माया प्रत्यारोपण
भोजबहादुर घले (४४) हरेक दिन बिहान ६ बजे उठ्छन् । चिया पकाउँछन् । घामको किरणले सुनौलो रंगको तन्ना स्पर्श गरेसँगै उनीहरु एकसाथ चियाको चुस्की लिन्छन् र त्यस दिनको योजना बुन्छन् । यी जोडीका लागि हरेक दिन एकसाथ हुनु नै एक उपहार हो ।
पाँच वर्ष पहिले जब सावित्री (४२) का दुवै मिर्गौला काम गर्न छोडेको भन्ने थाहा भयो, भोजबहादुर आफैं मिर्गौला दिन अघि सरे । वीर अस्पतालमा अहिलेसम्म गरिएका मिर्गौला प्रत्यारोपणका एक सय १४ उपचारमा पाँच जना मात्र यस्ता श्रीमान् देखिए, जसले श्रीमतीका लागि मिर्गौला दिए । भोजबहादुर तिनै दुर्लभ पाँचमध्येका एक हुन् ।
“मेरी श्रीमती मैले नबचाए कसले बचाउँछ ? म उनीविना बाँच्न पनि त सक्दिनँ”, यसो भनिरहँदा भोजबहादुरका आँखा आँसुले भरिएका थिए । तर, यो काम सजिलो थिएन । श्रीमतीलाई मिर्गौला नदिन उनले टाढा होइन आफ्नै परिवारबाटै ठूलो दबाब सहनुपरेको थियो ।
श्रीमतीका मिर्गौला काम नलाग्ने भएको थाहा पाएलगत्तै भोजबहादुरको मन साउदी अरबमा अडिएन । उनी फर्किए । सन् २०१२ मा वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सफल भयो । शल्यक्रियाको दुई दिनपछि आईसीयू कक्षमा भएको श्रीमान्–श्रीमतीको भेट उनीहरुले अहिलेसम्म बिर्सन सकेका छैनन् । दुवैका आँखा जुधे, निशब्द, आँखाबाट आँसुमात्रै झरिरह्यो । त्यो घले दम्पतीको जीवनकै सबैभन्दा खुशीको क्षण थियो । “श्रीमतीले सास फेरिरहेको देख्दा मैले आफ्नो सारा पीडा बिर्सिएछु”, गोङ्गबुको भाडाको घरमा सावित्रीतिर हेर्दै उनले भने ।
तनहुँका भोजबहादुर र लमजुङकी सावित्रीको विवाह भएको २० वर्ष पुग्यो । मागी विवाह थियो तर पहिलो हेराइमै आपसमा विश्वास पलाएको दुवैको अनुभूति थियो । भाग्यले जुराएको अर्को कुरा पनि थियो । यी दुवैको रगत समूह पनि एउटै थियो, प्रत्यारोपणका लागि आवश्यक ह्युमन लिउकोसाइट एन्टिजेन कोष पनि एउटै ।
मिर्गौला प्रत्यारोपणपछिका वर्षहरुमा दम्पतीको उपचारमा संलग्न चिकित्सक राजेन्द्र अग्रवाल भोजबहादुर र सावित्रीको जोडी अद्वितीय भन्न रुचाउँछन् । श्रीमान्ले श्रीमतीलाई मिर्गौला दिएका दुर्लभ घटनालाई भोजबहादुरले सम्भव बनाएको बताउँदै उनी भन्छन्, “यो मायाको शक्ति हो, उनीहरु वास्तवमै एकअर्काका लागि बनेका हुन् ।”
वीर अस्पतालबाहेक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रमा पनि मिर्गौला प्रत्यारोपण गरिन्छ । तर, त्यहाँ पनि मिर्गौला दान दिने ९० प्रतिशत महिला नै छन् ।
सावित्रीलाई मिर्गौला दिएपछि भोजबहादुर केही कमजोर भएका छन् । तर, श्रीमतीको सहनशक्तिका अघि आफ्नो पीडा केही नभएको उनी बताउँछन् । दुवै काम गर्ने स्थितिमा नफर्किएकाले जीवनयापन र दुई सन्तानको पढाइका लागि बाँकी परिवारसँग भर परेका छन् ।
“आफ्नो ज्यान माया मारेर मलाई बचाउने श्रीमान् पाउनुभन्दा ठूलो भाग्य के हुनसक्छ र ?” सावित्रीले गहभरि आँसु पार्दै भनिन्, “उहाँ नहुनुभएको भए म मरिसक्थें ।”