मोरङमा चुनाव तयारी: शान्त र स्वस्थ
राजनीतिक रुपमा सचेत मोरङको चुनाव तयारी शान्त र स्वस्थ देखिन्छ।
कमल रिमाल, विराटनगरबाट
अन्य ठूला दलहरूमा सम्भावित उम्मेदवारको चर्चा चलिरहँदा नेकपा (माओवादी केन्द्र) ले विराटनगर उपमहानगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा क्रमशः भोगेन्द्र यादव र नमिता न्यौपानेलाई उठाउने घोषणा नै गरेको छ। माओवादी केन्द्रका मोरङ इन्चार्ज कुशल लिम्बू २४ चैतमा एक उपमहानगरपालिकालगायत जिल्लाका ८ गाउँपालिका, ८ नगरपालिका सबैको उम्मेदवारी घोषणा गर्ने बताउँछन्।
यता नेपाली कांग्रेसबाट नगर सभापति भीम पराजुली र नेकपा (एमाले) का नगर इन्चार्ज सागर थापा उम्मेदवारीका लागि कस्सिएका छन्। दुवैको राजनीति महेन्द्र मोरङ क्याम्पसबाट शुरू भएको हो। दुई पटक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति भइसकेका थापा र नेपाल विद्यार्थी संघबाट विद्रोही उम्मेदवार भएर पनि सभापति बनेका पराजुली दुवै नगरप्रमुखका आकांक्षी देखिएका छन्। त्यसो त माओवादीका यादवको राजनीतिक धरातल पनि उही महेन्द्र मोरङ नै हो। उमेरले ४० हाराहारी तीनै जना विराटनगरका चर्चित युवा नेता हुन्।
कांग्रेसबाट जिल्ला सचिव नागेश कोइराला पनि नगरप्रमुखका बलिया प्रत्यासी हुन्। निर्वाचन लक्षित वडा, गाउँ र नगर भेला सकिसकेको बताउँदै उनी १८ र १९ चैतमा हुने पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिले पार्टीको पक्षमा माहोल बनाउने दाबी गर्छन्।
मोरङ एमालेले पनि निर्वाचनलाई दृष्टिगत गर्दै एक उपमहानगर, ८ नगर र ८ गाउँपालिकामा संयोजक र उपसंयोजक तोकेको छ। तोकिएका मध्ये केहीले टिकट पाउने सम्भावना छ। पार्टीका जिल्ला सचिव एवं सांसद् ऋषिकेश पोखरेलले पार्टी र समुदाय दुवैमा प्रभावी व्यक्तिलाई उम्मेदवार बनाउने बताउँछन्। यता निर्वाचन आयोगले तोकेको समयमा विवरण नबुझाएकोले राष्ट्रिय प्रजातन्त्र पार्टीले भने निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ।
विरोधसँगै तयारी
राजधानीमा स्थानीय निर्वाचन रोक्न माग गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मोरङमा भने भित्रभित्रै तयारी गरिरहेको छ। मोर्चाको एक घटक तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का जिल्ला अध्यक्ष मोहमद कादिर संविधान संशोधन भइहाले मोर्चा पनि चुनावमा भाग लिन सक्ने भएकाले तयारी गरिरहेको तर्क गर्छन्।
“संविधान संशोधन भयो भने चुनावमा जानुपर्ने हुन्छ, तयारीमा त बस्नुपर्यो”, उनी भन्छन्।
मोर्चाले जिल्ला, नगर र गाउँमा विरोध कार्यक्रम पनि जारी राखेको छ। जिल्ला समन्वय समिति र कटहरी गाउँपालिकामा तालाबन्दी गरेको मोर्चाले सरकारी काम प्रभावित पार्ने गरी गतिविधि संचालन गर्ने रणनीति बनाएको छ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य मृत्युञ्जय झा मोर्चाको नीति अनुसार नै संविधान संशोधन, स्थानीय निकायको अवैज्ञानिक पुनर्संरचना, संघीय, प्रदेशको निर्वाचन नभई स्थानीय निकायको निर्वाचन हुन नदिने बताउँछन्।
सुदृढ सुरक्षा
जिल्ला निर्वाचन कार्यालय, मोरङले निर्वाचनका लागि २ हजार ९०० मतपेटिका तयारी अवस्थामा राखेको छ। मतदान केन्द्र सिफारिश समितिको ८ चैतमा भएको बैठकले मोरङमा पुराना मतदान स्थललाई कायम गर्दै अरू ३८ स्थल थप गर्न सिफारिश गरेको छ।
जनसंख्या र भौगोलिक अवस्था हेरेर थप गरिएको समितिले जनाएको छ। “पुराना २६३ वटै मतदान केन्द्र कायम गरी ३०१ बनाउन सिफारिश गरिएको छ”, प्रमुख जिल्ला निर्वाचन अधिकृत भक्तबहादुर भट्टराई भन्छन्।
भट्टराईका अनुसार, जिल्लामा ४ लाख ९५ हजार मतदाता रहेकोमा यस वर्ष करीब ७७ हजार मतदाता थपिने छन्। मतदाता शिक्षा परिचालनको तयारी पनि अन्तिम चरणमा पुगेको छ। “दोहोरिएका र उमेर नपुगेका मतदाताहरूको लगत संकलन भइरहेको छ”, उनी भन्छन्।
निर्वाचनको सुरक्षामा प्रहरीको चासो पनि बढ्दो छ। विराटनगरस्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अनुसार, अञ्चल र जिल्लाहरूमा निर्वाचन सेल गठन गरिसकिएको छ।
“पूर्वका तीन वटै अञ्चल, १६ जिल्ला र ती मातहतका कार्यालयहरूबाट सुरक्षाकर्मी, हतियार, सवारी साधन र संचार उपकरणको लगत संकलन गर्ने कार्य हुँदैछ”, क्षेत्रीय निर्वाचन सेलका प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी भन्छन्।