साइली: समयको स्वर
सम्वत् ३० को दशकमा चर्चित आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा लोकगायक लोकबहादुर क्षेत्रीको गीत गुन्गुनाउनेहरू अहिले कमै भेटिन्छन् । तर, यो गीतको सान्दर्भिकता भने झनै बढेको छ । गोरखपुरबाट रेलमा चढी भारत र तेस्रो मुलुकमा लाहुरे बन्नेहरूको संख्या स्वात्तै घटेको छ ।
तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै खाडी मुलुकलाई गन्तव्य बनाउनेहरूको भने ताँती नै लागेको छ । हेमन्त रानाको साइली जीवन चलाउन खाडी पुग्ने अहिलेका आम युवाको बाध्यताभित्रको पीडा हो ।
सुन साइली साइली परदेशबाट म आउँला,
सुन साइली साइली चालीस कटेसी रमाउँला ।
सुन साइली साइली दीयोमा तेलै हुरुरु,
सम्झी कहिल्यै नरुनु..
२८ माघमा मात्र युट्यूबमा अपलोड गरिएको साइली को म्युजिक भिडियो ९ फागुनसम्म ४० लाखभन्दा बढीले हेरिसकेका छन् । साइली अल्बममार्फत हिमाल साउद र कालिप्रसाद बास्कोटाको सिर्जनामा हेमन्तको आवाज यतिबेला सर्वाधिक सुनिएको गीत बनेको छ ।
“खासगरी विदेशमा काम गर्ने नेपाली दाजुभाइ र दिदीबहिनीले यो गीतमा आफूलाई पाएको बताउनुभएको छ”, हेमन्त भन्छन्, “मैले पनि उहाँहरूलाई सम्झेर गाएको हुँ ।” गीतसँगै भिडियोका कलाकार मेनुका प्रधान र गौरव पहाडीले पनि चर्चा पाएका छन् ।
‘बाथरुम सिंगर’
कलेज पढ्दासम्म बर्दियाका हेमन्तलाई गायनमा खासै रुचि थिएन । नेपालगञ्जस्थित महेन्द्र माध्यमिक विद्यालय, भृकुटी उच्च मावि र महेन्द्र बहुमुखी क्याम्पस चहार्दासम्म उनी ‘बाथरुम सिङ्गर’ मात्रै थिए । “गायन भन्दा खेलकुदमा रुचि थियो”, उनी भन्छन् ।
हेमन्त सानैदेखि उसु खेल्थे । उसुमा राष्ट्रियस्तरको प्रतियोगितासमेत खेलेका उनको घरमा थुप्रै पदकहरू अहिले पनि सजाएर राखिएको छ । तर, प्रतियोगिताकै क्रममा काठमाडौं आउँदा साथीहरूमाझ गीत गाएका उनलाई त्यो वाह्वाहीले गीत रेकर्ड गराउने चाहना बढायो ।
२०५९ सालदेखि गाउन शुरु गरेका हेमन्तले २०६१ मा पहिलो अल्बम निकाले, पाप पुण्य । पहिलो अल्बमले नै उनलाई उत्साह दियो । तीन वर्षपछि दोस्रो अल्बम आयो, लैजा रे । यो अल्बमको शीर्ष गीतले हेमन्तलाई आशा गर्न सकिने प्रतिभाका रुपमा स्थापित गरायो ।
२०६६ मा निकालेको मेरो आकाश ले उनलाई थप उँचाइमा पु¥यायो । बास्ना विना, केही कुरा, सयौं जुनी, जति माया लाए पनि, लैजा रे लगायतका उनका पुराना गीत दर्शकका रोजाइमा परिरहेकै छन् ।
तर, यही बेला हेमन्त अमेरिका हान्निए । न नयाँ गीत आए, न अल्बम । एक हिसाबले हराए । “म अमेरिका–नेपाल आउजाउ गरिरहेकै थिएँ, गीत पनि गाइरहेकै थिएँ, तर नयाँ अल्बम निकाल्न सकिनँ”, उनी भन्छन् ।
द इनर कोर
साइली सँगै फर्किएका हेमन्तले भर्खरै ब्याण्ड बनाएका छन्, द इनर कोर । पाँच जनाको यो ब्याण्डमा उनीसहित विशाल पौडेल, सुरेन्द्र लामा, सुरज बिष्ट र सुन्दर महर्जन छन् ।
तर, ब्याण्डको नयाँ प्रस्तुति भन्दा पहिले साइली अल्बमका अन्य सात गीतको प्रचारमा केन्द्रित हुने हेमन्तको योजना छ । हेमन्त र कालिप्रसादसँगै यी सात गीतमा कल्याण सिंह, सन्नी सुमनको सिर्जना पनि रहेको छ । अल्बमका बोक्सी, ऐना, जीवनको कहानी, देब्रे संसार, पीपल बोट, तिमी नभइ र भन’ गीतलाई विस्तारै सार्वजनिक गर्ने सोच उनीहरूले बनाएका छन् । “पालैपालो यू–ट्यूबमार्फत सार्वजनिक गर्छौं”, हेमन्त भन्छन् ।
साइली को सफलताले अरु गीत ‘कस्तो हुने हो’ भन्ने थोरै डर पनि नभएको होइन । तर, यसले उत्साह थपेको उनी बताउँछन् । हेमन्तलाई भने त्यसमध्येको पनि 'भन' गीतले छोएको छ । 'भन' मा भनिएको छ,
रमाइलो पलमा रमाइलो क्षण छ,
साथीसंगी धेरै छन् तर तिमी छैनौ ।
कसो गरी बुझौं म कसो गरी सोचुँ म
तिमीसामु आउने बहाना खोजुँ म
भन...