नगर्नु च्याकुलझ्याइँ !
दुर्घटना हुन्छ । रुखबाट घाँस झार्दा कोही भुईंमा बजारिन्छ, कोही गाडीको ठक्करले मोटरसाइकलबाट सडकमा लड्छ ।
हाम्रो प्रतिक्रिया के हुन्छ ? लम्पसार घाइतेतर्फ बढ्छौं, ट्याक्सी अथवा कुनै उपलब्ध वाहनलाई रोक्छौं र अस्पताल दौडाउने जमर्को गर्छौं । सहृदयी नागरिकले गर्नुपर्ने यही हो, तर त्यो गर्दागर्दै अक्सर हामी ठूलो गल्ती गरिरहेका हुन्छौं ।
घाइते व्यक्तिलाई च्याकुलझ्याइँ (दुईजनाले दुईतिर समाएर झुन्ड्याउँदै ल्याउने वा लैजाने काम; झ्याइँकुटी, झ्यानाकुटी– नेपाली बृहत् शब्दकोश ।) पार्दै उद्धार गर्न हामी तम्सन्छौं– अस्पताल पुर्याउने गाडीमा छिराउन या छेउछाउको घरआँगनमा लैजान । हामी आफ्नो चिन्ता र क्रियाशीलता देखाउन बेजोडसँग लाग्छौं, दुर्घटना पीडितको जीउलाई च्याकुलझ्याइँ पार्दै बोक्छौं, ठूलो ज्यानको रहेछ भने लतार्छौं, घिसार्छौं । हामी दुईजना रहेछौं भने एकजनाले टाउको पट्टिबाट र अर्कोले खुट्टा समाएर उचाल्छौं ।
उद्धारकर्तालाई कसले भनिदेओस् कि यो च्याकुलझ्याइँले बिरामीको हालत झनै खराब गर्दिन सक्छ । घाइतेको अवस्था दुर्घटनाबाट भन्दा गम्भीर बनाइदिन सक्छ । उद्धारको यत्नमा हामी खुट्टा मात्र नचल्ने अवस्थाको घाइतेलाई पूरै जीउ प्यारालाइज् हुनेसम्म गरिदिन्छौं !
‘ट्रमा केयर’ को आकस्मिक सेवा पुर्याउने डाक्टर या विशेषज्ञहरूको लागि नेपाली जनतामाझ दुर्घटनाका घाइतेलाई सम्हाल्ने अज्ञानता कहालीलाग्दो छ– सद्दे ज्यानलाई पूर्णतः अपांगसम्म बनाउने खालको ।
दुर्घटना या कुनै भवितव्यका घाइतेलाई उद्धार गर्ने मनसाय अति उत्तम हुँदाहुँदै उद्धारकर्ताले बुझ्नुपर्यो– घाइतेको जीउको भारीलाई यताउता गर्दा उसको सहयोग भन्दा हाम्रो मानवीय संवेदनशीलता प्रदर्शन गर्न खोजिरहेका हुन्छौं हामी । केही न केही गर्नु र गरेको देखाउनुपर्ने हाम्रो ‘रेस्पन्स्’ हुन्छ ।
हामी सबैमा सूचना र तौरतरीकाको अभाव रहेको छ । मेरुदण्डमा गम्भीर चोट पुर्याउने दैनिक दुर्घटना भइरहेका हुन्छन्– घर, खेतबारी, जंगल, सडक, स्कूल, कार्यालय, मेलापात, बजार आदिमा । तर यस्तो गर्नु, त्यसो नगर्नु सूचना हामी पाउँदैनौं ।
दुर्घटनामा पहिला घाइतेछेउ पुग्ने प्यारामेडिक, डाक्टर–नर्स, प्रहरी वा अन्य तालीमप्राप्त उद्धारकर्ता नभई घरपरिवार, छिमेक या छेउछाउका वटुवा हुन्छन् । यसै कारण दुर्घटनाको प्रथम ‘रेस्पोन्डर’ लाई घाइतेलाई कसरी सम्हाल्ने भन्ने सरल सूचनाद्वारा प्रसार हुनुपर्छ । देशव्यापी नागरिक शिक्षाको अभियानको खाँचो छ स्वास्थ्य मन्त्रालयको अगुवाइमा– च्याकुलझ्याइँ निषेध अभियान ।
‘स्ट्याबिलाइज्’ गर्नुको कारण
दुर्घटनामा पर्दा शरीरको जुनसुकै भागमा गम्भीर चोट पर्न सक्छ, तर सबभन्दा संवेदनशील अंग हो, हाम्रो ढाड । किनकि, मस्तिष्कबाट शरीरको हर भागमा यसो गर, उसो गर भनेर आदेश जाने नसाको मूठो हाम्रो मेरुदण्ड हो, जो भर्टेब्रे हड्डीभित्र नलीमा बसेको हुन्छ । दुर्घटनामा मेरुदण्डमा माथि गर्दनतिर या ढाडको तलपट्टि कता चोट पुगेको छ, त्यसले नै बिरामीको कुन भाग प्यारालाइज् हुन्छ निर्धारण गर्छ । तलतिर चोट लागेर मेरुदण्ड छिन्न गयो भने खुट्टा नचल्ने तथा दिसापिसाबमा नियन्त्रण हराउने हुनसक्छ, माथितिरको मेरुदण्डमा चोट लाग्दा यी बाहेक हात पनि नचल्ने वा सास फेर्न गाह्रोसम्म हुनसक्दछ ।
मेरुदण्ड चोट (स्पाइनल इन्जरी) ले सद्दे मानिसलाई अपांग र परनिर्भर बनाइदिन्छ भने दुर्घटनामा उद्धारकर्ताको सहृदयी तर गलत क्रियाकलापले घाइतेको जीवनमा थप बर्बादी ल्याउने सम्भावना रहन्छ । यसमा गम्भीर भई घोत्लिनुपर्नेछ । दुर्घटनास्थलमा लडिरहेको घाइतेलाई बोक्दै, घिसार्दै यताउता दौडाउने काम गर्नुहुँदैन । घाइतेको ढाडको भर्टेब्रेहरू भाँचिएको छ भने उद्धारको क्रममा झन् लथालिङ्ग पारेर अपांगता बढाउने सम्भावनाप्रति उद्धारकर्ता सजग हुनुपर्छ ।
दुर्घटनास्थलमा लम्पसार घाइतेलाई हामीले मानसिक आडभरोसा दिनुपर्छ, जाडो हुन नदिन कपडा ओढाइदिए हुन्छ र चाहिने प्राथमिक उपचार दिनुपर्छ तर जीउलाई बोक्ने, घिसार्ने काम गर्नुहुँदैन । ट्रमा विशेषज्ञ या डाक्टर, नर्स, अहेब वा प्यारामेडिक नआउन्जेल बिरामीलाई जहाँको त्यहीं राख्ने हो ।
घाइते सम्हाल्न सिपालु कोही आउने सम्भावना नभए पहिले हामी आफैंले मेरुदण्डलाई ‘स्ट्याबिलाइज्’ गर्नुपर्छ । त्यो भनेको के हो ? घाइतेको शरीरलाई स्थिर राख्ने ताकि लड्दा या ठोक्किंदा जति क्षति भयो मेरुदण्डलाई, त्यो भन्दा बढी क्षति हुन नदिने । हतासामा घाइतेलाई बोकेर, घिसारेर यताउता दौडाउँदा पछि खुट्टा नचल्ने (प्याराप्लेजिक्) या घाँटीभन्दा तल्लो भाग नचल्ने (क्वाड्रुप्लेजिक्) हुन सक्छ ।
ट्रमा विशेषज्ञ ‘प्यारामेडिक’ हरूले दुर्घटनास्थलमा लम्पसार घाइतेसामु आइपुग्ने बित्तिकै पहिला ज्यानको अवस्था जाँच्छन्, एम्बुलेन्समा राख्नुअघि घाइतेलाई विस्तारै कडा प्लाष्टिकको बोर्डमा राख्छन् अनि घाँटी नहल्लियोस् भनेर शुरुमै ‘कलर’ लगाइदिन्छन् ।
हाम्रा गाउँघरमा ट्रमा विशेषज्ञ आइपुग्ने सम्भावना विरलै हुनेहुँदा ‘स्ट्याबिलाइजेशन्’ को अभिभारा आफ्नै हुन जान्छ । हामीले घाइतेलाई नबोकिकन प्लाइउड या पातलो फलेकमा सार्नुपर्यो अनि एम्बुलेन्स वा गाडीमा राख्न लाग्दा पनि टाउको नहल्लने गरी अड्याउनुपर्यो ।
नेपाललाई ‘दुर्घटनाग्रस्त’ देश भन्न मिल्छ । घर, टहरा, जंगल, कान्लाबाट लड्ने, खस्ने सम्भावना छँदैछ । अस्पताल आइपुग्ने घाइतेको संख्या ह्वात्तै बढेको पनि छ सडक दुर्घटना तथा अन्य दुर्घटनाका कारण । तर घाइतेकहाँ पहिले पुग्ने भनेको आजै पनि गैर–विशेषज्ञ नागरिक नै हुन् । थोरै सूचना र सोचको प्रयोग सही तरीकाबाट गर्ने हो भने बिरामीको अवस्था बिग्रिसकेको भन्दा बिग्रिंदैनथ्यो ।