चरा परिवार
सन् १९७० ताका अमेरिकी पन्छीविद् रोबर्ट एल फ्लेमिङका बुवा–छोरा र लैनसिंह वाङ्देल लिखित पुस्तक बर्ड्स अफ नेपाल का लागि चित्र बनाउने प्रस्ताव पाउँदा हीरालाल डंगोललाई आफ्नो सम्पूर्ण जीवन यही कर्ममा समर्पित होला भन्ने लागेकै थिएन।
तर, वितेका ५० वर्षमा चराका तीन हजार पेन्टिङ बनाइसकेका डंगोलको परिवार नै अहिले प्रकृति चित्रकलाका लागि प्रख्यात भइसकेको छ। डंगोलका चार सन्तान समेत यही कर्ममा दत्तचित्त छन्। “एउटा पेन्टिङ बनाउन मलाई पाँचदेखि ६ दिन लाग्छ, आजसम्म कहिल्यै पनि काम नसक्दै उठौं जस्तो लागेको छैन”, ७७ वर्षीय फूर्तिला हीरालाल भन्छन्।
हीरालालका जेठा छोरा पुष्पलाल (५५) आफ्नो बाल्यकाल असाधारण रहेको सुनाउँछन्। भन्छन्, “अरु साथीहरु गृहकार्यमा व्यस्त हुँदा मैले बुवाले बनाएका चित्रमा रंग भरिरहेको हुन्थें।” हीरालालका सन्तानहरु पुष्प (५१), मीना (४९), प्रतिमा (४५) र ईश्वर (४२) ले बाबुको सम्मानमा गत महीना नेपाल आर्ट काउन्सिलमा चराका पेन्टिङहरुको प्रदर्शनी गरेका थिए। “साथीहरु खेलिरहेका हुन्थे हामी भने पेन्टिङमा व्यस्त हुन्थ्यौं”, जेठी छोरी मीनाको अनुभव छ, “कहिलेबाट कलाकार बन्यौं थाहा छैन।”
पहिले पौभा चित्रकार रहेका हीरालालले चर्चित कलाकार वाङ्देलको सम्पर्कबाट चराको चित्र बनाउन सिके। वाङ्देलले नै हीरालाल र उनका समकक्षी हेम पौड्याललाई फ्लेमिङसँग भेट्टाइदिएका थिए।
बुवा जस्तै पुष्पलाई पनि अरु काममा मन गएन। “तर, अचेलका युवा नामभन्दा दामलाई प्राथमिकता दिन्छन्”, १२ वर्षको अमेरिका बसाइपछि भर्खरै स्वदेश फर्किएका पुष्प भन्छन्।
शुरुमा चराको पोट्रेट बनाउने गरेका पुष्पले पछि बासस्थान समेत बनाउन थाले। अहिले उनी नेपालमा पाइने अन्य वन्यजन्तुको पनि चित्र कोर्न थालेका छन्।
मीनाको दक्षता भने शिकारी चरामा छ। “शिकारी चराका आँखामा गज्जबको आकर्षण हुन्छ, शक्ति देखिन्छ”, लाटोकोसेरोको पेन्टिङतर्फ औंल्याउँदै उनी भन्छिन्।
प्रतिमा भने एउटै क्यानभासमा धेरै चरा बनाउँछिन्। भर्खरैको प्रदर्शनमा उनले नेपालमा चराको विविधता दर्शाउने पानी रंगमा बनाएका समूह पोट्रेट निकै रुचाइए। उनका पेन्टिङमा सूक्ष्म विषयलाई विस्तारमा वर्णन गरिएको हुन्छ। ईश्वरको साना र दुर्लभ प्रजातिका चरामा रुचि छ।
तथ्यांक अनुसार, नेपालमा ८८० प्रजातिका चरा पाइन्छन्। यो संख्या सम्पूर्ण उत्तरी अमेरिकामा पाइने भन्दा धेरै हो। तर आप्रवासी र केही रैथाने चराहरु यतिबेला संकटमा छन्। “नेपाल पर्यटन र जलस्रोतमा धनी छ भन्ने सुन्दै आएका हौं, म नेपाल चरामा पनि धनी छ भनेर चिनाउन खोज्दैछु” ईश्वर भन्छन्। सानो छँदा काठमाडौं उपत्यकामा सजिलै देखिने तोपचरा अचेल देखिन छाडेकाले उबेलाको सम्झनाबाटै चित्र बनाइरहेको उनी बताउँछन्।
माओवादी द्वन्द्वका बेला व्यवसाय सेलाएपछि कालीमाटीमा घर नजीकै रहेको डंगोल आर्ट ग्यालरी बन्द भयो। प्रतिमा आफू १४ वर्षकी छँदा पहिलो पेन्टिङ ग्यालरीबाटै बिक्री गरेको सम्झिन्छिन्। अहिले उनीहरुका 'कलेक्सन' घरमै थन्किएका छन्।
काठमाडौंमा कलापारखी बढिरहेको बेला डंगोल परिवारलाई वाइल्डलाइफ आर्ट सिकाउने एउटा स्कूलको आवश्यकता महसूस भएको छ। “अब चित्रकला बिक्रीमा विदेशीको भर पर्नुपर्दैन, नेपालीले पनि पेन्टिङ किन्न थालेका छन्”, हीरालाल भन्छन्।
आँखा कमजोर हुँदै गएको बताउने हीरालाल अहिल्यै चित्रकारिता छाड्ने पक्षमा छैनन्।