हिमचितुवाको चिन्ता
-सोनाम टासी लामा
उच्च हिमाली भेगमा पाइने हिमचितुवाको अवस्था हिमाली क्षेत्रको जनजीवनकै सूचक हो । वन्यजन्तु चोरी–शिकारी, बासस्थानको अभाव तथा जलवायु परिवर्तनका कारण हिमचितुवा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को ‘रातो सूची’ मा संकटग्रस्त वर्गमा छ ।
नेपालमा हिमचितुवाको संख्या ३०० देखि ५०० को हाराहारी पाइएको छ । यो संख्या भारत, चीन तथा मंगोलिया पछिको विश्वको चौथो ठूलो हो ।
बढ्दो मानव बस्ती सिर्जित प्राकृतिक स्रोतसाधनमाथिको दोहनले हिमचितुवाको बासस्थान जोखिममा पर्न थालेको छ । घुमन्ते गोठाला–स्थानीयवासीबीच द्वन्द्वसँगै चोरी–शिकारी र जलवायु परिवर्तनले पनि बँचेका हिमचितुवालाई चुनौती दिइरहेको छ ।
इन्ल्याण्ड नर्वे यूनिभर्सिटी अफ अप्लाइड साइन्सका नेपाली वैज्ञानिक मधु क्षेत्री तथा उनको वैज्ञानिक टोलीले हिमचितुवाको बासस्थान, आहार, मानव बसोबासको असरलगायतका विषयमा ६ महीना अध्ययन गरेको थियो । उनको नेतृत्वमा मोर्टेन ओडेन र पेर वेजले तयार पारेको यो अध्ययन हालै मात्र पब्लिक लाइब्रेरी अफ साइन्स (प्लोस) जर्नलमा प्रकाशित भएको छ ।
अध्ययनमा हिमचितुवा र हिमाली ब्वाँसोको दिसा संकलन गरी उनीहरूको आहाराबारे अध्ययन गरिएको थियो । तीन हजार मिटर उँचाइमा रहेको अन्नपूर्ण र मनास्लु संरक्षित क्षेत्रको पाँच हजार वर्ग किलोमिटर क्षेत्रफलमा यो अध्ययन गरिएको थियो ।
अध्ययन प्रतिवेदनमा हिमचितुवा र ब्वाँसोको चरित्र तथा यौनको विषयमा आठ सय वटा नमूना संकलन गरिएको थियो । जसमा, करीब २७ प्रतिशत भन्दा बढी हिमचितुवाको आहारा घरेलु जनावर जस्तै बाख्रा, घोडा, च्याङ्ग्रा, याक र लुलु गाई रहेका छन ।
चितुवाले जिउँदो घोडाको शिकार गर्न असाध्य रुचाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । वैज्ञानिक क्षेत्री अब चितुवाको शिकारले घरेलु जनावरको विनाश हुँदा निम्त्याएको आर्थिक नोक्सानी र हिमचितुवाको संरक्षण गर्ने उपायको खोजीमा छन् ।
लोपोन्मुख हिमचितुवाको व्यापार गर्न अन्तर्राष्ट्रिय रूपमै प्रतिबन्ध लगाइए पनि विश्वमा वर्षेनि करीब ४५० भन्दा बढी हिमचितुवा चोरी–शिकारी हुने गरेको छ । कतिपय शिकारका त समाचार नै आउँदैनन् ।
नेपालले भर्खरै मात्र ‘हिमचितुवा संरक्षण कार्ययोजना (सन् २०१७–२०२१)’ को योजना सार्वजनिक गरेको छ । त्यसो त राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि हिमचितुवा संरक्षणबारे केही काम गर्दै आएको छ ।