बेहाल सामाजिक शिक्षा
- गोपाल गड्तौला, झापा
पूर्वी मोरङको मधुमल्ला–२ स्थित भगवती माविमा गत ७ पुसमा भएको १० कक्षाको १०० पूर्णाङ्कको सामाजिक विषयको अर्धवार्षिक परीक्षा दिएका ५९ विद्यार्थीमध्ये रोल नं. ९ खगेन्द्र लुइँटेल मात्र उत्तीर्ण भए, ४४ अंक ल्याएर। ४० ल्याउँदा पास हुनेमा ३२ जनाले १० भन्दा कम अंक ल्याए। प्रावि दरबन्दीमा नियुक्त भएर माविमा सामाजिक पढाइरहेका अंग्रेजीमा स्नातकोत्तर शिक्षक रमेश काफ्लेले एकसाता लगाएर जाँचेको उत्तरपुस्तिकामा चार जनाले १ र तीन जनाले त १.५ मात्र ल्याएका छन्। बाँकीले १० देखि ३९ अंकसम्म ल्याएका छन्।
त्यही दिन भएको ९ कक्षाको सामाजिक परीक्षाको नतीजा पनि त्यस्तै छ। ७५ पूर्णाङ्कको परीक्षा दिएका ४० जनामध्ये २८ विद्यार्थीले १० नघाएनन्। उत्तीर्ण तीनमध्ये एकजनाले सर्वाधिक ३९.५ अंक ल्याए। मात्र एक अंक पाएका चारले उत्तरपुस्तिकामा केही प्रश्न सारेकासम्म छन्। सामान्यभन्दा सामान्य प्रश्नको पनि प्रायः विद्यार्थीले उत्तर लेखेका छैनन्। अंग्रेजीमा स्नातकोत्तर शिक्षक सायराबानु राई यसमा आफूमात्र दोषी नभएको बताउँछिन्। “नढाँटी भन्छु” उनले भनिन्, “सामाजिक विषय म आफैं धेरै जान्दिनँ, त्यसमाथि किताब पनि गतिलो छैन।”
के भएको यस्तो?
विद्यालय शिक्षामा अंग्रेजी, गणित र विज्ञानलाई कठिन विषय मानिन्छ। अंग्रेजी विदेशी भाषा, गणित तथा विज्ञान सूत्र र नियमको परिधिबाट बुझनुपर्ने भएकोले कठिन मान्ने गरिन्छ। तर, नेपालीमै पढ्न र समाजबारे जान्न पाइने, गणित, अंग्रेजी र विज्ञान जस्तो ट्युसन पढ्नुपर्ने विषय नमानिने सामाजिकको नतीजा किन यस्तो कमजोर आयो त? “सबभन्दा बढी पढेका शिक्षकहरूलाई सामाजिक पढाउन लगाउँदा पनि यति निराशाजनक नतीजा आयो”, प्रधानाध्यापक विजयकुमार गुप्ता भन्छन्, “विषयगत विज्ञता भएको शिक्षक नहुँदा यस्तो भयो।”
उनी आफैं निमाविको दरबन्दीका शिक्षक हुन्। सामाजिक विषयको स्तर उकास्न अन्य विद्यालयमा झैं भगवतीमा पनि कुनै अतिरिक्त प्रयास भएको छैन। अन्य विषयको सरदर उत्तीर्ण दर पनि ४५ प्रतिशत मात्र छ।
मोरङकै राजघाट–८ स्थित सार्वजनिक माविको हविगत पनि उस्तै छ। त्यही समयमा भएको ९ कक्षाको सामाजिक विषयको परीक्षा दिएका २७ विद्यार्थीमध्ये एकजना र दश कक्षाका ३५ मध्ये दुईजनाले मात्र ४० कटाए। दश कक्षाको रोल नं. १ सुमित्रा अधिकारीले सर्वाधिक ४२ र रोल नं. २ प्रवेश लिम्बूले ४१ ल्याएर 'जस्ट पास' गरे भने कक्षा ९ का रोल नं. १ सञ्जय धिमालले ४२। कक्षा १० का २१ जना र नौ कक्षाका २२ जनाले २० भन्दा कम अंक ल्याए।
२३ वर्षअघि पूरक परीक्षा दिएर जसोतसो प्रमाणपत्र तह उत्तीर्ण गरेका मानबहादुर धिमाल सार्वजनिक माविका एक्ला सामाजिक शिक्षक हुन्। २०६८ सालमा मावि स्वीकृत यस विद्यालयमा मावि दरबन्दीका शिक्षक छैनन्। प्राविका ६ र निमावि दरबन्दीका चार गरी कुल १० शिक्षकका भरमा चलेको सार्वजनिक माविका प्रमाणपत्र तह उत्तीर्ण प्रअ टंक दुलाल पनि प्रावि दरबन्दीकै शिक्षक हुन्। विद्यालयमा ३५० विद्यार्थी छन्।
कुनै बेलाको नामी उर्लाबारी–४ स्थित राधिका माविको सामाजिक शिक्षा अध्ययन/अध्यापनको हालत पनि भगवती र सार्वजनिक माविको जस्तै छ। पुसमा सँगसँगैजसो भएको अर्धवार्षिक परीक्षामा राधिका माविका कक्षा १० का ३३ मध्ये २७ विद्यार्थी अनुत्तीर्ण भए।
राधिका माविमा २८ वर्षदेखि सामाजिक शिक्षा पढाइरहेका शिक्षक तीर्थ श्रेष्ठ झापामा चिनिएका नेकपा एमालेका कार्यकर्ता हुन्। शिक्षामा स्नातक उनी शिक्षणभन्दा झापा क्षेत्र नम्बर–७ को कार्यालय सचिवको भूमिकामा राम्ररी जमेको देखिएको छ। उनले पढाएका नौ कक्षाका ३३ मध्ये २३ विद्यार्थी यसपालिको अर्धवार्षिक परीक्षामा फेल भए।
उसो त, सहायक प्रअ समेत रहेका टंकप्रसाद दाहालले पढाएका उर्लाबारी–७ को सुनपकुवा माविका कक्षा १० का १५१ मध्ये १०५ विद्यार्थी अनुत्तीर्ण भए। तीमध्ये ४१ जनाले १९ भन्दा कम अंक ल्याएका छन्। ३५ वर्षदेखि सामाजिक विषय पढाइरहेका दाहाल यसमा आफ्नो कमजोरी देख्दैनन्। “जानेसम्म पढाएकै छु” उनी भन्छन्, “धेरैजसो विद्यार्थीको ध्यान पढाइलक्षित पाउँदिनँ।”
सुनपकुवा माविमा १० कक्षाको तीन वटा सेक्सनमध्ये प्रअ भूमिराज प्याकुरेलले पढाउने सेक्सन 'ख' का ४७ विद्यार्थीमध्ये ६ जना सामाजिक विषयमा उत्तीर्ण भएका छन्। अनुत्तीर्ण ४१ मध्ये ६ जनाले १० भन्दा कम अंक ल्याएका छन्। कक्षा ९ को सामाजिक भने प्रावि दरबन्दीका नारदप्रसाद सुवेदीले पढाइरहेका छन्। १६ माघमा हिमाल संवाददाता पुग्दा कक्षा ९ को उत्तरपुस्तिका जाँचेर रेकर्ड तयार भइसकेको थिएन। शिक्षक सुवेदीले अर्धवार्षिक परीक्षामा नौ कक्षाका ६५ प्रतिशत जति विद्यार्थी फेल भएको हुनसक्ने अनुमान सुनाए।
कमसल शिक्षक र पुस्तक
भूगोल, अर्थतन्त्र, राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, चाडपर्व, भाषालगायतका विधाका पाठ्यसामग्री अटाइएको सामाजिक पढाउन कुनै तालीम नलिएका र अरू विषय पढेका शिक्षक खटाइनुले यो विषय हेलाँमा परेको दर्शाउँछ। त्यसमाथि, विद्यालयहरूले सामाजिकलाई टिफिनपछिको पिरियडमा राखेका छन्।
अंग्रेजीमा स्नातकोत्तर गरेकी भगवती माविकी सामाजिक शिक्षिका सायराबानु राई कक्षामा पसेर पाठ भट्याउन भन्दा ज्यादा गर्न नसकेको स्वीकार्छिन्। आफैंले सामाजिक विषयको परीक्षा दिनु परे राम्रो अंक ल्याउन नसक्ने इमानदार स्वीकारोक्ति उनको छ। “त्यसबाहेक, सामाजिक किताब पनि राम्रो छैन”, उनी भन्छिन्।
हुन पनि, कक्षा १० कै सामाजिक किताबमा अधिकांश नक्शा चिनिंदैन, मसी लत्पतिएको अक्षर बुझ्िंदैन। पृष्ठ २२ मा नेपाली पुरुषको सरदर आयु ५८.३ र महिलाको ५९.८ उल्लेख भएको तालिका छ, तर नेपालीको सरदर आयुले ७१ वर्ष नाघेको तथ्यांक आएको तीन वर्ष भइसकेको छ। २०७१ सालको एसएलसी परीक्षामा संघीयता सम्बन्धी प्रश्न सोधिएको थियो, जबकि पाठ्यक्रममा पाँच विकास क्षेत्रबारे मात्र उल्लेख छ। “सामाजिक शिक्षा पाठ्यक्रममा मात्र भर परेर पढाउन सकिने विषय नै होइन”, मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रप्रसाद खनाल भन्छन्, “शिक्षकले बहु विषयमा निरन्तर जानकारी राखेर कक्षामा पस्नुपर्छ।”
कुरा शतप्रतिशत सही हो, तर ५०९ मावि दरबन्दी भएको मोरङमा १५२ शिक्षक अपुग रहेको जिशिअ खनाल नै बताउँछन्। मोरङमा १५८ सामुदायिक मावि छन्, अन्य विषय पढेका, कुनै तालीम नलिएका र जमानाका प्रमाणपत्र तहले सामाजिक जस्तो बृहत्तर विषय पढाइरहेका छन्, त्यो पनि कम दिन र घन्टी। मोरङको यो अवस्थाले पूरा नेपालको समाज अध्ययनको नक्शा देखाइरहेको छ।