स्पाइनल इञ्जुरी पीडितलाई आत्मनिर्भर बनाउँदै पुनर्स्थापना केन्द्र
स्पाइनल इन्जुरीका पीडितहरुलाई काभ्रेको भैंसेपाटीस्थित पुनर्स्थापना केन्द्रले आत्मनिर्भर बनाउँदैछ ।
२०६१ सालको दशैंमा पिङ खेल्दाखेल्दै लडेर सिन्धुली काउछेकी सोनिका ढकालको ढाडमा चोट लाग्यो । सिकिस्त बनेकी उनलाई परिवारले त्यसैदिन जनकपुर अञ्चल अस्पतालमा भर्ना गरे । दुई दिनपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइयो ।
टिचिङमा ढाड र नसाको उपचार त भयो तर, उनी कसैको सहायता बिना जीवनभर हिडडुल गर्न नसक्ने भइन् ।
साढे दुई महिनाको टिचिङ अस्पतालको बसाइपछि सोनिकाले स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रबाट फिजियोथेरापी, परामर्श र पुनस्र्थापना सेवा लिइन् । पाँच महिनासम्म केन्द्रमा रहँदा उनलाई आफैं खाना बनाउने, ब्रस गर्ने जस्ता दैनिक व्यवहारका तालीम पनि दिइयो । अहिले उनै सोनिका केन्द्रमा मानव संसाधन संयोजकको रुपमा काम गर्छिन् ।
अशक्त भएर ह्विल चेयरमा हिडडुल गर्ने स्पाइनल इन्जुरीबाट पीडितहरुले पनि आफ्ना दैनिक व्यवहारदेखि नेतृत्व लिनेसम्मका काम गर्न सक्छन् भनेर विश्वास दिलाउन आफ्नो भूमिकाले सहयोग गर्ने सोनिकाकोे विश्वास छ ।
“दुर्घटनामा परेपछि मानिसहरु जीवन नै सकियो जस्तोे सोच्छन्,” सोनिका भन्छिन् “तर, म आफैँ पीडित भएर पनि धेरै काम अरुको सहयोग बिनानै गर्न सकिन्छ भनेर आशा दिलाउने प्रयास गरिरहेकी छु ।”
स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र अहिले उनका लागि दोस्रो घर बनेको छ ।
दुर्घटनामा परेर अपाङ्ग भएका धेरैलाई आफ्नो दैनिक काम आफै गर्ने क्षमता कसरी हासिल गर्ने भन्ने थाहा नहुने भएकाले त्यस्ता व्यक्तिले पुनर्स्थापना सेवा लिनुपर्ने उनको सुझाव छ । “केन्द्रले हामी जस्ता धेरैलाई नयाँ जन्म दियो, अहिले धेरै काम गर्न सकिन्छ भन्ने लाग्छ,” उनले भनिन् ।
ढकाल जस्तै दुर्घटनामा परेर केन्द्रमार्फत पुनस्र्थापना सेवा लिइरहेका अर्का बिरामी हुन्, सिन्धुपाल्चोक मेलम्चीका महेसप्रसाद चौलागार्इँ । ६ चैत २०७१ मा उनी चढेको बस दुर्घटनामा परेपछि उनको मेरुदण्डमा चोट लाग्यो ।
काठमाडौं मेडिकल कलेज(केएमसी) मा ढाडको शल्यक्रिया गराएका उनी स्पाइनल इन्जुरीका कारण अहिले कसैको सहायता बिना हिडडुल गर्न सक्दैनन् । केएमसीको उपचारपछि उनले पनि फिजियोथेरापी र पुनर्स्थापना सेवा स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रमार्फत लिए ।
आफूले गर्ने दैनिक क्रियाकलाप बाहेक चौलागाईँले केन्द्रमार्फत स्वरोजगारको तालीम लिए ।
अहिले केन्द्रमार्फत ढकाल र चौलागार्ईँ जस्तै स्पाईनल इन्जुरीका ५९ बिरामीले पुनर्स्थापना, थेरापी र उपचार सेवा लिइरहेका छन् ।
सन् २०१६ मा मात्रै केन्द्रबाट २४५ विरामीले सेवा लिएका थिए ।
केन्द्रको १५ औैँ वार्षिकोत्सका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले चितवनको भरतपुरमा पनि स्पाइनल इन्जुरी सेन्टर स्थापना भइसकेको जानकारी दिए ।
भूकम्पका बेला तयारी बिनै केन्द्रले थप १४५ बिरामीलाई उपचार तथा पुनर्स्थापना सेवा दिएको थियो । स्थापनाको १५ वर्षमा कुल १९५० विरामीलाई केन्द्रेले उपचार सुविधा दिइसकेको छ ।