महीनावारी आख्यान
'देउपित्तर रिस्सिन्छन् छाउ नबारे। एक्लै बस्नुपर्छ, लुकेर दिन काट्नुपर्छ। दाजुभाइलाई हेर्नुहुँदैन। कसैले पहिले नै भनिदिएका भए म घरमा एक्लै सुत्ने, एकान्तमा एक्लै बस्ने बानी लगाउँथे नि!'
राज सरगम लिखित छाउघर उपन्यासकी मुख्य पात्र कलाको महीनावारी (छाउ) भएको दोस्रो दिन मनमा खेलेका कुरा हुन्, यी। सानी बच्ची केही जान्दिनँ भन्दै एक्लै कतै नपठाउने परिवारले छाउ हुँदा भने उनलाई गोठमा एक्लै बस्नुपर्छ भन्दै अँध्यारो कोठामा लुकाउँछन्। त्यसबेला कलाको बाल मानसिकतामा खेलेका कुरा उनका मात्र होइनन्, पहिलो पटक महीनावारी भएर गोठमा बस्ने सबै किशोरीको हो।
छाउघर १२ वर्षको उमेरमा पहिलो पटक महीनावारी भएर छाउगोठमा लुक्न बाध्य बालिकाको कथा हो। अँध्यारो गोठमा बसेर जिन्दगीको ठूलो सपना बुन्दै २२ दिन काटेकी कलाको व्यथा हो।
शरीरमा आएका परिवर्तन मात्र होइन, महीनावारीका क्रममा रगत देखिंदा समेत 'म महीनावारी भएछु' भनेर ज्ञान दिन नसक्ने शिक्षा प्रणालीले विद्यालय र शिक्षकप्रति नकारात्मक सोच विकास गराएको पुस्तकको तर्क छ। हिजोसम्म सानी भन्ने परिवार महीनावारी भएपछि एकाएक 'ठूली भइस्, यो गर्न हुन्छ यो गर्न हुन्न' भनेर धेरै जिम्मेवारी थपिदिएपछि परिवारका सदस्यप्रति नै वितृष्णा जाग्ने कुरालाई पनि लेखकले सरल तरीकाले व्याख्या गरेका छन्। छाउको पीडाले 'ठूली भएर गल्ती नै गरेछु' भन्नेे मनोवैज्ञानिक असर पनि राम्रोसँग प्रस्तुत गरिएको छ।
महीनावारी बसेकी भागीरथी दिदीको सर्पले टोकेर मृत्यु, रुपा भाउजूले गोठमा बच्चा जन्माउँदा भोगेको पीडा, राति नचिनेका पुरुषले गर्ने जबर्जस्ती र दिनभर महीनावारी भएका महिला हिंडेको बाटो नहिंड्ने तर रात परेपछि छाउगोठमै लसपस गर्ने पुजारीका कर्तुत; कला महीनावारीका बेला यस्ता थुप्रै यथार्थसँग पहिलो पटक साक्षात्कार हुन्छिन्। 'दिनमा छुन नहुने पुरुषले रातमा कसरी महीनावारी भएका महिलालाई छोएका?' कला मनमनै प्रश्न गर्छिन्। महीनावारीको समयमा माछा, मासु, दूध जस्ता खानेकुरा खानै नहुने कुराले किशोरी तथा सुत्केरी महिलाले भोगेको कष्टपूर्ण दैनिकीले पनि ती बालिकालाई नराम्ररी चिमोट्छ। हुरीले छाउगोठको छानो उडाइदिएर गोठभरी पानी पस्दाको कष्ट अनि सर्प र बिच्छीको टोकाइले मर्नुपर्ने अवस्थालाई यथार्थपरक ढंगबाट प्रस्तुत गर्नु उपन्यासको सफलता हो।
महीनावारी बार्दा आफूले भोगेको पीडा र आफ्ना अगाडि आफन्त महिलाले भोगेका पीडाले महीनावारी भनेको डरलाग्दो कुरा रहेछ भन्ने सोचेकी बालिकालाई अब बच्चा रहिनस् छोरेट्टी भइस् भनेर पटक पटक भन्दा ठूली भएर गल्ती नै गरेछु भनेर परेको मनोवैज्ञानिक असरलाई पनि राम्रोसँग प्रस्तुत गरिएको छ। विद्यालयमा नियमित छात्रा भनेर प्रत्येक महीना पाउने पुरस्कार पनि महीनावारीले खोसिदिने भएपछि बालिकाको मनमा चिन्ता त परेको देखिन्छ नै महीनावारी भएपछि प्रत्येक महीना सात दिन विद्यालय जान नपाउँदा हुने पीडा पढ्दा लाग्छ महीनावारीले साँच्चिकै धेरै बालिका, किशोरी र महिलाको स्वतन्त्रता खोसिदिएको छ।
गर्भवतीलाई गोठमा बच्चा जन्माउन बाध्य पार्ने, चिसो गोठमा बच्चासँगै बस्नुपर्ने बाध्यताले झनै समस्या पारेको देखिन्छ। पहिलो महीनावारी भएदेखि अन्तिम महीनावारी नहुन्जेल ४५―५० वर्षको उमेरसम्म हरेक महीना सात दिन गोठमा भोग्नुपर्ने बाध्यतालाई उपन्यासले राम्रोसँग प्रस्तुत गरेको छ।
देउता खुशी पार्नकै लागि एउटी महिलाले कतिसम्म यातना भोग्दछन् भन्ने कुरा बुझ्न छाउगोठ पर्याप्त छ। महीनावारी र सुत्केरीको समयमा गोठमा बस्नुहुन्न भन्ने बुझेका शिक्षित महिला पनि परिवार र समाजको दबाबमा गोठमा बस्न बाध्य हुनुलाई चाहिं विडम्बना नै मान्नुपर्छ।
नेपाली आख्यान परम्परामा 'छाउपडी' कुप्रथाबारे लेखिएको छाउघर दुर्लभ उपन्यास मान्न सकिन्छ। त्यसमाथि पनि कुनै पुरुष लेखकले महिलाका शारीरिक पीडाबारे यति गहिरोसँग उपन्यास रचना गर्नु चानचुने कुरा होइन। उपन्यासकार सरगमले महिला संवेदनशीलता जसरी बाहिर ल्याएका छन्, यो काम महिला लेखकले नै ल्याइदिएको भए झनै कत्ति जाती हुन्थ्यो भन्ने कुरा उपन्यास नसिध्याउञ्जेल खट्किरहन्छ। तर, महिलाका समस्या महिलाबाट मात्रै आउनुपर्छ भन्ने दृष्टिदोषबाट समाज मुक्त हुनैपर्छ। महिलाका समस्या समाधानका लागि सरगमजस्ता थुप्रै लेखकले होस्टेमा हैंसे गर्नुपर्छ। यो 'दुस्साहस' मा छाउघर का लेखक सरगम खरो उत्रिएका छन्।
पुस्तक: छाउघर
लेखक: राज सरगम
प्रकाशक: फाइनप्रिन्ट बुक्स
पृष्ठ: २२०+८
मुल्य: रु.३००