निशानामा निर्दोष
२३ फागुनमा सप्तरीको मलेठमा प्रहरीको गोली लाग्नेहरू मधेशी मोर्चाका कार्यकर्ता नभई बाटो हिंड्ने सर्वसाधारण थिए।
श्रवणकुमार देव, राजविराज
सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालयबाट सीतापुर स्वास्थ्य चौकीमा पोलियो खोप पुर्याएर मोटरसाइकलमा फर्केेका आनन्द साह (३५) गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आइपुग्दा प्रहरीले मधेशी मोर्चाका कार्यकर्तालाई तितरवितर पारिरहेको थियो।
उनी के रोकिएका थिए, छातीमा गोली लागिहाल्यो। डिमन स्वास्थ्य चौकीमा सिनियर अहेब रहेका उनलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।
मलेठ–२ का सञ्जन मेहता (२३) लाई नहर चोकमा रहेको आफ्नो पानपसलतिर जाँदै गर्दा गोली लाग्यो। बाटोमा उभिएर झ्डप हेर्दा टाउकोमै गोली लागेका उनको प्राणपखेरु तत्कालै उड्यो।
त्यस्तै, मलेठ–४ का पीताम्बर मण्डल (५०) राजविराज–रूपनी सडकबाट करीब दुईसय मिटर पूर्वमा रहेको आफ्नो घर अगाडि उभिइरहेका थिए। प्रहरीले चलाएको गोली पेटमा लागेका उनी आँगनमै ढले। उपचारको लागि धरान पुर्याएको केहीबेरमा उनको मृत्यु भयो।
२३ फागुन साँझ ५ः३० बजेतिर सप्तरीको मलेठमा प्रहरीको गोलीबाट गम्भीर घाइते भएका नौजनामध्ये मलेठ–२ का वीरेन्द्र महतो (३६) को २५ फागुन र जमुनी मधेपुरा–१ का इनरदेव यादव (५०) को २७ फागुनमा मृत्यु भएको छ।
पेटमा गोली लागेका दुवैको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको थियो। अन्य घाइतेहरू बनौलीका दिगम्बर यादव, झुटकीका वीरेन्द्र यादव, बोरियाका जितन साह, हाटीका दिलीप यादव र राजविराजका सुरेन्द्र साहको धरानमै उपचार भइरहेको छ।
नेकपा (एमाले) को मेची–महाकाली अभियानअन्तर्गत गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र भएको सभा सकिन लाग्दा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो।
प्रहरीले फायर खोल्दा मुख्य सडकबाट करीब तीनसय मिटर पूर्वमा रहेको औद्योगिक क्षेत्रभित्रको मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली भाषण गरिरहेका थिए। पूरै औद्योगिक क्षेत्र एमालेका स्वयंसेवी र सुरक्षाकर्मीको घेरामा थियो।
पूर्वतिरको गहुँ खेतमा रहेका प्रदर्शनकारीलाई पहिला लाठी चार्ज, अश्रुग्याँस र हवाई फायरबाट तितरवितर पारिसकेको प्रहरीले एक्कासि गोली चलाएको घटनास्थलमा रहेका मानवअधिकारकर्मी जंगबहादुर सिंह बताउँछन्।
“सबै भागिसकेका थिए, हाम्रो हेराइमा गोली चलाउनु आवश्यक थिएन” सिंह भन्छन्, “तर खै किन हो, लाठीवाला प्रहरीले बोकेका प्लाष्टिकको शिल्डमा छेलिएर व्यक्तिलाई थाहै नदिई, ताकी–ताकी गोली हानियो।”
प्रत्यक्षदर्शी तर, नाम उल्लेख गर्न नचाहने स्थानीय संचारकर्मीहरूले पनि दुई–तीन जना प्रहरीले बन्दूकवाला प्रहरीलाई शिल्डले छेकेर गोली चलाएको बताए।
उनीहरूका अनुसार, भीड तितरवितर भएपछि पनि गोली प्रहार गरियो। प्रहरीहरू टोलतिर पसेर पनि जथाभावी कुटपिट र गोली प्रहार गरे। भित्री गाउँको घर अगाडि बसिरहेका पीताम्बर मण्डल र वीरेन्द्र महतोलाई त्यही क्रममा नजीकैबाट गोली लाग्यो।
'अवस्था नियन्त्रणमै'
गोली चलेको मलेठ गाविस २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले जितेको क्षेत्र हो। तर, २३ फागुनमा यही ठाउँ रणभूमिमा परिणत भयो।
मध्याह्न १२ बजेसम्म राजविराजमा प्रदर्शन गरेका मोर्चाका कार्यकर्ताहरूले त्यसपछि एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रलाई गन्तव्य बनाए। औद्योगिक क्षेत्र प्रवेश गर्ने तीनसय मिटर दक्षिण र तीनसय मिटर उत्तरको मुख्य सडकमा सुरक्षाकर्मीको पहरा थियो।
मोर्चाले गाउँ–गाउँबाट जनता उतार्ने बताए पनि बढीमा सातआठ सय प्रदर्शनकारी औद्योगिक क्षेत्रतिर आएका थिए। उनीहरूको संख्या सुरक्षाकर्मीको भन्दा कम थियो।
त्यसमा पनि एमालेको सभास्थलतिर जान खोज्ने क्रममा प्रहरीले नेतृत्व गर्ने जतिलाई नियन्त्रणमा लिइसकेको थियो। राजेन्द्र महतोको सद्भावना पार्टीका नेताद्वय दीपेन्द्र चौधरी र लक्ष्मण यादव, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सतिश सिंह लाठी प्रहारबाट घाइते बनिसकेका थिए।
बचेखुचेका प्रदर्शनकारीहरू औद्योगिक क्षेत्रको पूर्वपट्टि गहुँ खेतबाट सभास्थलतिर पस्न खोज्दा प्रहरीसँग पटक–पटक झडप भएको प्रत्यक्षदर्शीहरू बताउँछन्। उनीहरूका अनुसार, ढुंगा हान्ने क्रम पनि पहिले एमाले अभियानमा सहभागी केहीले शुरू गरेका थिए। प्रहरी सुरक्षामा रहेका उनीहरूले मास्क लगाएका थिए।
सभामा वरिष्ठ नेता माधवकुमार नेपाल बोल्न थालेको केही मिनेटमा बाहिर फेरि झ्डप शुरू भएको थियो। अध्यक्ष ओली बोल्न थालेको दुई मिनेटमा प्रहरीले अश्रुग्याँस प्रहार गर्यो र एकै क्षणपछि हवाई फायर भयो।
“ढुंगा हानिरहेका प्रदर्शनकारीमध्ये अधिकांश हवाई फायर भएपछि भागिसकेका थिए” अधिकारकर्मी सिंह भन्छन्। उनका अनुसार, एमालेको कार्यक्रम लगभग सकिइसकेको र मोर्चाले पनि प्रदर्शन गरिसकेको अवस्थामा गोली चलेर त्यत्रो मानवीय क्षति भयो।
हठको परिणाम
एमालेको मेची–महाकाली अभियान विरुद्ध मधेशी मोर्चा सप्तरीले १८ फागुनमै आन्दोलन घोषणा गर्यो। मोर्चाले लाठी जुलूस र जिल्ला बन्द आह्वान गर्दा सप्तरी प्रमुख जिल्ला अधिकारीविहीन थियो। सहायक प्रजिअ पनि थिएनन्। १९ फागुनमा आएका प्रजिअ उद्धव तिमल्सेनाले दुवै पक्षले हठ नछाडेको र झडप भए बल प्रयोग हुनसक्ने २२ फागुन साँझ बताएका थिए।
एमालेको अभियान भारदहहुँदै राजविराज पस्ने कार्यक्रम थियो। तर, मोर्चाले अवरोध गर्ने कार्यक्रम ल्याएपछि एमालेले त्यो रुट र कार्यक्रमस्थल पनि परिवर्तन गर्यो। एमालेले राजविराजको राज रंगशालामा तय भएको सभा तीन किलोमिटर उत्तर मलेठस्थित औद्योगिक क्षेत्रमा सार्ने निर्णय २२ फागुन बिहान गर्यो।
शुरूमा सभास्थल भन्दा पनि सप्तरी प्रवेश गर्ने भारदहमा घटना हुने आशंका थियो। त्यही कारण प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीको कमाण्डमा पाँच सयभन्दा बढी प्रहरी भारदहमै परिचालित भए। तर, एमालेको अभियान शान्तपूर्वक भारदह 'क्रस' भयो।
मोर्चा कार्यकर्ताहरूले कालो झ्ण्डा देखाउनुबाहेक केही गरेनन्। अभियानको कंचनपुर–रूपनी रुटमा पनि केही भएन। एमालेको अभियान मलेठको औद्योगिक क्षेत्रभित्र बेरोकटोक प्रवेश गरेको थियो।
सभास्थल सुरक्षाको कमाण्ड नेपाल प्रहरीका एसपी दिवेश लोहनी र सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्काले लिएका थिए। सुरक्षाकर्मीको संख्या बढी भएकोले पनि प्रदर्शनकारीहरू कार्यक्रमस्थलमा छिर्न सक्ने अवस्था थिएन।
केही दिन अगाडि आएका सगरमाथा अञ्चल प्रहरी प्रमुख एसएसपी बलराम शर्माका अनुसार त्यही बिहान भएको सुरक्षा बैठकमा दुवै फोर्सका कमाण्डरहरूलाई गोली नचलाउने निर्देशन दिइएको थियो। एसएसपी शर्मा भन्छन्, “परे हातखुट्टा भाँचिने गरी लाठी हान्नु, तर गोली नचलाउनु भनिएको थियो।”
अधिक बल प्रयोग
२६ फागुनमा सप्तरी आएकी राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारीले मलेठमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको पाइएको बताएकी छन्। उनले संचारकर्मीहरूसँग भनिन्, “मलेठमा भएको मानवअधिकार उल्लंघनको जवाफ सरकारले दिनुपर्नेछ।”
२३ फागुनमा प्रहरीको गोली लागेर मृत्यु हुनेमध्ये कोही पनि पार्टी कार्यकर्ता होइनन्। आनन्द साह सरकारी कर्मचारी थिए भने नेपाल प्रहरीको जागिर छाडेका वीरेन्द्र महतो तरकारी खेती गर्थे।
पीताम्बर मण्डल र इनरदेव यादव सामान्य कृषक थिए भने वैदेशिक रोजगारीबाट फर्केका सञ्जन मेहता लोकसेवाको तयारीमा थिए। गोली लागेर घाइते दिगम्बर यादव सप्तरी जिल्ला बार इकाईका कोषाध्यक्ष हुन्।