निर्वाचनले नयाँ मतदाता उत्साहित
किताबमा पढेका जनप्रतिनिधिलाई पहिलो पटक चुन्न र देख्न पाउने अवसरबाट नयाँ मतदाता हौसिएका छन्।
गोपाल गडतौला, झापा
झापा, शिवसतासी नगरपालिका–६ की प्रतिभा खरेल (१९) दुई वर्षअघि प्रतिभा बाल क्लबको अध्यक्ष चुनिइन्। त्यसपछि, उनको एउटा प्रमुख काम भनेकै नगरपालिका धाउनु हुनपुग्यो। बालबालिकाको हितका लागि वार्षिक रु.५० हजार छुट्याउन लगाउने उनीसँगै अन्य बालबालिकाले असाध्यै झन्झट बेहोर्नुपर्यो।
“आफ्नै वडाध्यक्ष हुन्थे भने सानो कुराका लागि यति दुःख भोग्नु पर्दैनथ्यो होला”, स्नातक पहिलो वर्षकी विद्यार्थी प्रतिभा भन्छिन्। आउँदो ३१ वैशाखमा पहिलो पटक स्थानीय तहको निर्वाचनमा मतदान गर्ने उनको इच्छा राजनीति गर्ने छ। देशको राजनीति बिग्रिएकै कारण दुःख गरेर पढेलेखेको मान्छे छाक टार्न परदेशिनु परेको उनको ठहर छ।
प्रतिभाका छिमेकी सुशील भट्टराई (२०) का बुवा रोजगारीका लागि कतार गएको १४ वर्ष पुग्यो। स्नातक अध्ययनरत सुशीलले बुवासँग दशैं नमनाएको पनि धेरै भयो। त्यसैले पनि उनी स्थानीय निर्वाचनमा मत हाल्न चाहन्छन्।
“हाम्रो भोटले सही मान्छे चुनिएर गाउँघरमै केही रोजगारी पाइएला भन्ने आशा छ” उनी भन्छन्, “उद्योग खुलिदिउन्, क्षमता अनुसार काम पाउन सोर्सफोर्स लगाउनु नपरोस्, यत्ति भए पुग्छ।”
मुलुकमा स्थानीय निकायको निर्वाचन नभएको १९ वर्ष भइसकेको छ। यसबीचमा राजाको प्रत्यक्ष शासन, माओवादीको सशस्त्र विद्रोहको अन्त्य, गणतन्त्र स्थापना जस्ता उल्लेखनीय राजनीतिक परिवर्तन भइसकेका छन्। र, सँगसँगै एउटा नयाँ पुस्ता आफ्नो भविष्य कोर्न संघर्ष गर्न थालेको छ। यो पुस्ताका लागि स्थानीय तहको निर्वाचन कौतुहल र उत्साहले भरिएको छ।
तोपगाछी–१ स्थित शहीद धर्मभक्त उच्च माविमा कक्षा १२ मा पढिरहेकी सृजना राई (२१) पनि यो वैशाखमा पहिलो पटक मतदान गर्दैछिन्। पुर्ख्यौली घर धनकुटा भएकी उनी भन्छिन्, “चुनावमा पहाड र मधेश फुटाउने कुरा गर्नेलाई भोट हाल्नुहुन्न।”
सोही कक्षाका पवन लामिछाने (१८) को पनि मतदाता सूचीमा नाम छ। “किताबमा जनप्रतिनिधि जनताप्रति जवाफदेही हुने लेखिएको छ” उनी भन्छन्, “अब त्यस्ता जनप्रतिनिधि हेर्ने मन छ।”
तोपगाछीस्थित एक निजी तथा आवासीय विद्यालयकी सुरक्षा गार्ड सपना माझी (२२) लाई स्थानीय तहको निर्वाचनपछि आदिवासी, महिला र जनजातिले थप अधिकार पाउँछन् भन्ने लागेको छ।
कमजोर आर्थिक अवस्थाका कारण उच्चशिक्षा भन्दा माथि पढ्न नसकेको उनी 'पढेर ठूलो ओहोदामा पुग्ने सपना अझै जीवित रहेको' बताउँछिन्। “अबका जनप्रतिनिधिले पढाइमा पनि ऋण दिने व्यवस्था गर्नुपर्छ”, उनी भन्छिन्।
धरम्पुर–८ का उज्ज्वल शाही (१९) का लागि स्थानीय चुनाव जीवनकै महत्वपूर्ण घटना हो। स्नातक पढ्दापढ्दै राहदानी बनाइसकेका उनी चुनावपछि पनि बन्द, हडताल कायम रहे विदेशिने योजनामा छन्।
“भोट हाल्छु अनि कस्ताले जित्छन्, के हुन्छ भनेर हेर्छु” उनी भन्छन्, “देशको अवस्था सुधार होला जस्तो भयो भने बस्छु नत्र हिंड्छु।”
२८ चैत २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा ४ लाख ५४ हजार ४७६ मतदाता रहेको झापामा त्यसयता १६ वर्ष नाघेका ६७ हजार ३८० जनाले मतदाताका लागि जिल्ला निर्वाचन कार्यालयमा नाम लेखाएका छन्।
तीमध्ये स्थानीय तहको निर्वाचन घोषणा भएको मिति ९ फागुन २०७३ सम्ममा १८ वर्ष पूरा भएका करीब ६३ हजारले पहिलो पटक मतदान गर्नेछन्। जिल्ला निर्वाचन कार्यालयले मतदाता संख्याको अन्तिम टुङ्गो केही दिनभित्रै लाग्ने बताएको छ।