अलबिदा 'थापा साहब'
बलियो आवाज लिएर बलिउडमा भर्खरै आएका अमिताभ बच्चनलाई रेश्मा और शेरा मा लाटोको भूमिका दिलाएर नायक सुनिल दत्तलाई बचाउने अरु कोही नभई चलचित्रका सह–निर्देशक बीएस थापा हुन् भन्ने हल्ला पनि थियो कुनै समय।
बलिउडका पहिलो सुपरस्टार राजेश खन्ना र उनकी प्रेमिका अञ्जु महेन्द्रलाई नाटकमा सानो रोल दिएर मञ्चमा टेक्न दिने पनि उनै थापा नै हुन् भन्ने त प्रमाणित नै छ।
यी दुई घटनाका जीवन्त साक्षी थापा आफ्नो जीवनकालमा चौथो नेपाली चलचित्र जीवन मृत्यु बनाउन चाहन्थे। तर, पुर्खाको भूमिप्रतिको यो इच्छा अधूरै छाडेर उनी कहिल्यै नफर्कने गरिको अनन्त यात्रामा निस्के।
संयोग नै मान्नुपर्छ, देहरादुनका गोर्खाली पल्टनको परिवारका दुई छोरा हीरासिंह खत्री र बीएस थापा २०२० को दशकमा नेपाली सिनेमा बनाउन नेपाल आए। यी दुई देहरादुन पल्टन बजारको एपी मिशन हाईस्कूलका उत्पादन थिए।
१५ असोज २०२२ सालमा हीरासिंहको निर्देशनको पहिलो नेपाली कथानक चलचित्र आमा प्रदर्शन हुँदै गर्दा बीएस थापा माइतीघर को शूटिङ गर्दैथिए। निजी क्षेत्रबाट निर्मित पहिलो फिल्म माइतीघर ले प्रदर्शनीको गोल्डेन जुब्ली मनाइरहेकै बेला निर्देशक थापाले संसार छाडे।
गोर्खा पल्टनका सुवेदार नारायणसिंह थापा र लक्ष्मी थापाका छोरा भीमसिंह थापा (बीएस) बलिउडमा 'थापा साहब' नामबाट लोकप्रिय थिए। उनले सुनिल दत्तको अजन्ता आर्टस्मा सहनिर्देशक एवम् संवाद लेखक भएर काम गरे। प्रसिद्ध निर्देशक प्रकाश मेहराको निर्माणमा हिमालय से ऊँचा (१९७५) मा निर्देशन गरे। चरणदास (१९७७), गंगाधाम (१९८०), लक्ष्मी (१९८२), गीतगंगा (१९८२), भूल ना जाना (१९८४) जस्ता चर्चित चलचित्र पनि बनाए।
फूटबल खेलाडी दाजु उत्तमसिंह थापाको प्रेरणाले सिने जगतमा आएका थापाले चरणदास फिल्ममा पहिलो पटक नायक अमिताभ बच्चनलाई देख लो ईश्कका मरतबा गीतमा अतिथि भूमिकामा अभिनय गराएका थिए। माइतीघर मा सुनिल दत्त र राजेन्द्रनाथलाई अतिथि कलाकार बनाउने पनि उनै थिए।
लखनऊ विश्वविद्यालयबाट सन् १९४९ मा एलएलबी गरेका थापाकै सिर्जना थियो, आरके नैयर निर्देशित ये रास्ते है प्यार के को सनसनीपूर्ण अदालती बहस। हिन्दी र नेपालीबाहेक थापाले पञ्जाबी चलचित्र दुखमञ्जन तेरा नाम र मन जीते जग जीत पनि बनाएका थिए। बलिउड पस्नुअघि नै उनले प्रसिद्ध जर्मन निर्देशक फ्रित्ज लाँगे निर्देशित द टाइगर अफ इछानपुर र ब्रिटिश फिल्मकार जे लि थम्पसनसित नर्थ वेस्ट फ्रन्टियर मा थापाले सह–निर्देशकको भूमिकामा आफ्नो प्रतिभाको परिचय दिइसकेका थिए।
कथानक सिनेमाका पिता डेविड वार्क ग्रिफिथ भन्थे, 'हामीले जसरी सास रोकी–रोकी कथा भन्छौं, सिनेमामा कथालाई पनि त्यसरी नै दृश्य दृश्यांशमा विभाजित गरी भन्नसक्नुपर्छ।' थापामा यो खूबी थियो। थापासँग दुईवटै सिनेमामा सहकार्य गरेका चेतन कार्की भन्छन्, “थापाजी पटकथा लेखनमा त प्रखर हुनुहुन्छ नै, कथा सुनाउने कला पनि बेजोड थियो।”
माइतीघर पछि दोस्रो नेपाली चलचित्र बनाउन भने झण्डै दुई दशक पर्खनु पर्यो। माइतीघर को १९ वर्ष पछि चेतन कार्कीको निम्तोमा उनले कान्छी बनाए। चलचित्र त सुपरहिट भयो नै, नारायणगोपाल र अरुणा लामाको स्वर, गोपाल योञ्जनको संगीत र चेतन कार्कीको गीतले चलचित्र संगीतमा मानक नै खडा गर्यो। सन् १९८९ मा मायाप्रीति बनाएपछि भने उनी यता फर्केनन्।
९३ वर्षमा बितेका थापाले नेपाली सिनेमामा अविस्मरणीय योगदान दिएर गए। खासगरी नेपाली सिनेमामा व्यावसायिकता भित्र्याउन, लगानीकर्ता, कलाकार, प्राविधिक र संगीतको महत्ता स्थापित गर्न उनले खास कसरत गरे। अभिनेता सीपी लोहनी, रवीन्द्र खड्का, अभिनेत्री शर्मिला मल्ल, मौसमी मल्ललाई स्थापित गराउने पनि उनै थापा हुन्। चर्चित लोक गायक झ्ालकमान गन्धर्वको आमैले सोध्लिन् नि ख्वै छोरा भन्लिन् पनि उनकै चलचित्र मायाप्रीति मा दृश्यबद्ध भएको थियो। पोखराको सौन्दर्यलाई देश–विदेशमा परिचित गराउनमा पनि उनको योगदान विशेष छ।
देहरादुनको हात्तीबडकला, कालिदास रोडमा जन्मिएका थापाको निधन मुम्बईको अँधेरीस्थित निवासमा भयो। कान्छी पत्नी प्रतिमा गुरुङको मृत्युपछि उनी पुनः प्रथम पत्नीको परिवारमा फर्केर आए, तर उनलाई फेरि चलचित्रमाफर्काउन उमेर, समय र साथीहरूले साथ दिन सकेनन्।
थापाको कथा 'रोजबर्ड' को जस्तै थियो, जीवनको उत्तरार्द्धतिर दुई वर्षअघि उनी फेरि नेपाल आए। सिनेमा बनाउन होइन, आफूले बनाएका सिनेमामा खिचिएका ठाउँहरूको पुनरावलोकन गर्न। पचास वर्षअघि आफूले फिल्ममा उतारेको श्यामश्वेत पोखरा हेर्न उनी पोखरा पुगे र निमग्न आँखाले यो सुन्दर शहर दृश्यपान गरे। त्यसपछि उनी होइन, उनको मृत्युको खबर आइपुग्यो।