाईं कुन प्रभावले लड्न सक्छ, कल्पना गर्न सकिन्छ ।
धेरै अर्थमा विजयको वर्ष बनेको संवत् २०७३ ले दिएको तत्कालको कार्यभार भनेको २०७४ भित्र संघीय संरचनाका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नु हो, जसको शुरूआत ३१ वैशाखमा तय भएबाट हुनेछ ।
यी चुनावहरूको सफल अभ्यासले स्थानीय तहदेखि केन्द्रसम्म नयाँ र योग्यतम नेता/जनप्रतिनिधिहरू पुर्याउनेछ, जसले संवत् २०७३ ले निर्दिष्ट गरेको समृद्धितर्फको यात्रालाई गतिमान बनाउनेछन् ।
सबैमा नयाँ वर्ष २०७४ को शुभकामना ।