एमालेको 'अभियान' ले बढाएको चुनावी सरगर्मी
चर्चा, मूठभेड, स्थगन र पुनः शुरु भएर सकिएको नेकपा (एमाले) को मेची–महाकाली अभियानले चुनावी माहोल बढाएको छ ।
-दीपक ज्ञवाली
३ फागुनमा मेची–महाकाली अभियानको निर्णय गर्दा नेकपा (एमाले) ले चार उद्देश्य बताएको थियो– राष्ट्रिय एकता, सामाजिक सद्भाव, संविधान कार्यान्वयन र समृद्धि ।
त्यहीबीचमा सरकारले ९ फागुनमा आगामी ३१ वैशाखको लागि स्थानीय निर्वाचन घोषणा ग¥यो भने २१ फागुनमा एमालेले थालेको अभियान २३ फागुनमा सप्तरी पुग्दा मलेठ घटना भयो ।
राजविराजको मलेठमा एमालेको सभा विथोल्न खोज्ने मधेशी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा पाँच जनाको ज्यान गएपछि एमालेले अभियान स्थगन गरेर २७ फागुनमा हेटौंडाबाट पुनः शुरू गर्यो ।
स्थानीय तह निर्वाचन घोषणापछि एमालेले शुरू गरेको यो अभियान त्यसैमा केन्द्रित हुन पुग्यो । पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई भन्छन्, “देशमा जारी अनुत्पादक बहसलाई एमालेको अभियानले निर्वाचनतिर मोडेको छ ।”
एकताको सन्देश
२७ फागुनमा हेटौंडामा भएको आमसभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झ्लनाथ खनाल र माधवकुमार नेपालसँगै अन्य शीर्ष नेताहरू उपस्थित भए ।
नेताहरूको कटाक्षपूर्ण अभिव्यक्ति, कतिपय जिल्लामा समानान्तर कमिटी र जनवर्गीय संगठनहरूमा गुटगत हानाथाप रहेको एमालेमा हेटौंडा सभामा भने सबै शीर्ष नेताहरुले लहरै बसेर कार्यकर्ता पंक्तिलाई एकताको सन्देश दिए ।
एमालेका अर्का सचिव प्रदीप ज्ञवाली यो अभियान पार्टीभित्र मात्र नभई आम जनतालाई समेत एकताको सन्देश दिन सफल भएको बताउँछन् ।
हेटौंडापछिका सभाहरूमा पार्टीका सबै नेता मञ्चमा देखिए, तर पालैपालो बोले । जस्तो, २ चैतमा कैलालीको टीकापुरमा भएको सभामा वरिष्ठ नेतामध्ये खनाल बोले भने नेपालले सुने । सोही दिन लम्कीमा भएको सभामा नेपालले बोले, खनालले सुने ।
अभियानमा पार्टीको सिंगो नेतृत्व भए पनि भर्खरै केन्द्रीय समितिमा ल्याइएका मधेशी र थारू नेताहरूले सम्बोधनको मौका पाए । २९ फागुनमा भैरहवामा भएको सभामा एमाले उपमहासचिव तथा प्रदेश ५ का संयोजक विष्णु पौडेल र अर्का उपमहासचिव घनश्याम भुषाललगायतका नेताहरू बोलेनन्, गृहजिल्ला भए पनि । त्यहाँ आदित्यनारायण कसौधन, तुलसी चौधरीलगायतका नेताहरूले सम्बोधन गरे ।
प्रखर वक्ता भनेर चिनिएका भुषाल, पौडेल, प्रदीप ज्ञवाली, योगेश भट्टराईलगायतका नेताहरू कहीं पनि बोलेनन् ।
यसको उद्देश्य थियो, तराई–मधेशका नेताहरूलाई उत्साही तुल्याउनु । अभियानभर धनुषाका रघुवीर महासेठ, रौतहटका लालबाबु यादव, मोरङका लालबाबु पण्डित, सप्तरीका सत्यनारायण मण्डल, पर्साका नागेन्द्र चौधरी, कैलालीका हनुमान चौधरी र दाङकी शान्ता चौधरीलगायतका नेताहरूले पटक–पटक बोल्ने अवसर पाए ।
वरिष्ठ नेता खनाल प्रमुख अतिथि भएको लम्की सभालाई प्रदेश कमिटी सदस्य केवालाल चौधरीले सम्बोधन गरे । अधिकांश सभामा पार्टीका जिल्ला अध्यक्ष र सचिवको साटो मधेशी र थारू समुदायका स्थानीय नेताले अध्यक्षता र सञ्चालन गरे । अभियान उद्घाटनको अघिल्लो दिन २० फागुनमा स्थायी कमिटी बैठकले केन्द्रीय समितिमा ल्याएका मधेशी र थारू समुदायका २२ नेताले चर्चा पाए ।
गतिलो परिचालन
एमालेले यो अभियानमा आफ्ना सबै अवयवलाई क्रियाशील बनायो, शुभेच्छुकसम्मलाई । उपमहासचिव विष्णु पौडेल अभियानकै क्रममा देशभर पार्टी, जनवर्गीय संगठन र शुभेच्छुकहरूका सयौं बैठक बसेको बताउँछन् ।
भेला, बैठकलगायतका नियमित गतिविधि गर्ने मौका नमिलेका कमिटी र संगठनहरूलाई अभियानले पूरै चलायमान बनाएको बताउँदै उनी भन्छन्, “२०६२ सालयता देशव्यापी सभाहरू भएको यो पहिलो पटक हो ।”
एमालेको यो क्रियाशीलता र परिचालन अन्य दलहरूका लागि पनि सिकोलायक भएको प्रचार विभाग सचिव विष्णु रिजाल बताउँछन् । संविधान कार्यान्वयनको क्रममा स्थानीय तह निर्वाचन हुन लागेको बेला अरू दलहरूले यस्तो अभियान चलाएर माहोल बन्ने उनको भनाइ छ ।
उनका अनुसार, एमालेको यो अभियानमा देशभर १५ लाख मानिस परिचालन भए । हुन पनि, यो अभियानमा पार्टीका पाँचहजार नेता–कार्यकर्ता बोकेका ६०० सवारी साधन गुडेका थिए भने ८०० किलोमिटरभित्र २४ आमसभा भएका थिए । यति ठूलो परिचालनले राजनीतिक बाहेकका अरू धेरै पक्षमा पनि सकारात्मक सन्देश दिएको एमाले नेताहरूको बुझाइ छ ।
सप्तरी घटनापछि एमालेले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र धनुषा गरी सात जिल्ला छाडेर अभियान अघि बढायो । संयम देखाउन ती जिल्ला छाडे पनि एमालेले पश्चिमका केही जिल्लामा पनि मधेशी मोर्चाको अवरोध सामना गर्नुपर्यो । मोर्चाका कार्यकर्ताहरूले १ चैतमा नेपालगञ्जको एमाले सभा विथोल्न खजुरामा यात्रुवाहक बसमा आगो लगाए भने प्रहरीसँग झ्डप पनि गरे ।
त्यसअघि २८ फागुनमा नवलपरासीको बासाबसाइमा र ३० फागुनमा कपिलवस्तुको चन्द्रौटामा प्रदर्शन गरेका थिए । एमालेको अभियान रुटमा परेका तराईका हरेक जिल्लामा मोर्चाले बन्द आह्वान गरेको थियो । छुटेका ७ जिल्लामा पार्टीले विशेष कार्यक्रम गर्ने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।
सामाजिक मनोविज्ञान
कैलालीको एमाले आमसभामा आएकी नारायण–२, दैलेखकी रेखा थापाले स्थानीय तह निर्वाचन भए जनताले चाहेका धेरै परिवर्तन हुने बताइन् । नारायण क्याम्पस स्ववियु सभापति रहेकी थापा निर्वाचनको लागि किन पनि आतुर छिन् भने यसपालि उनी पहिलो पटक मत खसाल्दैछिन् ।
“त्यसबाहेक यसपटक कम्तीमा ४० प्रतिशत महिला निर्वाचित हुनेछन्” उनी भन्छिन्, “यत्रो महिला सहभागिता भनेको त चानचुने परिवर्तन होइन नि !”
एमालेको अभियानमा काँकडभिट्टाबाट कैलाली आइपुगेका शनिअर्जुन–३ झपाका देवीप्रसाद बराल (६९) ले संविधान जारी भए पनि समृद्धिको लक्षण नदेखिएको बताए । एमालेको ज्येष्ठ कम्युनिष्ट मञ्चमा आबद्ध उनले निर्वाचन भए संविधान कार्यान्वयन र विकास शुरू हुने विश्वास व्यक्त गरे ।
२ चैतमा बरालसँगै टीकापुरको आमसभामा नेताका भाषण सुनिरहेकी कैलाली गणेशपुरकी कोइली चौधरीले कुरा उति बुझ्रिहेकी थिइनन् । सुकुम्बासी एकल महिला उनले भनिन्, “सरकारले बास देओस्, वृद्धभत्ता पनि बढाइदेओस् ।”
एमालेको मेची–महाकाली सभामा भेटिएका उनीहरुको अभिव्यक्तिमा परिवर्तन र समृद्धिको तीव्र चाहना झ्ल्किन्छ । उनीहरू आफ्नो कुरा नेताहरूबाट आओस् र व्यवहारमा लागू होस् भन्ने चाहन्छन् । लामो राजनीतिक गतिरोधले दैनिक जीवनमा पारेको प्रभावबाट आममानिस आजित छन् । “लम्बे राजनीतिक गतिरोध र व्यावहारिक समस्याबाट गुज्रिएका जताततैका जनताको अनुहारमा स्थानीय निर्वाचनले आशा–अपेक्षा झ्ल्काएको छ”, एमाले उपमहासचिव घनश्याम भुषाल भन्छन्, “संविधान जारी भएपछि पनि परिवर्तनको अनुभूति गर्न नपाएका जनताले ठूलो अपेक्षा गरेका छन् ।”