नेपथ्यले रङ्गिन बनाएको साँझ
पोखरामा कन्सर्ट गर्दै नेपथ्यले रजत वर्ष मनाउन सुरु गरेको छ । ‘नेपथ्यको रजत वर्ष’ नाम दिएर सुरु भएको वर्षदिने कार्यक्रमअन्तरगत पहिलो कन्सर्ट पोखरामा गरिएको हो ।
२६ चैत साँझ पोखरा रङ्गशालामा आयोजित कन्सर्टमा दर्शकको उत्साहजनक उपस्थिति रह्यो । साँझ ७ बजे सुरु भएको कन्सर्ट मध्यरातसम्म चल्यो । नेपथ्यका संस्थापक मध्येका एक गायक अमृत गुरुङले लगातार तीन गीतपछि मात्रै दर्शकलाई सम्बोधन गरे ।
गाउँघरमा परम्परागत खबर भन्ने कटुवाल शैलीमा सम्बोधन गरेका गुरुङले नयाँ बर्ष २०७४ को शुभकामना दिएर पुरानो दिन सम्झिए । जतिबेला उनी पोखरा रङ्गशाला भएको मैदानमा दौडिने, उफ्रने र हिँड्ने गर्थे । २७ वर्ष अघि रचना गर्दाको दिन सम्झिदै उनले “आँगनै भरी हिउँ नै झरे...” गीत गाए ।
कला, साहित्यका पोखरेली स्रष्टाहरु सरुभक्त, तीर्थ श्रेष्ठ, दुर्गा बराल, प्रकट पंगेनीलगायतलाई सम्बोधन गर्दै उनले भने, “तपाईहरुले लेखिदिनुभएको छ र हामीले गाउँन पाएका छौँ ।”
द्वन्द्वको समयमा ‘शान्तिका लागि शिक्षा’ र ‘सुन्दर, शान्त नेपाल’ नारा दिएर गाउँदै आएको नेपथ्यले लोक–पप शैलीलाई आत्मसाथ गर्दै आएको छ । आगामी ३१ वैशाखमा हुने स्थानीय चुनावमा मतदान गर्न आह्वान गर्दै उनले भने “कुन पार्टी होइन, राम्रो र असल मान्छेलाई छानौं है ।”
‘गाउँ गाउँबाट उठ’ गाएर दर्शकलाई जोश भरेका गायक गुरुङले कवि तीर्थ श्रेष्ठको ‘आमा’ कवितालाई प्रस्तुत गरेर भावुक बनाए । ‘जोमसोमे बजारमा...’ गीत गाएपछि एक पटक जोमसोम पुग्न आग्रहसमेत गरे ।
डेढ दर्जन गीत गाउँदा सबै मिलेर बस्नुपर्ने सन्देश दिएका गुरुङले भने, “हामी २५ बर्ष बुढो भयौं, यात्रा लामो छ, गर्नुपर्ने धेरै छ, समय थोरै छ ।” कन्सर्टबाट जम्मा भएको रकम कास्कीकै सल्यान बाँसखर्क स्थित प्रावि र ल्वाङघलेल स्थित गौरीशंकर मणिलाल माविलाई सहयोग उपलब्ध गराउने जनाएको छ ।
-युवराज श्रेष्ठ, पोखरा