'बुइँगल' को तागत (पुस्तक सम्पदा)
नेपाली साहित्यमा 'बुइँगल' एक्लैले जे परिवर्तन ल्याइदियो त्यो वास्तवमा असाधारण थियो।
बाबुराम आचार्यको 'पुराना कवि र कविता' (२००३) ले थालेको परम्परालाई सातसालपछि नारायणप्रसाद बासकोटाको पत्रिका 'प्रगति' ले निरन्तरता दिन खोज्यो, तर नेपाली साहित्यको माध्यमिक कालका कवि–लेखकहरू बारेमा धेरै केही थाहा पाउन नसकेकाले त्यो खोज्नुपरुर्यो भन्ने हुटहुटी लगायो नेपाली बुद्धिजीवीहरू माझ् २०१३ सालमा। त्यस आह्वानको फलस्वरूपै जस्तो जगदम्बा प्रकाशनले तीन वर्ष खोजखाज गरी 'बुइँगल' प्रकाशित गरुर्यो, २०१८ सालमा। त्यस बेला 'बुइँगल' मा १९० जना जति कविका कविताका नमूना र तिनका परिचय छापिएका थिए।
२०३० तिर दोस्रो संस्करणमा पुग्दा भने त्यो कवि संख्या बढेर ३०० जति पुग्यो। अरू कविहरू पनि थपिंदै गएपछि २०५३ सालमा 'अर्को एउटा बुइँगल' नै निकाल्नुपरुर्यो। अझ्, माध्यमिक कालका अति कम मात्र कृति भएका कविहरू समेत फेला पर्दै गएका हुँदा तिनीहरूलाई समेटेर त्यसै साल असारमा जगदम्बा प्रकाशनले 'बुइँगलको एउटा बाकस' भन्ने पुस्तक छुट्टै निकालेको थियो। यसरी ६०० जना जति नामै नसुनिएका अथवा बिर्सिसकेका नेपाली साहित्यिकलाई एकाठाउँमा जम्मा पारिदिए जगदम्बा प्रकाशन र साझा प्रकाशनले 'प्रगति' को त्यही एउटा सानो आह्वानमा। भनूँ 'लहराले पहरा तानिदिएछ!'
ऐले विचार गर्दा लाग्छ, 'प्रगति' को त्यो आह्वान सानो लहरो थिएन। किनभने, नारायणप्रसाद बासकोटा त त्यसमा निमित्त मात्र थिए। साँच्चै चाहिं त्यो आह्वान गरेका थिए डा. ईश्वर बराल र महाकवि देवकोटाले। 'बुइँगल'–को पहिलो प्रकाशकीयमा त्यस कुरालाई यसरी प्रकाश पारिएको छ– 'प्रगति' द्वैमासिक साहित्य संकलनको सातौं अंकमा मध्यकालीन कविहरूको भनेर एउटा फिरिस्त छापिएको थियो। धेरै नै कविहरू त्यहाँ देखिएका थिए।
तर ती कविहरूका बारेमा केही थाहा छैन भन्ने लेखिएको देख्ता दिक्कलाग्ने कुरा भएको थियो। त्यसैले ती कविहरूका बारेमा केही पत्ता लाग्छ कि भनी खोजिपस्ता त्यो पत्ता लाग्ने सट्टा बरु अरू नयाँनयाँ कविको नाम पो फेला पर्दै गयो। त्यही नै यस पुस्तक–विषयको श्रीगणेश हो।
...मध्यकालीन कविहरूको मात्र विचार गरेर शुरू गरे तापनि प्राचीनपट्टि देखा परेका नयाँ नामलाई पनि लिने लोभ छाड्न नसकिएकोले पुराना पनि यसमा पर्नगए। त्यति भएपछि बीचका दुईचार स्वनामधन्यहरूलाई पनि माया मार्न सकिएन र यो 'बुइँगल' ऐले यस रूपमा आएको छ।
'बुइँगल' को मुख्य उद्देश्य श्री बालकृष्ण समले बनाइदिनुभएको गाताको तस्वीरले नै पनि बताउनेछ―बुइँगलमा थुप्रिसकेका जस्ता अज्ञात या अल्पज्ञात नेपाली कवि या पद्यकारहरूलाई घामको उज्यालोमा ल्याउनु हो। त्यसरी घामको उज्यालो खप्न सक्ने ताकत यी पद्यकारहरूमा कत्तिको छ त्यो जाँच्ने यसको उद्देश्य होइन। यहाँ त सबैलाई एउटै कसीमा घसेर हेरिएको छ।
नेपाली साहित्यको त्यो मिरमिरे बेलामा केही लेखिदिएर साहित्यको गारोमा एउटा दोटासम्म ईंट थप्ने सबैलाई महामना मानी यहाँ श्रद्धाले आसन दिइएको छ।
यी त 'बुइँगल' का औपचारिक कुरा मात्र हुन्, असली महत्व अर्कै छ। यस किताबले हिमाल को 'पुस्तक सम्पदा' मा पस्न पाउने वास्तविक कारण एकदम अलग छ। 'बुइँगल' एक्लैले नेपाली साहित्यमा जे परिवर्तन ल्याइदियो त्यो महत्वपूर्ण कुरो हो। 'बुइँगल' को सम्पादकीयबाटै पढूँ अलिकति फेरि–
शक्तिवल्लभका दुई श्लोक र उदयानन्दका छब्बीस श्लोकले नेपाली साहित्यको पुर्ख्याैली कायम गरेका छन् भन्नु एकदम अत्युक्ति हुने छैन किनभने भानुभक्तले पछ्याएको भाषा इन्दिरस, विद्यारण्यकेशरीका 'गोपिका स्तुति' या 'द्रौपदी स्तुति' मा प्रयोग गरिएको भाषा नभएर उदयानन्दहरूले दिएको भाषा हो भन्ने पत्ता लाग्छ। ...यसरी नेपाली साहित्यका तीन जेठा जेठा कविताहरूको विचार गर्दा एउटा कुरो टड्कारो भएर देखा पर्छ। त्यो के भने नेपाली साहित्यको शुरू 'साबिक' बमोजिम भक्तिरसबाट नभएर वीररसबाट भएको रहेछ। अरू साहित्यमा पहिले भगवत्भक्तिले कविता लेखायो भने नेपालीलाई आफ्नै युगपुरुषको शौर्यले कविता लेखायो। वीर जाति नेपालीका निम्ति यो कुरा उपयुक्त नै पनि छ।
अचम्म के भयो भने नेपाली शैक्षिक र साहित्यिक जगतरुले 'बुइँगल' लाई तत्काल मान्यता प्रदान गर्यो र भर्खरै जस्तो खुलेको त्रिविको नेपाली एमएको पाठ्यक्रममा पनि 'बुइँगल' छिर्यो। अनि त परम्परादेखि चलिआएको नेपाली साहित्य पनि भक्तिधाराबाट प्रारम्भ भएको हो भन्ने धारणा रातारात बदलियो र वीररसबाट नेपाली कविताधारा सर्वप्रथम फुटेको हो भन्न थालियो। एउटै 'बुइँगल' ले यो चमत्कार गरिदियो। त्यसो गर्न उसलाई सुवानन्ददासका यस्ता पंक्तिले सघाएका थिए भन्ने मानौं―
गोकुल पुग्यो नुंवाकोट कृष्ण अउतारि है
घानमा लाग्यो वान, पन्द्र सहे गिंडा परे
बाह्र वटि सति चले घेरे लामुडाँडा है
हेटुडाको जगात खाई डिल्लीको मोहोर ल्याई
नगर पाटन मिचिकन रजाइ चलाउ है
नेपालको सिन्कि लुटि मंरातको घिले भुटि
पालपाको ल्याउ हिंग जिरो रिसिंगको ल्याउ पिरो
तनहुँको भातसित भीर्कोटको दालसित
माहाराजाको जिउनार बनाउ है
'बुइँगल'का बारेमा अब यत्ति नै बोल्दा पुग्ला।
(यो प्रकरण स्तम्भ लेखकसँग कुनै प्रकार गाँसिएकाले क्षमाप्रार्थी छ। हाम्रो चासो केवल पुस्तकसँग भएकाले यसका सम्पादकलाई 'असम्पृक्त' मानिदिने आग्रह पनि छ।)