ओमप्रकाशको मुरल आर्ट
सुनपानी, संखुवासभाका ओमप्रकाश परियार (३०) को सानैदेखिको सपना चित्रकार बन्ने थियो।
जसै गाउँबाट एसएलसी पास गरे,काठमाडौं हान्निए। ललितकला क्याम्पस पनि भर्ना भए।
तर, परियारले पढाइ पूरा गर्न सकेनन्। कारण थियो, खराब आर्थिक अवस्था।
भोक सामु सिर्जनाले हार खायो। पढाइ छाडेर उनी २०६४ सालमा कामदारका रुपमा साउदी अरब हान्निए।
तर, साउदीमा उनले चित्रकलाकै काम पाए। उनी घरका भित्ता, सिलिङ र पर्खाल रङ्ग्याउने र तिनमा विभिन्न चित्र कोर्ने गर्थे।
यसलाई चित्रकलाको परिभाषामा मुरल कला भनिन्छ। “भाग्यमा पढेर होइन, परेर चित्रकार बन्नु भनी लेखिएको रहेछ, नत्र यस्तो संयोग कहाँ जुर्थ्यो र?” उनी भन्छन्।
चार वर्षपछि स्वदेश फर्कंदा परियारसँग कुनै दोमन थिएन। उनी मुरल चित्रकलामै खटिए।
उपत्यकाका धेरै घर, होटल, रेस्टुरेन्ट, अस्पताल तथा संघसंस्थाको भवनका भित्ता उनकै कलाले सजिएका छन्।
मुरल कलाको लगावकै कारण परियारलाई गत वर्ष दुबईबाटै कामको प्रस्ताव आयो।
त्यहाँ उनले मोरक्कन कलाको अनुभव पनि बटुले।
तीन महीना अघि खोलेको 'प्रशान्त मुरल आर्ट एण्ड डेकोर' मार्फत उनले आफ्नो कलालाई संस्थागत रुप पनि दिएका छन्।
“अहिले कामको खाँचो छैन, दुःख पनि छैन”, उनी भन्छन्।
सविता श्रेष्ठ