कलामय काँकडभिट्टा
पूर्वी सीमावर्ती शहर काँकडभिट्टा १२–१४ फागुनमा कलामय बन्यो । रिडर्स झापा क्लबद्वारा आयोजित ‘कला साहित्य उत्सव’ मा कला साहित्यका साथै राजनीति, अर्थ र समाजका विविध अवयवमाथि बहस भए ।
लोकतन्त्रको उन्नत अभ्यासका लागि जागरणको स्तरोन्नति गरिनुपर्ने बताउँदै उत्सवका प्रमुख वक्ता समाजशास्त्री चैतन्य मिश्रले यसका लागि नागरिक समाज चनाखो हुनुपर्नेमा जोड दिए । २४ वटा विषयहरूमा भएका विविध अन्तरसंवादमा डा. देवेन्द्रराज पाण्डे, डा. युवराज खतिवडा, सीके लाल, नारायण वाग्ले, केदार शर्मा, खगेन्द्र संग्रौला, भूपाल राई, डा. शंकर उप्रेती, सीपी मैनाली, घनश्याम भुषाल, बिन्दा पाण्डे, भारतीय कम्युनिष्ट नेता अभिजित मजुमदारलगायत सहभागी थिए ।
उत्सवमा सहभागी पत्रकार केदार शर्माका भनाइमा, काँकडभिट्टामा भएको बौद्धिक विमर्शले ठाउँकै श्रीवृद्धि गराएको छ । “नाफाको तराजु बोकेर बसेको व्यापारीको यो थलोमा बौद्धिक विमर्श गर्न सक्ने जमात पनि रहेछ भन्ने थाहा भयो”, उनको निष्कर्ष छ । स्थानीय लोकतन्त्र पोष्ट दैनिकका सम्पादक मोहन काजी २०७१ सालदेखि वर्षेनि भइरहेको उत्सवमा हुने बहसले मोफसलको बौद्धिक चेतना उठिरहेको संकेत गरेको बताउँछन् ।
वर्ड वारियर, देही आर्टलगायतको सक्रियतामा उत्सवमा नाटक, प्रत्यक्ष चित्रकला, वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईका अनुसार करीब रु.८ लाख खर्च भएको उत्सवलाई मेची नगरपालिका, जिल्ला विकास समिति, नेपाल टेलिकमले मुख्य सहयोग गरेका थिए । “देश–विदेशका थुप्रैले व्यक्तिगत रुपमा पनि सहयोग गरेका छन्”, प्रसाई भन्छन् ।
गोपाल गडतौला, झापा