समर लभकी रेवती
पाँच फिट आठ इन्च उँचाइ, प्रतिभा र बलिउडको आमअनुहारबाट फरक सौन्दर्यका कारण रेवती क्षेत्रीलाई मोडलिङ क्षेत्र रोज्न धेरैले सल्लाह दिने गर्थे। तर, स्नातक सिध्याउनुअघिसम्म उनले कसैले भनेको सुनिनन्। जब बुवाआमाले पनि 'आफैं बुझ्ने भयौ, जे गरे पनि होश पुर्याएर गर्नू' भने, बल्ल उनको पखेटा फिंजियो।
सन् २०१५ को फेमिना मिस इण्डिया छनोटमा कोलकाताबाट 'उत्कृष्ट पाँच' मा छानिएकी उत्तरपूर्वी राज्य आसामकी रेवती अन्ततः 'टप टेन' मा पुग्न सफल भइन्।
मिस पपुलर र मिस मल्टिमिडिया उपाधिको हकदार बनिन्। यो आत्मविश्वासले उनलाई चीनको बेइजिङमा भएको वर्ल्ड मिस युनिभर्सिटी २०१६ मा मिस एशिया उपाधि पनि दिलायो।
यसबीचमा उनी सिनोरिटा इण्डिया २०१६ बनिन्। अन्य राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा आसाम र भारतको प्रतिनिधित्व पनि गरिन्। मोडलिङसँगै म्युजिक भिडियो, विज्ञापन र फिल्ममा समेत देखिन थालेकी २३ वर्षीया रेवती तीन महीनायता बलिउडमा भाग्य खोज्न मुम्बई बसाइँ सरेकी छन्। सँगै चिनियाँ मन्डारिन भाषा पनि सिक्दैछिन्।
उनै रेवती वैशाखदेखि छायांकन थालिने भनिएको नेपाली चलचित्र 'समर लभ' को नायिकाका रुपमा देखिने भएकी छन्। सुविन भट्टराई लिखित उपन्यास समर लभ मा आधारित चलचित्रको निर्देशन मुस्कान ढकालले गर्दैछन्।
आसाम स्टेट इलेक्ट्रिसिटी बोर्डका कर्मचारी बलराम र विना क्षेत्रीकी छोरी रेवतीको नेपालीसँग मावलीको नाता छ। आसामको ब्यांकबाट सेवानिवृत्त भएपछि रेवतीका हजुरबुवाको मन परदेशमा अडिएन, थातथलो खोज्दै मोरङको उर्लाबारी आइपुगे।
रेवतीको मावलीघरको यात्रा त्यहींदेखि शुरु भएको हो। त्यसो त गत वर्ष सोल्टी होटलको क्यासिनोको विज्ञापनका लागि पनि उनी नेपाल आएकी थिइन्।
नेपाली चलचित्र खेल्ने कुराले आफूभन्दा बढी आमा खुशी भएको उनलाई सम्झना छ। “आमाले मेरो माइती देशको इज्जत राखेर काम गर्नु भन्नुभएको छ”, चलचित्र निर्माण घोषणाका क्रममा गत साता काठमाडौं आएकी रेवतीले हिमाल सँग भनिन्, “मेरो पनि मावली देश हो भन्ने कुरा बिर्सेकी छैन।”