कलाभित्रको जीवन
चारूकलाको जेनुयल आर्ट ग्यालरीको भिडमा लामो कपाल भएका र अनुहारले निर्दोषपना देखाउने चित्रकलाका विद्यार्थी टेण्डेन छोपेल प्रवेश गरे । भूटान घर भएका उनको आँखा ग्यालरीभित्र रहेका विभिन्न तस्वीरमा निकै बेर रोकियो । दुईवटा एक्जिविसन हलमा झुण्डिरहेका चित्रले उनको मन तानिरहेको प्रष्टै देखिन्थ्यो । कलाले सबै चिजको अनुभूति दिलाउँछ । बंगलादेश र नेपालको आत्मिय सम्बन्ध कलाकारहरुले आत्मसाथ गरि एकैठाउँमा मिश्रण गराएको आभाष प्रदर्शनीले गराएको थियो ।
चित्रकार किशोर नकर्मीले आफ्ना चित्रहरुबाट विश्वशान्तीको लागि प्रतिनिधित्व गराउने प्रयास गरेका थिए । दिल्लीमा बस्ने मिथुन गोलदारले सो प्रदर्शनीमा नकर्मीका चित्रमा शान्तिको भाव देखे ।
नेसनल युनिभर्सिटीका उप–रजिष्ट्रार हसन उल रहमान अजय देशारका चित्रमा मोहित भए । उनकी छोरी ढाकामा सात कक्षा पढ्दै गर्दा छोरीको कलाको चाहानाले उनलाई पनि कलाप्रेमी बनाएको रहेछ । चित्रकार देशारको हिरो अफ जात्रा नामको चित्रबाट नेपालको नेवार जातिको पहिचान विश्वमा देखाउने प्रयास गरेकाे देखियो ।
प्राज्ञ ज्योतीप्रकाशको चित्रको क्रिएटीभिटीमा अत्याधिक क्षमता भेटेकी ढाकाकी फारियाले नेपालका चित्रमा प्रयोग गरिएको रातो रङ्को प्रशंसा गर्दै भनिन्, “नेपालीले प्रयोग गर्ने रातो रङ् आँखाका लागि सहज भएकाले सिम्पल इज स्पेशल भन्ने नारा चरितार्थ भएको छ ।”
ढाकाका करिन मोहम्मद, चित्रकार सितु मास्केका हिडन मोनस्ट्री नामक चित्रमा धेरैबेर घोरिए । उनी त्यो चित्रमा आफैं त्यहाँ पुगेको आभाष गरिरहेका थिए । “मास्केका चित्रमा मोनस्ट्री देखाइएको छ ।” करिनले प्रतिक्रिया दिए ।
जगन्नाथ विश्वविद्यालयमा अध्ययनरत मनोविज्ञान विषयका विद्यार्थी सुकदेव विश्वासले विपना महर्जनद्धारा चित्रित चित्रमा छुट्टै भाव भएको विचार राखे । हिमालका काखमा शान्तिको सुख भेटेका उनले ती चित्रमा शान्तिको आभाष गरिरहेका थिए ।
बंगाली चित्रकार उर्मिला सुक्लाको चित्रले धेरैलाई तान्ने प्रयास गर्याे । अवलोकनमा आएकी फाडिया नौसिनले सुक्लाको चित्रलाई नियाल्दै फरकपन महसुस गरिरहेकी थिइन् । सबै चित्रमा क्यानभाषमा बढी मात्रामा रङ् खेलिरहेको देखिएकोमा सुक्लाको क्यानभास र र फरक पाइन नौसिनले । चित्रकार सुक्ला भन्छिन्, “पातले पनि धेरै कुरा बोलिरहेका हुन्छन् ।”
चित्रप्रेमी शान्ता मुस्तरिफामिदा चित्रकार आडिफुर तोपुले निर्माण गरेको इम्प्रेसन अफ वासपुर नामको चित्रमा नयाँ प्रयोग देखिन् ।
ताहसिना नाज्निन सुचि, रानिया आलम, अब्दुस सतार तफिक, सिबानन्द अधिकारी विप्लब, सञ्जिब कान्ति दास, मेहेदी हसन, मोहम्मद आरिफुज्जमान, एसएम ऐहेसन, रसिद कमाल रासल, प्रोफेसर देवान मिजान रहमान, हामिदुज्जमान खानका चित्रहरुले प्रदर्शनीको सोभा बढाएको थियो ।
प्रदर्शनीको बिचमै नेपालका चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमय प्रस्तुती पनि प्रदर्शनीको आकर्षणको रुपमा रह्यो । उनलाई विभिन्न बंगाली कलाकारहरुले समेत साथ दिए ।
बंगलादेशको राजधानी ढाकाको जेन्यूल आर्ट ग्यालरीमा फ्लेम आर्टस् ओपन स्टुडियोले आयोजना गरेको एक हप्ते प्रदर्शनी तथा वर्कसप कार्यक्रम झण्डै २५ हजार दर्शकले अवलोकन गरेका थिए ।