ध्यानस्थ आँखाका आवाज
ललितपुर, पुल्चोकस्थित पार्क ग्यालरी पस्ने बित्तिकै दर्शकका आँखा रातो रंगमा रंगिएको 'थर्ड आई' शीर्षकको चित्रकलामा ठोक्किन पुग्छ। चहकिलो रातो, नीलो, हरियो रंगमा बनाइएका पोट्रेटले दर्शकलाई मुग्ध बनाउँछन्, सँगै हाम्रो चेतनामाथि प्रहार पनि गर्छन्।
“आत्मविश्लेषण गर्दा हामी जसरी आँखा चिम्लिन्छौं, यो त्यही अवस्था होे”, चित्रकार एरिना ताम्राकार भन्छिन्। उनका लागि तेस्रो आँखा भनेको चेतनाको प्रतीक हो।
६ चैतसम्म चल्ने एरिनाको 'इन बिट्विन द थर्ड आई' चित्रकला प्रदर्शनीमा उनका पुराना श्रृखला 'थर्ड आई', मुस्ताङसँगै ताजा चित्रहरू पनि समावेश गरिएका छन्। नयाँ चित्रमा महिला हिंसा विरुद्ध सशक्तीकरणको महत्वको सन्देश पनि छ। नारी र प्रकृति उस्तै हुन् भन्ने भाव पनि छ।
एरिनाका अधिकांश चित्रकलाले दर्शकसँग सोझो संवाद गर्दैनन्। उनी पहिले दर्शकलाई चित्रको भावसँग आत्मसात् गराउन खोज्छिन्। “चित्र बनाउँदा म क्यान्भाससँग निरन्तर संवाद गरिरहेकी हुन्छु” एरिना भन्छिन्, “त्योबेला पहिले बनाएको अवधारणा काम लाग्दैन।”
पाँच महीने भारतीय नाकाबन्दीका बेला भोग्नु परेको यातनालाई एरिनाले उदासी मनोभावका फिक्का र काला रंगहरूबाट अभिव्यक्त गरेकी छन्। “त्यसबेला मलाई चहकिला रंगहरू चलाउनै मन लागेन”, उनी भन्छिन्। त्योबेला उनका क्यान्भासमा एकै रंग खेल्न थाले। सफा टेम्पो र महिला जस्ता पछिल्ला चित्रकलामा कालो र सेतो रंगको प्रयोग हुनुको कारण यही हो। एरिना यसलाई समाजको क्रमबद्ध विकाससँग जोड्न चाहन्छिन्। “सफा टेम्पोमा महिलाको सन्दर्भमा समाज एक कदम अघि बढेको बिम्ब पनि हो यो”, उनी भन्छिन्। तर, आर्थिक स्वतन्त्रता विना महिला पूर्ण स्वतन्त्र नहुने उनको विश्वास छ। नाकाबन्दी शीर्षकमा चित्रकलाको श्रृंखला नै तयार गरिसकेकी उनले प्रदर्शनीको मिति भने तय गरेकी छैनन्।