रूख उक्लिंदै जोखिम बढ्दै
बढ्दो तापक्रमका कारण उच्च हिमाली क्षेत्रका रूखहरू उकालो लागिरहँदा त्यहाँको जनजीवन भने ओरालो झर्ने जोखिम बढेको छ।
उच्च हिमाली क्षेत्रमा पाइने तालिसपत्र, नीलो चिमाल (गुराँस) र भोजपत्रलगायतका वनस्पति अझ उँचाइमा बसाइँ सर्न थालेका छन्। ताप्लेजुङ, सगरमाथा क्षेत्र र मनाङका विभिन्न २० उच्च हिमाली क्षेत्रमा गरिएको अध्ययनले वनस्पतिहरू माथितिर सरिरहेको देखाएको हो।
वनस्पतिको स्वभावमा आउने यसखाले परिवर्तनलाई 'वृक्ष रेखा स्थानान्तरण' भनिन्छ। “पर्यावरणीय रूपमा वृक्ष अर्थात् रूख बाँच्न सक्ने भौगोलिक सीमा नै वृक्ष रेखा हो”, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वातावरण विज्ञानका प्राज्ञ डा. दिनेशराज भुजु भन्छन्।
भौगोलिक बनोट अनुसार वृक्ष रेखाको उँचाइ स्थान पनि फरक हुने गर्छ। उच्च हिमाली क्षेत्रमा हुने दुई वा तीन मिटरभन्दा अग्ला रूखहरूको अन्तिम सीमालाई वृक्ष रेखा मानिन्छ।
नाष्ट, त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान विभाग र वृक्ष चक्र समाजले एकदशकदेखि गरिरहेको संयुक्त अध्ययनले विश्वव्यापी तापमान परिवर्तनका कारण वृक्ष रेखा विस्तारै उकालो लागिरहेको निष्कर्ष निकालेको छ। (हे. इन्फो) अध्ययनका लागि टोलीले सगरमाथाको पाङबोचे र डेबुचेलगायतका क्षेत्रमा स्थायी अनुगमन केन्द्र स्थापनासमेत गरेको थियो।
अध्ययनले सगरमाथा क्षेत्रमा तालिसपत्र ४०६५ देखि ४१४१ मिटर, मनास्लु क्षेत्रमा ३९८४ मिटर र रारा क्षेत्रमा ३८७० मिटर उँचाइसम्म पुगेको देखाएको छ। त्यस्तै भोजपत्र सगरमाथा क्षेेत्रमा ४१०२ देखि ४१३२, मनास्लुमा ४००३ मिटर र रारामा ३९५३ मिटर उँचाइमा पाइए। सगरमाथाको पाङबोचेमा तालिसपत्रका नयाँ बिरुवा ४१४१ मिटर र भोजपत्रका नयाँ बिरुवा ४११५ मिटर उँचाइमा भेटिए।
डोल्पाको माझकाल क्षेत्रको वृक्ष रेखामा रहेको ठिङ्ग्रे सल्ला (तालिसपत्र)। प्रत्येक स्थानमा वृक्ष रेखा सकिने वित्तिकै चरन शुरु हुन्छ।
त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेका डा. नारायणप्रसाद गैरेको अनुसन्धान अनुसार, सन् १९२५ सम्म ४१०५ मिटर उँचाइमा पाइने भोजपत्रको ठाउँमा ७५ वर्षपछि सन् २००० मा तालिसपत्र आएको छ।
वृक्ष रेखा स्थानान्तरण भए/नभएको पत्ता लगाउन पुराना र नयाँ रूखको काठको नमूना लिई उमेर र उँचाइ पत्ता लगाइन्छ। रूखको उमेर पत्ता लगाउन वृक्ष चक्रको पनि अध्ययन गरिएको थियो। वृक्ष चक्र साँघुरो हुनु भनेको रूखका लागि अनुकूल हावापानी र पोषणतत्व नहुनु हो। गैरेको अध्ययनमा साँघुरो वृक्ष चक्र भएका रूखहरू उच्च हिमाली भेगमा सरेको पाइएको छ।
अध्ययनले सन् २००० मा तालिसपत्र ४१४० मिटर उँचाइसम्म पुगेको देखाएको छ। सगरमाथा राष्ट्रिय निकुञ्जको फोर्से क्षेत्रमा सन् १८९० तिर ४०५० उँचाइमा पाइने भोजपत्रले ११० वर्षपछि (सन् २०००) मा आइपुग्दा ६० मिटर (४११० मिटर) उक्लिएको छ। “यी घटनाहरूले वृक्ष रेखा स्थानान्तरण भइरहेको प्रमाणित गर्छ”, डा. गैरे भन्छन्।
नाष्टका वरिष्ठ विज्ञान अधिकृत डा. प्रविणा राणाले सन् २०१२ मा मनास्लुको कल्छुमनमा गरेको अध्ययनले सन् १८५० मा ३२०० मिटर उँचाइमा पाइएका नीलो चिमाल जातका रूख सन् २००० मा ४१०० मिटर उँचाइमा पुगेको देखिएको थियो।
तर, वातावरण विज्ञानमा विद्यावारिधि गर्ने क्रममा उनले सन् २०१२ मा मनास्लुको कल्छुमनमा गरेको अध्ययनमा नीलो चिमाल ४३५७ मिटर उँचाइमा भेटिएको थियो।
“फरक–फरक उँचाइ भएका नीलो चिमालको काठको नमूनालाई नाष्टको प्रयोगशालामा राखेर अध्ययन गर्दा वृक्ष रेखाभन्दा माथि रूखहरू उमि्रन थालेको पत्ता लाग्यो”, राणा भन्छिन्। उनी नीलो चिमाल जातका रूख पनि वृक्ष रेखाभन्दा माथि सरेको भेटिएको बताउँछिन्।
वृक्ष चक्र समाजले सन् २०१४ देखि २०१६ सम्म गरेको अनुसन्धानमा पनि मनाङ, मुस्ताङ र डोल्पामा भोजपत्र माथि सरेको देखिएको छ।
जलवायु परिवर्तनको परिणाम
जलवायु परिवर्तनसँगै उच्च हिमाली क्षेत्रको तापक्रम बढ्नुलाई नै वृक्ष रेखा स्थानान्तरणको कारक मानिन्छ। नाष्टका वरिष्ठ विज्ञान अधिकृत डा. राणाको अध्ययनको निष्कर्ष पनि यही छ।
इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) का अनुसार, सन् १८८० देखि सन् २०१२ सम्ममा पृथ्वीको तापक्रम औसत ०.८५ डिग्री सेल्सियसले बढेको छ। यसको असर नेपालमा नपर्ने कुरै भएन। जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा प्रति वर्ष औसत ०.४ डिग्री सेल्सियसले तापक्रम उकालो लागिरहेको छ।
डा. गैरे भने भू–उपयोगमा आएको परिवर्तनका कारण पनि वृक्ष रेखा सरेको बताउँछन्। वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ पनि वृक्ष रेखामा भेडा–च्याङ्ग्रा चराउने गोठालाहरू रोजगारीका लागि विदेशिएकाले पनि वृक्ष रेखा स्थानान्तरण भएको तर्क गर्छन्। (हे.बक्स)
जनजीवनमै प्रहार
वृक्ष रेखाभन्दा माथिको ठाउँ चरिचरन र जडीबुटीका लागि उपयुक्त मानिन्छ। तर, वृक्ष रेखा माथि सरेसँगै हिमाली क्षेत्रमा रूखको घनत्व पनि बढिरहेको छ। यसले यार्सागुम्बा, कटुको, जटामसी, पाँचऔंले जस्ता जडीबुटी संकटमा पार्ने वैज्ञानिकहरू बताउँछन्।
घाँस हुने ठाउँमा रूख उम्रेका कारण घाँसे मैदान हराउन थालेको र यसले चरन क्षेत्र अभाव हुन थालेको नाष्टका प्राज्ञ डा. दिनेशराज भुजु बताउँछन्। “जीवजन्तुले आहार नपाउँदा स्थानीयको जनजीवन पनि प्रभावित हुन थालेको छ”, उनी भन्छन्।
मुलुकको कुल जनसंख्याको ७.३ प्रतिशत उच्च हिमाली क्षेत्रमा बसोबास गर्छन्। तीमध्ये अधिकांश वृक्ष रेखा क्षेत्रमा भेडाच्याङ्ग्रा चराएरै जीवन निर्वाह गर्छन्। तर, वृक्ष रेखा सरेर चरन क्षेत्र घट्दै जाँदा यो जनसंख्या नराम्ररी प्रभावित हुने भुजु बताउँछन्।
वृक्ष रेखा स्थानान्तरणले तीन हजार मिटरभन्दा माथि उँचाइमा बस्ने जनावरको आहारमा पनि असर पुग्छ। जस्तो कि, भोजपत्र जातको रूख माथि सर्दा मृगहरू पनि माथि सर्नुपर्ने बाध्यता आइलाग्छ। तर, मृगका लागि माथिको वातावरण अनुकूल हुँदैन।
रूखहरू जति जति माथि सर्दै जान्छन्, माटो कम र चट्टान बढी हुन्छ। माटो नभएका ठाउँमा घाँस उम्रन सक्दैन। माटो भएका ठाउँमा घाँसे मैदान सरिहाले पनि अक्सिजन अभावमा जनावर र मानिस पुग्न सक्दैनन्। “त्यसकारण यसले पार्ने असर बहुपक्षीय हुन्छ भनिएको हो”, डा. भुजु भन्छन्।
नाष्टकी वरिष्ठ विज्ञान अधिकृत राणा रूखहरू माथि सर्ने क्रम बढ्दै गए महत्वपूर्ण वनस्पतिहरू लोप हुने बताउँछिन्। “यसका लागि सरकार र स्थानीयवासी दुवै गम्भीर हुनुपर्छ”, उनी भन्छिन्।
---------------------------------------------------------------------------------------
'वैदेशिक रोजगारीको असर'
डा. तीर्थबहादुर श्रेष्ठ
वनस्पतिविद्
पहिले पहिले गोठालाले वृक्ष रेखा क्षेत्रका रूख काट्ने भएकाले रेखा सर्न पाउँदैनथ्यो। तर, अहिले उनीहरू विदेश पलायन भएका छन्। त्यसैले पनि वृक्ष रेखा माथि सरिरहेको छ। घाँसे मैदानमा काँडेझार उम्रिन थालेको छ। यसले चरन क्षेत्र घटाएको छ।
वृक्ष रेखा माथि सर्नुको अर्को कारण तापक्रम र माटोको अवस्थामा आउने परिवर्तन हो। रूखहरूसँगै अनुकूल वातावरण पाए बुट्यान पनि माथि सर्छन्। बुट्यानले रूख हुर्कन आवश्यक वातावरण तयार पार्छन्।
भोजपत्र जस्ता रूखहरू उच्च तापक्रममा बाँच्न सक्दैनन्। भोजपत्र वृक्ष रेखाभन्दा ५०० मिटर तल र माथि मात्र बाँच्न सक्छ। तापमान वृद्धि हुँदै जाने हो भने भोजपत्र जस्ता थुप्रै रूख हराउँछन्।