सेवा र अभिनय सँगसँगै
पूर्व गोर्खा सैनिकको परिवारले आवासीय सुविधा पाउने भएपछि २०६३ सालमा धनबहादुर मगरको परिवार धरानबाट बेलायत बसाइँ सर्यो। त्यतिबेला मिरुना कक्षा ८ मा पढ्दैथिइन्।
पढाइसँगै नृत्यमा रुचि भएकी उनी लण्डनमा तेक्वान्दो र बास्केटबलको खेलाडी बनिन्। बेलायतमा बस्ने नेपाली युवाको संस्था 'हेल्पिङ यू' मा संलग्न भएर वृद्धवृद्धाको सेवामा लागिन्। उतै रमाइन्।
तर, तीन वर्षअघि विश्वविद्यालयको टोली लिएर तीन महीनाका लागि देश फर्केकी मिरुनाले बल्ल पो नेपाल चिनिन्। अभाव, बेथितिसँगै प्राकृतिक सौन्दर्य र सम्भावनाले उनलाई यतै बसूँबसूँ लाग्यो।
बेलायत फर्किएपछि च्यारिटी शो गर्दै नेपालका विभिन्न परियोजनाका लागि सहयोग जुटाउन थालेकी उनी २०७२ को भूकम्पपछि पनि राहत लिएर सिन्धुपाल्चोक, दोलखा र धादिङका गाउँ–गाउँ पुगिन्। “ग्र्याजुएसन सकिएपछि यहीं कुनै संस्थामा स्वयंसेवक भएर काम गर्छु भनी निवेदन पनि दिएँ, तर भनेजस्तो भएन”, मिरुना भन्छिन्।
बालखैमा धरानमा आयोजित 'किड क्वीन' प्रतियोगिताकी विजेता उनी स्वयंसेवक भएर काम गर्ने संस्था खोजिरहेका बेला अनुप बरालको एक्टर्स स्टुडियोमा पुगिन्। अभिनयको प्रशिक्षण लिन थालिन्। 'कथादेश ३' नाटकमा पनि खेलिन्।
नाटकका एक दर्शक थिए, चलचित्र निर्देशक निगम श्रेष्ठ। श्रेष्ठले मिरुनालाई चलचित्र लालपुर्जा मा अनुबन्धित गरे। 'डेब्यू' मै मिरुनाले सौगात मल्लसँग काम गर्ने मौका पाइन्।
वैशाख २०७४ मा रिलिज हुने तयारी भइरहेको लालपुर्जा सँगै मिरुना फेरि श्रेष्ठकै अर्को चलचित्र लाहुरे को तयारीमा छिन्। सँगै; सुनिल पोखरेलसँग नाटक प्रशिक्षण लिइरहेकी छन्।
मिरुनाको अभिनय यात्रा आकस्मिक भने होइन्। २०४० को दशकमा रंगकर्ममा ख्याति कमाएकी शशि थापा सुब्बाकी छोरी हुनुको नाताले पनि उनी विस्तारै रंगकर्मको सान्निध्यमा तानिएकी हुन्।
“आमाको प्रभाव नपरेको त हुँदै होइन, तर अभिनयमै लाग्छु भन्ने योजना भने थिएन”, बेलायतबाटै आउने–जाने गरिरहेकी मिरुना भन्छिन्, “आमाको सल्लाहले भने सजिलो अनुभव भइरहेको छ।”
-बच्चु बिक