स्थानीय निर्वाचन: मोर्चाको बाहिर विरोध भित्र तयारी
विरोधका केही स्वर सुनिए पनि मधेशका बासिन्दा आफ्ना जनप्रतिनिधि चुन्न आतुर छन्।
दीपक ज्ञवाली, बुटवल
मधेशकेन्द्रित राजनीतिको प्रसंगमा चर्चामा आइरहने मध्येको ठाउँ हो– रूपन्देहीको मर्चवार। पहिले १६ गाविस पर्ने मर्चवार क्षेत्र स्थानीय तहको पुनर्संरचनापछि तीन गाउँपालिकामा विभाजित भएको छ।
तीनमध्ये एक हो, मर्चवारी गाउँपालिका, जहाँ तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का राजकुमार सिंह र जानकीप्रसाद चौधरी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको टिकट पक्का गर्न नेतृत्व रिझाउन थालेका छन्।
बाहिरबाहिर पार्टीले निर्वाचनको विरोध गरिरहेको उनीहरूलाई थाहा नभएको होइन, तर निर्वाचनकै 'पल्ला भारी' रहेकोमा उनीहरू विश्वस्त छन्।
अन्य मधेशकेन्द्रित दलको मनोविज्ञान पनि फरक छैन। संघीय समाजवादी फोरमबाट केशव कान्दू पनि उम्मेदवारीको तयारी गरिरहेका छन्। नेपाली कांग्रेसबाट ज्ञानप्रसाद मिश्र, मुकेश यादव र गयाप्रसाद बरई, नेकपा (एमाले) बाट कमलेश यादवलगायत उम्मेदवार बन्न आतुर देखिन्छन्।
कोटहीमाई गाउँपालिकामा फोरमबाट बलराम यादव र भूषण यादव अध्यक्षका इच्छुक छन्। यो गाउँपालिकामा कांग्रेसबाट वीरेन्द्र जैसवाल तथा रामअवध यादवले आ–आफ्नो उम्मेदवारी दाबी गरिरहेका र पार्टीको माथिल्लो तहसम्म कुरा पुर्याइरहेका छन्।
एमालेबाट विन्ध्याञ्चल यादव, नेकपा (माओवादी केन्द्र) बाट लालमन यादव, बहुजन समाजवादी पार्टीबाट रामकेश पासवान पनि टिकटको दौडधूपमा छन्। तमलोपाका धिब्बल मिश्र र बालकिसुन तिवारीको आन्तरिक तयारी पनि उस्तै छ।
समरी गाउँपालिकामा पनि उम्मेदवारीको चर्चा कम छैन। तमलोपाबाट अशोककुमार शुक्ल र प्रभात शुक्ल, फोरमबाट कमलापति यादव, कांग्रेसबाट विनोद श्रीवास्तव, निरञ्जन पाठक र राजकुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट साहबुद्दिन मुसलमानलगायत अध्यक्षमा चुनाव लड्ने दाबी गरिरहेका छन्। उनीहरूमध्ये कतिपय आफ्नो पार्टीबाट टिकट नपाए अर्कै पार्टीबाट वा स्वतन्त्र हैसियतमै भए पनि चुनाव लड्ने मनस्थितिमा छन्।
मर्चवारको यो दृश्यले रूपन्देही, कपिलवस्तु, नवलपरासीलगायत जिल्लाका तराई मधेशका गाउँहरूको अवस्था चित्रण गर्दछ। पार्टीका स्थानीय तहका नेता, कार्यकर्ता निर्वाचनमा होमिन र मतदाता जनप्रतिनिधि चुन्न आतुर छन्।
“जनता मतदानको अवसर सदुपयोग गर्न र आफ्ना जनप्रतिनिधि आफैं चुन्न चाहन्छन्”, समरीका राजकुमार यादव भन्छन्। मधेश मानवअधिकार गृह (माहुरी होम) का अधिकृत रामविकास चौधरी मधेशका गाउँहरूमा निर्वाचनको पारो चढिरहेको बताउँछन्।
“सबै पार्टीका नेता, कार्यकर्ता र जनता निर्वाचनप्रति आतुर छन्” चौधरी भन्छन्, “तर, मधेशका माग चाँडै सम्बोधन भए सजिलो हुने उनीहरूको आशा छ।”
त्यसो त निर्वाचनबारे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अडान पछ्याउँदै मोर्चा कार्यकर्ताहरूले रूपन्देहीका रोहिणी, मर्चवारीमाई लगायत चार गाउँपालिकामा तमलोपाको अगुवाइमा तालाबन्दीसमेत गरिएको छ।
निर्वाचनको विरोध गरिरहेका सबै पार्टी निर्वाचनको तयारीमा जुटिरहेको अर्को प्रमाण हो, जिल्ला निर्वाचन कार्यालयमा उनीहरूको दल दर्ता। रूपन्देहीमा संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, फोरम लोकतान्त्रिक, राष्ट्रिय मधेश समाजवादी पार्टी, सद्भावना पार्टी, फोरम गणतान्त्रिक, बहुजन समाजवादी पार्टी, बहुजन शक्ति पार्टीलगायतले दल दर्ता गरेका छन्।
“जिल्लामा निर्वाचनको माहोल राम्रो बनिरहेको छ। जनता उत्साही छन्”, रूपन्देहीका जिल्ला निर्वाचन अधिकारी हुमनाथ पौडेल भन्छन्। कपिलवस्तुका जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरे जिल्लामा निर्वाचनको माहोल बनिरहेको बताउँछन्। “स्थानीयवासीमा चुनाव लागेको छ”, उनी भन्छन्।
नवलपरासीमा दर्ता भएका ३२ मध्ये १५ मधेशकेन्द्रित दल छन्। जिल्लाका रामग्राम, त्रिवेणी, पाल्हीनन्दनपुरलगायतका दक्षिणी भाग तुलनात्मक रूपमा समस्याग्रस्त ठानिएको छ। “तर, तिनै गाउँहरूमा पनि चुनावको वातावरण बनिरहेको छ”, नवलपरासीका निर्वाचन अधिकारी अयोध्या भण्डारी भन्छन्।