गुटबन्दी नयाँ चरणमा
चैत २०७३ मा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी शेखर गोल्छा समूहको उम्मेदवारी घोषणा सभामा वरिष्ठ उपाध्यक्ष भवानी राणाले नेतृत्व चयनका लागि चलिरहेको सहमतिको प्रयासमा सहयोग गर्न किशोर प्रधान समूहलाई आग्रह गरिन् । २८ चैतमा सुरु महासंघको ५१औं अधिवेशन तथा साधारणसभाबाट भएको छ । यो अधिवेशन तथा साधारणसभाबाट स्वतः अध्यक्षको जिम्मेवारी सम्हाल्न लागेकी राणाले गरेको त्यो आग्रहप्रति प्रधान समूहको अपेक्षाकृत प्रतिक्रिया आएन । बरु भोलिपल्टै प्रधानले पत्रकार सम्मेलन गरेर वर्तमान अध्यक्ष पशुपति मुरारका र वरिष्ठ उपाध्यक्ष राणाले एक समूहको प्रचार–प्रसारमा लागेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाए ।
दुई दिनको बीचमा भएका यी परिघटना महासंघको आगामी निर्वाचन र कार्यकाल कस्तो हुनेछ भन्ने बुझन काफी छन् । अध्यक्षमै हुने प्रतिस्पर्धाले सिंगो कार्यकालभर स्थायी प्रतिपक्ष खडा हुँदा त्यसले नेतृत्व र महासंघ दुवैलाई क्रमशः निष्प्रभावी बनाउँदै लगेको आकलनसहित गत कात्तिकमा सम्पन्न विशेष साधारणसभाबाट विधान परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष चयन हुने व्यवस्था गरिएको हो ।
तर, त्यसपछिको पहिलो निर्वाचनमै वरिष्ठ उपाध्यक्ष नेतृत्वमा प्यानलसहितको प्रतिस्पर्धाले विधानमा गरिएको संशोधनलाई निष्प्रभावी तुल्याइदिएको छ ।
गोल्छा समूहको उम्मेदवार घोषणा सभामा आगामी कार्यकालका अध्यक्ष राणा र वर्तमान अध्यक्ष मुरारकाको उपस्थितिलाई अर्को समूहले आफू विरुद्ध ठानेपछि गुटबन्दी झ्नै चर्कने आकलन बलियो बनेको छ । “स्वतः अध्यक्ष हुने व्यक्तिले एक समूहको प्रचारप्रसारमा लाग्नु गलत कुरा हो” महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्छन्, “उहाँले त सबैलाई मिलाएर लैजाने मध्यमार्गी उपाय खोज्नुपर्दथ्यो, यस्तो कार्यले महासंघमा झ्न् गुट उपगुटको सिर्जना गर्दछ ।”
महासंघ अध्यक्ष मुरारका निर्वाचनका प्रत्यासी एउटा समूहले आफूलाई गरेको निम्तो मान्न र शुभकामना दिन आफ्नो उपस्थिति सीमित रहेको बुझनुपर्ने बताउँछन् । उनी भन्छन्, “प्रधानजीहरूले बोलाएको भए म त्यहाँ पनि पुग्थें र शुभकामना दिन्थें । तर उहाँहरूले तिललाई पहाड बनाउनुभो ।” मुरारका अहिले पनि सर्वसम्मत नेतृत्व छनोटका लागि प्रयासरत रहेको दाबी गर्छन् । तर प्रधान समूह भने वर्तमान र भावी नेतृत्व एउटा समूहको उम्मेदवार घोषणामा उपस्थित मात्र नभई मतदातालाई धम्क्याउने काममा लागेको आरोप लगाएकाले सर्वसम्मतिको सम्भावना क्षीण हुँदै गएको देखिन्छ ।
प्रधान समूहले गोल्छा समूहको कार्यक्रममा मुरारका र राणाको उपस्थितिलाई नै चुनावी मुद्दा बनाएको छ । २३ चैतमा बत्तीसपुतलीको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रधानले निर्विवादित हुनुपर्ने व्यक्ति मुरारका र राणाले एक पक्षमा लागेर मतदातालाई धम्क्याउन थालेको आरोप लगाए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का संस्थापक अध्यक्ष प्रतीक प्रधान सबैको साझ भएर बस्नुपर्ने जिम्मेवारीमा रहेको व्यक्ति निर्वाचनको समयमा देखिने गरी कुनै पक्षमा लाग्दा त्यसले आउँदा दिनमा अप्ठेरो अवस्था सिर्जना गर्ने बताउँछन् ।
गुटबन्दीकै निरन्तरता
गत कात्तिकको विशेष साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधान संशोधन गरिए पनि नेतृत्व चयनसँगै महासंघभित्र स्थायी बन्दै गएको गुट–उपगुटको पुरानो श्रृंखलामा कुनै बदलाव नआउने देखिन्छ । सेजनका संस्थापक अध्यक्ष प्रधान पुरानै प्रवृत्ति दोहोरिएको भन्दा पनि चुनावी संस्कृति परिवर्तन नभएको बताउँछन् । “कल्चर परिवर्तन नभएको हो” उनी भन्छन्, “प्रतिस्पर्धा स्वस्थ हुँदासम्म त नराम्रो हुँदैन ।”
तर, महासंघका पूर्व अध्यक्ष मुल्मी गुट उपगुटको अन्त्य र महासंघभित्र पदीय लडाइँका लागि हुने राजनीतिलाई अन्त्य गर्न गरिएको विधान संशोधनको औचित्य समाप्त भएको बताउँछन् । “राणाले विधानको मर्म बुझन सक्नु भएन” उनी भन्छन्, “उहाँले रुचाएको पक्षले नजितेर अर्को पक्षले जिते उहाँलाई काम गर्न गाह्रो हुन्छ ।”
हुन पनि, एउटा पक्षको प्रचार–प्रसारमा भावी अध्यक्ष राणा लागेको भन्ने आरोप सत्य सावित हुँदा र उनले सदासयता राखेको पक्ष पराजित हुँदा उनको कार्यकाल सहज नहुन सक्छ । यद्यपि उनको नेतृत्व क्षमता हेर्न बाँकी नै छ । लामो समयसम्म महासंघमा काम गरेका कुलप्रसाद पाण्डे यस्तो अवस्थामा नेतृत्वको क्षमतामाथि सबै कुरा निर्भर रहने बताउँछन् । जस्तो कि, यसअघि कुशकुमार जोशी एउटा प्यानलका थिए भने बहुमत पदाधिकारी र सदस्य अर्को प्यानलका । तर, जोशीले सबै पक्षलाई मिलाएर लैजान सक्दा असहयोगको अवस्था सामना गर्नुपरेन ।
५०औं अधिवेशनबाट निर्वाचित प्रदीपजंग पाण्डेको हकमा भने ठ्याक्कै उल्टो भयो । पाण्डे र वरिष्ठ उपाध्यक्ष मुरारका फरक–फरक प्यानलबाट निर्वाचित भएका थिए । पाण्डेले समुचित नेतृत्व प्रदान गर्न नसक्दा महासंघभित्र शुरूदेखि असहयोगको सामना गर्नुपर्यो । महासंघमा एकले अर्कोलाई असहयोग गर्ने परम्परा नयाँ होइन । सुरज वैद्य अध्यक्ष हुँदा पनि चण्डिराज ढकालको समूहले असहयोग गरेको थियो । अध्यक्षमा प्रतिस्पर्धा हुँदा देखापरेका यिनै दृष्टान्तलाई आधार मानेर वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष हुने गरी विधान संशोधन गरिएको थियो– महासंघलाई गुटविहीन र सामूहिक नेतृत्वमा सञ्चालन गर्न ।
हरेक निर्वाचनमा दुवै पक्ष छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लड्ने अभ्यास विगतदेखि चल्दै आएको छ । सहमति र सहकार्यको जति कुरा गरिए पनि निर्वाचनमा विजयी हुने समूहले पराजित हुने समूहलाई समेट्न नसक्दा विद्रोह गरेर बाहिरिने र निष्क्रिय हुने तथा एकले अर्कोलाई खुइल्याउने काम महासंघमा हुँदै आएका छन् । विनोद चौधरीको नेतृत्वमा नेपाल उद्योग परिसंघ खुल्नु र प्रदीपजंग पाण्डे भ्रष्टाचारको मुद्दामा जेल पुग्नु महासंघभित्रका चुनावी परिणाम र व्यक्तिगत टकरावकै देन मानिन्छ ।
चुनावी खेल
महासंघको चुनावी केन्द्रमा रहेका यी दुवै उम्मेदवारले चुनावलक्षित आफ्ना अजेण्डाहरू अगाडि सारेका छन् । वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी गोल्छा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको समन्वयमा जिल्ला नगर उद्योग वाणिज्य संघहरूमा क्षमता अभिवृद्धि गर्ने कार्यक्रम लैजाने बताउँछन् । वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधान मझैला तथा साना उद्योगीको प्रतिनिधित्व गरेर काम गर्ने बताउँछन् ।
महासंघको यो निर्वाचनमा शेखर गोल्छा पक्ष प्रचार–प्रसारमा अगाडि देखिन्छ । देशकै ठूलो औद्योगिक घरानाका महत्वपूर्ण सदस्यसँगै स्पष्टवक्ता र शालीन व्यक्तित्वले गोल्छाको पक्षमा मतदाताहरू आकर्षित छन् । उनको व्यावसायिक क्रियाशीलता बुझेकाहरू गोल्छाको नेतृत्वले महासंघलाई विनोद चौधरी र पद्म ज्योती नेतृत्वको स्वर्णिमकालमा फर्काउनेसम्मको विश्वास राख्छन् । हाल कुनै पनि पक्षमा नखुलेका एक व्यवसायीको भनाइमा गोल्छाले महासंघलाई चौधरी र ज्योती नेतृत्वताकाको उँचाइमा पुर्याउनेसँगै चौधरी र ज्योतीबीचको टकरावबाटै शुरू भएको गुटबन्दीलाई पनि अन्त्य गर्ने विश्वास गर्न सकिन्छ ।
व्यावसायिक वृत्तमा ‘आर्क राइभल’ औद्योगिक घरानाका रूपमा चिनिने भए पनि आसन्न चुनावमा चौधरीको समर्थन गोल्छाप्रति नै रहेको ती व्यवसायीको दाबी छ । त्यस्तै महासंघका मतदाताबीच बलियो पकड भएको मानिएका पूर्व अध्यक्ष चण्डिराज ढकालको साथले पनि गोल्छालाई नेतृत्वको बलियो दाबेदार मान्न कर लागेको ती व्यवसायी बताउँछन् । यद्यपि पूर्व अध्यक्ष ढकालको अति ‘एरोगेन्ट’ स्वभाव भने स्वयं गोल्छाको शालीन व्यक्तित्वको अगाडि आफ्नै भित्रको प्रतिद्वन्द्वी बन्न पुगेको टिप्पणी पनि महासंघ वृत्तमा व्याप्त छ ।
त्यसबाहेक चुनावको एउटा पक्षका रूपमा गोल्छाको समूह जसरी विकसित हुनपुग्यो, त्यसले पनि यो समूहको ‘स्ट्रेन्थ’ देखाउँछ । जस्तो कि, यो समूहको ‘कन्सोलिडेशन’ को लागि ज्ञानेन्द्रलाल प्रधानले केही अघिसम्म दाबी गर्दै आएको एसोसिएटतर्फको उपाध्यक्ष त्यागेर कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । जसले सो पदमा आकांक्षा राखेका चन्द्र ढकाललाई आफ्नो समूहमा भित्र्याउन गोल्छालाई सहज भएको थियो । एसोसिएटतर्फको ठूलो मतमा ढकालको होल्ड रहेकै कारण प्रधान समूहले कुनै उम्मेदवारी दिएन र उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।
लामो समयदेखि महासंघका विभिन्न पदमा रहँदै आएका किशोर प्रधान व्यवसायीहरूको राजनीति भित्रका पुराना खेलाडी मानिन्छन् । विनोद चौधरी र पद्म ज्योतीबीचको अध्यक्षको प्रतिस्पर्धायता सार्वजनिक चर्चामा आएको महासंघभित्रको ‘विद्रोही पक्ष र स्थायी सत्ता’ मध्ये स्थायी सत्ता मानिने व्यवसायीहरूको साथ र समर्थन प्रधानसँग रहेको देखिन्छ । पञ्चायतकालमै दरबारसँग नजिक र उसको विश्वासप्राप्त व्यवसायीहरूको साथ समर्थन बेगर महासंघको नेतृत्वमा पुग्ने त के चिताउन पनि नसकिने कारण यस्तो समूहलाई स्थायी सत्ताको संज्ञा दिने गरिएको थियो ।
२०४६ को परिवर्तनपश्चात् पनि केही हदसम्म जातीय रूपमा हावी रहेको स्थायी सत्ताको हस्तक्षेप पछिल्लो समय भने कमजोर हुँदै गएको छ । विशेषगरी महासंघबाट भएको उद्योगपति विनोद चौधरीको विद्रोह, नेपाल उद्योग परिसंघको स्थापना, गुटबन्दीका कारण महासंघ क्रमशः अक्षम नेतृत्वको शिकार बन्दै गएको परिवेश र समाजका अन्य क्षेत्रझैं उद्योग र व्यापारमा समेत प्रभावी बनेको दलीय राजनीतिले स्थायी सत्ता भनिने त्यो शक्तिलाई क्षीण बनाएको छ । यसको प्रमाण निर्वाचनका प्रत्यासी दुवै पक्षमा पूर्व अध्यक्षहरू खुल्दै जानु पनि हो ।