नबुझिएको प्रधानमन्त्रीको पुराण यात्रा
पुराण उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल हेलिकप्टर चढेर ८ फागुनमा सिरहा पुगेपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्को आलोचना भयो । तर, पुराण आयोजक अनिता परियारलाई मात्र थाहा छ, पुराण आयोजन गर्नु र त्यहाँ प्रधानमन्त्री बोलाउनुको अन्तर्य, पुराण पीडा र यसले छर्न चाहेको सुसमाचार ।
“समाजमा परिवर्तनको सन्देश दिने, धार्मिक उदारताको पृष्ठपोषण गर्ने यज्ञमा प्रधानमन्त्रीलाई बोलाएर सकारात्मक सन्देश दिनु हाम्रो उद्देश्य थियो, तर सबै मिडियाले ‘हेलिकप्टर चढेर प्रधानमन्त्री पुराणमा’ भन्ने समाचार लेखे”, अनिता भन्छिन्, “नकारात्मक रिपोर्टिङ हुँदा दिक्क लाग्यो ।”
पुराणको पृष्ठभूमि
अनिता, सिरहाकै वस्तीपुर माध्यमिक विद्यालयमा पढाएका नेपालका हितैषी अमेरिकी जोन ज्याकोबीको सम्झनामा पुराण गर्न चाहन्थिन् । जोन करीब ४० वर्षअघि ‘पिस कोर भोलेन्टियर’ का रूपमा विद्यालयमा खटिएका थिए ।
वस्तीपुर मावि त्यस क्षेत्रकै नामी विद्यालय थियो । करीब दुई वर्ष वस्तीपुरमा पढाएका जोनले दलित बालिकाहरूका लागि छात्रवृत्ति कोष स्थापना गरे, आफ्ना दुई छोरी सारा र म्यागीका नाममा । जसले अझै निरन्तरता पाइरहेको छ ।
पछि २०४८ सालमा सिन्धुलीका कांग्रेस नेता हरिशंकर परियारले पनि आफ्नी छोरी अनितालाई वस्तीपुर पढ्न पठाए । सिरहाकै कांग्रेस नेता प्रदीप गिरीसँगको संगतले उनलाई त्यहाँ पठाउन सहज भयो । अनिताले सारा–म्यागी छात्रवृत्ति पाइन् । र, स्थानीय दलितको अभिभाकत्वमा पढ्न थालिन् ।
सहपाठीले उनका स्थानीय अभिभावकलाई ‘तँ’ भनेर सम्बोधन गरेको सुनेपछि भने अनितालाई पिरोल्यो । अनि अनिताले बुवालाई खबर पठाइन्– ‘म यहाँ पढ्न सक्दिनँ ।’ बुवाले उनलाई बेग्लै डेराको व्यवस्था गरिदिए, खाना खाने मेसको व्यवस्था पनि भयो । तर मेसमा खाँदा उनले सबैले खाएपछि मात्रै खानुपथ्र्यो, अझ बेग्लै बसेर ।
वस्तीपुरबाटै एसएलसी गरेकी अनिताले भारतको पोण्डिचेरीस्थित युनेस्को मदनजीत सिं सेन्टर फर साउथ एशियन स्टडिजबाट स्नातकोत्तरसम्मको अध्ययन गरिन् । नेपालका सञ्चारमाध्यमहरूमा पनि काम गरेकी उनी अहिले श्रीलंकास्थित साउथ एशियन्स फर ह्युमन राइट्स संस्थामा कार्यरत छन् ।
वस्तीपुरमा पढेकैले अनिताको जोन र उनकी पत्नी क्यारोलिनसँग सम्बन्ध गाँसियो । ज्याकोबी दम्पतीलाई उनी दाजु–भाउजू भन्थिन् ।
सन् २०१५ को अप्रिलमा जोनको निधन भयो । अनिता नेपाल आएका बेला नेपाली संस्कृतिमा राम्रैसँग भिजेकी क्यारोलिनले जोनको सम्झनामा वस्तीपुरको मन्दिरमा पूजा गराउन पाए हुन्थ्यो भन्ने आशय प्रकट गरिन् । ठीक त्यहीबेला, प्रदीप गिरी पनि वस्तीपुर नजिकैको आफ्नो घरमा थिए । अनिता वस्तीपुर मावि पुगिन्, तत्कालीन लेखापाल र हाल गाउँका अगुवा कुमुद रञ्जन बरालसँग पूजा गर्ने इच्छा बारे सुनाइन् ।
पुजा त हुनेभयो तर अनिताले सम्पूर्ण खर्च जुटाइदिनुपर्ने तर स्वयंले टीका ग्रहण गर्न समेत नपाउने निर्णय सुनाइयो । “आफूले पढेलेखेको र जीवनका महत्वपूर्ण वर्षहरू बिताएको ठाउँ, तर पनि पूजा गर्न दिंदैनन्, आफूलाई थाम्न सकिनँ र रोएँ” अनिता भन्छिन् । तैपनि अनिताले पूजा सामग्री खरिद गर्न पैसा दिइन् । फर्केर प्रदीप गिरीलाई सबै कुरा सुनाइन् । गिरीले अपमानित भएर पूजा गर्नु जरूरी नभएको बताएपछि अनिताले तत्कालका लागि पूजा नगर्ने बरु पुराण लगाउने निधो गरिन्, गिरीले पनि सहयोग गर्ने भए ।
पुराण वाचनका लागि पण्डित दिनबन्धु पोखरेल राजी भए । गिरीकै सहयोगमा स्थानीय आयोजक कमिटी गठन भयो । तर दलित महिलालाई पुराणमा सहभागी गराउन स्थानीय समुदाय तयार देखिएन ।
त्यसैबीच महाभूकम्प आयो, अनिताको योजना पछि स¥यो । दलितलाई इनारमा समेत जान रोक लगाउने समाजमा अनिताकै अगुवाइमा पुराण लगाउनु कम्ती मुश्किल थिएन । “पढेलेखेकी दलित महिलाले हाम्रो समाज भाँड्ने भई भनेर बढी नै त्रसित भएजस्तो देखिए”, उनी भन्छिन् ।
जोन नेपाललाई असाध्यै माया गर्थे, पछि उनी विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयमा अपरेशनल म्यानेजर भएर तीन वर्ष काम पनि गरे । नेपाली राम्रो बोल्ने उनी क्यान्सर रोगबाट ग्रस्त भएपछि पनि अन्तिम पटक २०१४ मा नेपाल भ्रमण गरेका थिए ।
जोनले सिरहामा सञ्चालित केही गैरसरकारी संस्थालाई सघाइरहेका थिए जसलाई उनकी श्रीमती क्यारोलिनले पनि निरन्तरता दिएकी छन् । जोनको मृत्युपछि समवेदना दिनेहरूलाई समेत क्यारोलिनले नेपालको विकासका लागि काम गर्ने जोनको सपनामा सहयोग गर्न आग्रह गरेकी थिइन् । अनिताका अनुसार त्यसरी समवेदना स्वरुप जम्मा भएको रकम अहिले ‘रुम टू रिड’ मार्फत खर्च भइरहेको छ ।
कतिसम्म भने जोन बाँचुन्जेल ‘इलाम चिया’ खाइरहे, उनका नातिले जोनलाई ‘आप्पा’ (तामाङ भाषामा बुवा) भनेर बोलाउँथे । जोन–क्यारोलिनका छोरीहरू सारा र म्यागीलाई पनि नेपाल उत्तिकै प्यारो छ ।
जोन गिरीका समेत मित्र भएकाले उनले पनि पुराणमा चासो दिए । पण्डित दिनबन्धुले छुवाछूतविरुद्ध चेतनाका कुरा समेत गर्ने भए । पुराणमा अतिथिका रूपमा राष्ट्रपतिलाई बोलाउने निधो भयो । राष्ट्रपतिले समय दिन सकिनन् र प्रधानमन्त्रीलाई अनुरोध गरियो । गिरीको विशेष आग्रहपछि प्रधानमन्त्री पनि तयार भए ।
गत ८ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालले पुराण उद्घाटन गरे ।
पुराणको अन्तिम हवनमा दिनबन्धुले अनितालाई पनि सहभागी गराए । स्थानीयको दबाबबीच पनि उनले जातीय विभेदबारे सन्देश दिइरहे ।
पुराणबाट दलित छात्रावासका लागि रकम संकलन हुने अपेक्षा गरिएको थियो । तर, पूरै सहयोग उठ्न सकेन । वस्तीपुरमा छात्रावास र वृद्धाश्रम निर्माणका लागि गिरीले एक बिघा जग्गा दिने भएका छन् भने क्यारोलिन र अन्य मनकारीको सहयोगमा भवन निर्माणको तयारी भइरहेको छ ।
१४ फागुनमा पुराण सम्पन्न गरी वस्तीपुरको मन्दिरमा दिनबन्धुसँगै पूजा गर्ने अनिताको चाहना भने यस पटक पनि पूरा भएन ।
१९ फागुनमा श्रीलंका फर्किंदा अनिता अलिकति खुशी थिइन्, केही उदास पनि । खुशी यसमानेमा कि लाहानमा सर्वसाधारणलाई सम्झाई–बुझाई, प्रधानमन्त्रीलाई बोलाएर दलित महिलाको अगुवाइमा पुराण लगाउन सम्भव भयो । निराश यस अर्थमा कि जान्नेबुझ्नेहरूले पनि पुराणको महत्व नबुझी आलोचना गरे ।
तैपनि अनिताको आश मरिसकेको छैन । श्रीलंका प्रस्थान गर्नुअघि उनले हिमाल सँग भनिन्, “समाज परिवर्तन हुन समय त लाग्छ, परिवर्तन भएको पनि छ । चाँडै नै वस्तीपुरको मन्दिरमा निर्धक्क पूजा गर्ने दिन आउने छ भन्नेमा म आशावादी छु ।”