चलचित्र संस्कृति र अन्तर्राष्ट्रियकरण सम्बन्धी छलफल
पाँचौ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन तीन दर्जनभन्दा बढी चलचित्र प्रदर्शन गरिनुका साथै चलचित्रसम्बन्धी सामुहिक छलफल गरिएको छ ।
नेपाल पर्यटन बोर्डमा आयोजित ‘द रोल अफ फिल्म कल्चर प्लेटफर्म’ सम्बन्धी छलफलमा ढाका फिल्म फेस्टिभलका निर्देशक अह्मद मुज्ताबा जमलले बोले । उनले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरु देशलाई चिनाउने शसक्त माध्यम भएको बताए ।
राजनीतिक उतारचडाव तथा हिंसा भएपनि बंगालदेशमा नियमित रुपमा ढाका फिल्म फेस्टिभलको आयोजना गर्दै आएका उनले समाजलाई सचेत गराउन पनि चलचित्र महोत्सवहरु भइराख्नु पर्ने बताए । उनीसँग नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अध्यक्ष अरुणदेव जोशीले छलफल चलाएका थिए ।
त्यस्तै ‘इन्टरनेशनलाईजेसन अफ नेपाली सिनेमा’ विषयमा निर्देशक नविन सुब्बा, क्षितिज अधिराज र नेपाल चलचित्र विकास बोर्डका अशोक कुमार राईले बहस गरेका थिए । नेपाल बाहिर रहेका नेपालीलाई देखाएर मात्रै नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण नहुने बताउदै निर्देशक सुब्बाले विदेशीले हेर्न सक्ने बनाउनु पर्नेमा जोड दिए ।
४० वर्ष अगाडी नै चर्चा भएको ‘अर्गानिक’को कुरा अहिले गरेर अगाडी बढ्न नसकिने बताउदै अन्तर्राष्ट्रिय चलचित्रको गति समात्न सक्नु पर्ने बताए । उनीहरुसँग सचिन घिमिरेले छलफल चलाएका थिए ।
३ चैतमा सुरु भएको चलचित्र महोत्सव ६ चैतसम्म चल्ने छ । महोत्सवमा ३८ देशका ९० चलचित्र सहभागि रहेका छन् । महोत्सवको अन्तिम दिन ६ चैतमा पनि दुई दर्जन भन्दा बढी चलचित्र प्रदर्शन गरिने आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रले जनाएको छ ।