राष्ट्रकै पहिचान बन्दैछ जटायु रेष्टुराँ
केही वर्षअघिसम्म गाउँमा कुनै पशु चौपाया मरेमा महिनौँसम्म दुर्गन्ध फैलिने र स्याल, कुकुरजस्ता जनावरले सिनो जथाभावी फैलाउने समस्याले आजित बनेका नवलपरासीको पिठौली र कावासोती क्षेत्रका बासिन्दा अहिले गिद्ध रेष्टुराँ स्थापनापछि यस समस्याबाट मुक्तमात्र भएका मात्र छैनन्, अन्तर्राष्ट्रिय जगत्मा गाउँको पहिचान बनेकामा गौरवान्वित समेत भएका छन् ।

अशुभ र फोहरी पंक्षीका रुपमा घृणा र तिरस्कार गरिने सामाजिक धारणालाई चुनौती दिँदै स्थानीय समुदायले रेष्टुराँ स्थापना गरेर थालेको गिद्ध संरक्षण अभियानको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेका छन् । यही रेष्टुराँले अहिले गाउँको पहिचान देशभित्र मात्र नभएर विश्वमा बढ्न थालेको छ ।
वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डा महेश्वर ढकालका अनुसार एसियामै गिद्ध सङ्कटमा परेका बेला नेपालले संरक्षण अभियान शुरु गरेकामा गत भदौमा अमेरिकाको हवाईमा सम्पन्न अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको विश्व सम्मेलनका सहभागी मुलुकहरुले प्रशंसा गर्दै नेपालको सिको गर्ने घोषणा गरेका थिए ।
गिद्धको संरक्षण भएसँगै गिद्धका बारेमा अध्ययन अनुसन्धान गर्न आउनेको सङ्ख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा रेष्टुराँ स्थापना गरिएपछि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेसँगै स्थानीय जनताको जीविकोपार्जनमा समेत सुधार आएको नमुना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बलिराम महतो बताउँछन् ।

करिब ४१५ हेक्टर जमिनमा रेष्टुराँ स्थापना गरेर विश्वमै अति सङ्कटापन्न अवस्थामा पुगेको गिद्धको संरक्षण गर्ने अभियानसँगै वातावरण संरक्षण र जैविक विविधताको क्षेत्रमा उल्लेखनीय कार्य भएको छ । यस रेष्टुराँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डस्थित कावासोतीबाट चार किलोमिटरको दूरीमा रहेको यस रेष्टुराँमा विश्वमै दुर्लभ पाँच प्रजातिका गिद्धको अवलोकन गर्न सकिन्छ । यहाँ थारु संस्कृति अवलोकन, नमुना घाँसेमैदान व्यवस्थापन, दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत विभिन्न पशुपंक्षीको अवलोकन गर्न सकिने र होमस्टेमा बस्ने सुविधा रहेकाले पर्यटकको चहलपहल बढ्न थालेको छ ।
गिद्ध संरक्षणका लागि पूर्वाधार विकाससँगै जनचेतना अभिवृद्धि तथा स्थानीय समुदायको जीवनस्तरमा पनि सुधार ल्याउन विभिन्न सङ्घसंस्थाको सहयोगमा आयमूलक क्रियाकलापहरु सञ्चालन गरिएका छन् । वन तथा जैविक विविधता संरक्षणमा देशकै नमुना केन्द्रका रुपमा विकास गर्न १० वर्षे गुरुयोजना बनाउन लागिएको जटायु रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरी बताउँछन् ।
रेष्टुराँको व्यवस्थापनका लागि यहाँ भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि रु ५०० र नेपालीलाई रु ५० शुल्क लिने गरिएको छ । गिद्धले सिनो खाएर छाडेका हड्डी र छाला बिक्री गरेर वर्षमा करिब रु ७० हजार आम्दानी हुने गरेको र यसबाट रेष्टुराँको सञ्चालन गर्न गाह्रो परेको चौधरीको भनाइ छ ।
शुरुमा गिद्ध रेष्टुराँ स्थापना गर्न स्थानीयवासीले विरोध जनाएका थिए । गाउँनजिकै मरेको सिनो राख्दा गाउँ नै दुर्गन्ध हुन्छ भन्ने भ्रम गाउँलेमा थियो । चौधरी भन्छन् – “अहिले विस्तारै यसको महत्व बुझेपछि सबै गिद्धको संरक्षणमा एकचित्त भएका छन् ।”
नेपाल पंक्षी संरक्षणको पहल र स्थानीयवासीको सक्रियतामा २०६४ भदौमा स्थापना भएको यस रेष्टुराँलाई सुरुमा रोयल सोसाइटी प्रोटेक्सन अफ वल्र्ड, युकेले सहयोग पुर्याएको थियो भने हाल यसको सञ्चालनका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।
कार्यक्रमको सहयोगमा मध्यवर्ती क्षेत्रका बासिन्दालाई गिद्धको उपयोगिताबारे जनचेतना फैलाई यसको संरक्षणतर्फ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका छन् । समुदायको सहभागितामा जैविक विविधताको संरक्षण र जीविकोपार्जनका क्रियाकलापलाई एकैसाथ अगाडि बढाइएमा त्यसले सकारात्मक परिवर्तन ल्याउनसक्ने यस रेष्टुराँबाट पुष्टि भएको कार्यक्रमका राष्ट्रिय प्रबन्धक गोपाल शेरचनले बताए ।
जटायु रेष्टुराँलाई व्यवस्थित तुल्याउन गौरक्ष केन्द्र स्थापना गरी बुढा गाईगोरु पाल्ने प्रबन्ध मिलाइएको छ । जहाँ पशुहरू सङ्कलन गर्ने, पाल्ने र मरेपछि मात्र सिनो गिद्धलाई खुवाउने गरिन्छ । “पहिले एउटा सिनो फाल्न दुई/चार सय रुपैयाँ खर्च लाग्थ्यो, महिनौँसम्म दुर्गन्ध फैलन्थ्यो, अहिले बुढा गाईगोरु बेचेर उल्टै चार/पाँच सय आम्दानी हुने र वातावरण पनि स्वच्छ बन्ने नेचर गाइड होमनाथ गौतमको भनाई रहेको छ । गिद्धले पशु मरेको आधा घन्टामै खाने भएकाले प्रदूषण र अनेक रोगको महामारी फैलन पाउँदैन ।
गिद्ध संरक्षणबाट जैविक विविधता र वातावरणको सन्तुलन मात्र होइन, मानिस र पंक्षीबीचको अनुपम सम्बन्धले पारिस्थितीय प्रणालीलाई मजबुत बनाउन मद्दत गरेको छ । आफैँ सिकार नगरी मरेका जनावर मात्र खाने गिद्धलाई प्रदूषित र दुर्गन्धित वातावरणलाई स्वच्छ र सफा राखी विभिन्न महामारी हुन नदिने भएकाले प्रकृतिको कुचीकारको रुपमा लिने गरिन्छ ।
गिद्धको सङ्ख्यामा एक्कासि कमी आएपछि विश्वव्यापीरुपमै संरक्षण अभियान थालिएको छ । केही वर्षयता पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनक औषधिको अत्यधिक प्रयोगले गिद्धको विनाश भएपछि सरकारले २०६३, २३ जेठदेखि यसको आयातमै रोक लगाएको छ भने हालसम्म ५६ जिल्लालाई डाइक्लोफेनकमुक्त घोषणा गरिएको छ । डाइक्लोफेनक खुवाइएको पशुको सिनो खाएपछि गिद्धको मिर्गौला खराव भई केही दिनमा नै मर्ने क्रम बढ्दै जाँदा गिद्धको सङ्ख्यामा ९५ प्रतिशतले ह्रास आएको थियो ।
विश्वमा २३ प्रजातिका गिद्धहरु रहेकामा नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये डङ्गर र सानो खैरो गिद्ध सङ्कटापन्न अवस्थामा छ । हाडफोर गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, राज गिद्ध र सुन्न गिद्धको सङ्ख्यामा पनि ह्रास आएको छ । लोपोन्मुख यस मांसाहारी पक्षीको संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरा क्षेत्रमा २०६५ वैशाखमा गिद्ध प्रजनन केन्द्रको स्थापना गरिएको छ ।
यस रेस्टुराँको सफलतापछि रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाचोक र सुनसरीको रामधुनीमा पनि जटायु रेस्टुराँको स्थापना गरिएका छन् । गिद्ध संरक्षणका लागि विश्वमा ३०० भन्दा बढी रेस्टुराँ स्थापना भएको भए पनि समुदायस्तरबाट सञ्चालन भएको यो नै पहिलो रेस्टुराँ हो । दक्षिण अफ्रिकामा मात्रै २०० भन्दा बढी गिद्ध रेस्टुराँ रहेका छन् ।
कृष्ण अधिकारी, रासस