व्यवसायजन्य स्वास्थ्य हदै असुरक्षित
देशभरका उद्योग, कलकारखाना, निजी कार्यालय आदिमा काम गर्दा दुर्घटनामा परेका वा स्वास्थ्य बिग्रिएका कामदारहरू उपचार सुविधाबाट वञ्चित छन्।
वीरगञ्ज–१९ का पारसप्रसाद यादव (३०) सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्या लिएर २० माघ २०६४ मा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) भर्ना भए। रगत जाँच र एक्सरेबाट उनको फोक्सोमा खराबी भएको पुष्टि भयो।
केएमसीका कम्युनिटी मेडिसिन विभाग प्रमुख प्राडा सुनिलकुमार जोशीले यादवलाई 'हाइपर सेन्सिटिभिटी रेस्पिरेटोरी डिजिज' भएको र त्यसले फोक्सोमा एलर्जी गराएको हुनसक्ने भन्दै थप जाँचका लागि भारत जान सल्लाह दिए।
भारतको पटनास्थित मोदी नर्सिङ होम पुगेर जँचाउँदा फोक्सोमा एलर्जी (अक्युपेशनल आस्थ्मा) प्रमाणित भएको यादव बताउँछन्।
उनका अनुसार, २०५५ सालदेखि पर्साको लिपनी बिर्तास्थित औषधि कम्पनी एपेक्स फर्मा प्रा.लिको पेन्सिलिन सेक्सनमा काम गर्दागर्दै छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या भएको थियो।
अन्ततः उनको फोक्सोमा अक्युपेशनल आस्थ्मा हुनुको कारण थियो– एन्टिबायोटिक औषधिको धूलोको असर। उनको फोक्सोमा एमोक्सिसिलिन, एम्पिसिलिन र क्लोक्सासिलिन तीनथरीका एन्टिबायोटिक्सको धूलोबाट नराम्ररी असर पुगेको थियो।
केएमसीका डा. जोशीका अनुसार यादवलाई व्यवसायजन्य रोग लागेको हो। व्यवसायजन्य रोग विशेषज्ञ रहेका उनी अन्तर्राष्ट्रिय श्रम संगठनको मान्यता अनुसार पनि यादवलाई व्यवसायजन्य रोग लागेको बताउँछन्।
उनका अनुसार, सबै प्रकारका व्यवसाय वा काममा कामदारहरूको भौतिक, मानसिक र सामाजिक सुरक्षाको उच्च तहको प्रवर्द्धन तथा निरन्तरताको अवस्थालाई व्यवसायजन्य स्वास्थ्य भनिन्छ। डा. जोशी भन्छन्, “नेपालमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था डरलाग्दो बन्दै गएको छ।”
छैन क्षतिपूर्ति
मुलुकभरमा वीरगञ्जका पारसप्रसाद यादव जस्ता व्यवसायजन्य बिरामीको संख्या बढेको विभिन्न अध्ययन र अस्पतालहरूको रेकर्डले पनि देखाउँछ। काठमाडौं विश्वविद्यालय (केयू) ले सन् २००८ मा ११० जना ट्राफिक प्रहरीमाथि गरेको अध्ययनले उनीहरूमध्ये ४० प्रतिशतको सुन्ने क्षमतामा तीव्र ह्रास आएको पाएको थियो।
त्यसको मूल कारण ध्वनि प्रदूषण थियो। ध्वनि, धुवाँ र धूलोले ती ट्राफिक प्रहरीमध्ये सबैमा श्रवण शक्ति ह्रास, उच्च रक्तचाप र तनावमध्ये कुनै न कुनै समस्या देखिएको थियो।
त्यस्तै, ईंटा उद्योगका कामदारहरू झ्नै असुरक्षित अवस्थामा काम गरिरहेका छन्। केयूको सामुदायिक स्वास्थ्य विभागका उप–प्राध्यापक शेषानन्द सञ्जेलले विद्यावारिधिको क्रममा गत वर्ष गरेको अनुसन्धानले पाकेको ईंटा निकाल्ने कामदारमा प्रदूषणको असर उच्च देखाएको छ।
१६ वटा ईंटा उद्योगका ८० कामदारमा गरिएको अनुसन्धानले कामदारहरूमा सबै खाले धूलो कणहरू अधिकतम ४९.९ प्रति घनमिटर भेटियो। ती कामदारहरूमा पीएम २.५ भन्दा कम आकारका धूलोका कणहरू औसत ५.९ र अधिकतम १६ मिलिग्राम प्रति घनमिटर भएको पाइयो।
यस्तै, सिलिकाको मात्रा प्रति घनमिटर ०.१ हुनुपर्नेमा कामदारहरूमा १ सम्म भेटिएको छ। एकदमै साना धूलोका कण र सिलिकाको असरले ८८.५ प्रतिशत कामदारहरू बिरामी परेका छन्।
यस्तै, ८० कामदारमध्ये ५२ प्रतिशत काम गर्ने क्रममा घाइते भएको अध्ययनले देखाएको छ। सञ्जेल भन्छन्, “सिलिका, पीएम १०, पीएम २.५ लगायतका रसायन मिश्रित यतिका धूलो फोक्सोमा पुग्नु भनेको सीधै क्यान्सरको जोखिम बढ्नु हो।”
त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी रोग विभागका प्रा.डा. धर्मकान्त बास्कोटा उच्चदरमा ध्वनि प्रदूषण भएको ठाउँमा नाकमा एलर्जी हुने, नाकमा मासु पलाउने, सुन्ने शक्तिमा कमी आउने, ब्रोङ्काइटिस र दमको समस्या हुने बताउँछन्। उनका अनुसार, सुन्ने शक्ति हराउँदै जानुको मूल कारण ध्वनि प्रदूषण नै हो।
“कलकारखानाका कामदार र मुख्य सडकका चोकहरूमा खटिने ट्राफिक प्रहरी ध्वनि प्रदूषणको हिसाबमा धेरै असुरक्षित छन्”, प्रा.डा. बास्कोटा भन्छन्, “कार्यथलोको वातावरण सुरक्षित हुनुअघि उनीहरूको स्वास्थ्य सुरक्षाका अन्य उपाय अवलम्बन गर्नु/गराउनुपर्छ।”
कामकाजी महिलाहरू पनि व्यवसायजन्य रोगबाट प्रभावित छन्। लामो समयसम्म कम्प्युटरमा काम गर्नेहरूमा यस्तो स्वास्थ्य समस्या बढेको छ।
केएमसीका मेडिसिन विभाग प्रमुख डा. अर्पणा न्यौपाने ब्यांकमा काम गर्नेहरूमा ढाड दुख्ने, आँखामा सुक्खापन हुने, गर्धन दुख्ने, आँखा सुन्निने, हड्डी खिइनेलगायतका समस्या बढी देखिएको बताउँछिन्।
“यस्तो पीडाबाट छुटकारा पाउन भिटामिन डी खाने गरेको पाइएको छ”, डा. न्यौपाने भन्छिन्, “तर, यो अस्थायी समाधान मात्र हो।”
कार्यालयको भौतिक संरचनासँगै ध्वनि, प्रकाश र धूलो–धुवाँ व्यवसायजन्य रोगका प्रमुख कारक हुन्। ट्राफिक प्रहरी र ईंटा भट्टादेखि औषधि उद्योगसम्मका कामदार यो समस्याबाट आक्रान्त छन्। तर, यही कारण स्वास्थ्य समस्यामा पर्दा उनीहरूले उपचार सुविधा पाउँदैनन्।
औषधि उद्योगमा काम गर्दागर्दै एन्टिबायोटिकको असरले फोक्सोमा रोग लागेका यादवले पनि क्षतिपूर्ति पाएनन्। श्रम विभागमा निवेदन दिंदा क्षतिपूर्ति दिने सम्बन्धी कानून नै नभएको भन्दै विभागका कर्मचारीले यादवलाई घर पठाइदिए।
४ कात्तिक २०७१ सालदेखि न्याय पाउने आशमा पटक–पटक विभाग धाएका उनले दिएको उजुरीको फाइल श्रम विभागले अड्काएर राखिदिएको छ।
क्षतिपूर्ति सम्बन्धी कार्यविधि
काठमाडौ मेडिकल कलेजले पारसप्रसाद यादवलाई व्यवसायजन्य रोग लागेको भन्दै श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई पठाएको पत्र।
श्रम नियमावली २०५० ले दुर्घटनामा चोटपटक लागे क्षर्तिपूर्ति दिने व्यवस्था गरे पनि व्यवसायजन्य रोग लाग्दाको अवस्थाबारे केही उल्लेख गरेको छैन।
श्रम नियमावलीमा व्यवसायजन्य रोग लागेका बिरामीको अभिलेख राख्नेसम्म उल्लेख छ। यो अवस्थामा कार्यस्थलमा हुने दुर्घटना र त्यसबाट स्वास्थ्य समस्या भए क्षतिपूर्ति पाइने कानून बन्न थाल्नुलाई सकारात्मक मानिएको छ।
संसद्मा पुगेको क्षतिपूर्ति सम्बन्धी कार्यविधिले कानूनको रूप लिएपछि आफ्नो तलबको १ प्रतिशत सामाजिक सुरक्षा करमा जम्मा गरेका कामदारहरूले यो सुविधा पाउनेछन्। ईंटा भट्टालगायतका ठाउँमा अनधिकृत रूपमा काममा लगाउने, श्रम शोषण समेत गर्ने उद्योग र कलकारखानाका कामदारहरू भने यसबाट पनि वञ्चित नै हुनेछन्।
श्रम तथा रोजगार मन्त्रालयले संसद्मा पेश गरेको सामाजिक सुरक्षा कोषअन्तर्गत कार्यस्थल दुर्घटनाको सुरक्षा योजना कार्यविधि, २०७१ पास भएपछि कानून अनुसार रोजगारमा संलग्न भएर आफ्नो मासिक पारिश्रमिकबाट १ प्रतिशत रकम सामाजिक सुरक्षा करमा योगदान गर्ने कामदारहरूले स्वास्थ्य उपचार सुविधा पाउने छन्।
कार्यविधिले कार्यस्थलमा चोटपटक, अस्वस्थता वा आंशिक वा पूर्ण अपाङ्गता वा मृत्यु भएकालाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ। त्यसका लागि मेडिकल छानबीन समितिले सिफारिश गर्नुपर्नेछ।
सामाजिक सुरक्षा कोषबाट सुविधा लिनका लागि कामदार र रोजगारदाता दुवै कोषमा दर्ता भएको हुनुपर्छ। कामदारले आवश्यक कागजात समावेश गरी आफू बिरामी भएको ६ महीनाभित्र कोषको कार्यालय वा कोषले तोकेको आधिकारिक प्रतिनिधिसमक्ष निवेदन दिनुपर्छ।