वाह्, गजल!
यतिसम्म प्रीति गरी गरी, न यता भएँ न उता भएँ...
मोतीराम भट्टको यो गजलले जब भक्तराज आचार्यको स्वर भेट्यो, अनि मात्र लोकप्रिय भयो। उनै भक्तराज पुत्र सत्यराज यतिबेला गजल अल्बम मधुशाला लिएर आएका छन्। अल्बममा स्वर मात्रै होइन, रचना र संगीत पनि उनकै छ। एकै सर्जकको यस्तो संयोगलाई सत्यराज 'ऐतिहासिक' भन्न रुचाउँछन्।
मधुशाला मा आठ वटा गजल छन्। प्रत्येक गजल एउटै भावको आभास हुने मुसल्सल शैलीमा लेखिएका छन्। “संगीत संयोजन र गायनमा द्विविधा नहोस् भनेर जानीजानी यो शैली अपनाएको हुँ”, सत्यराज भन्छन्। गजलजस्तो कठिन विधामा लागेका उनी आफूद्वारा लिखित १११ वटा गजलको पुस्तक निकाल्ने तयारीमा समेत छन्। पुस्तकको नाम 'सुलेमी' जुराएका छन्। दार्जीलिङका कवि जस योञ्जन 'प्यासी' ले सुलेमीको अर्थ मदिरा खन्याइदिने महिला लगाएकाले यही नाम रोजेको उनको भनाइ छ।
'गोरीभन्दा मलाई त काली मन पर्यो, अलि सोझी अलि अलि जाली मन पर्यो', मा जमेका सत्यराजको आज एउटा, याद तिम्रो र नचलाऊ मलाई कर्णप्रिय छन्। तर, सबै गजलले यही स्तर नाप्न सक्तैनन्। जस्तो कि, आज एउटा खाम देखें, त्यहाँ तिम्रो नाम देखें, गजलमा उनी 'अस्ताएको आकाश' र 'मुटुभरि डाम' देखेको अमिल्दो कुरा गर्छन्। खाम र नामको उनको प्रयोगले नखोलेरै राखिएको एउटा बन्द खाम थियो, भित्र के के थियो कुन्नि बाहिर मेरै नाम थियो भन्ने ललिजन रावलको गजल सम्झाउँछ।
सुनिरहुँ लाग्ने गला पाएका सत्यराजले स्वर र संगीतमा झै शब्दमा थप गम्भीर हुनुपर्ने देखिन्छ। त्यसो गर्न सके सत्यराज उनकै भनाइमा 'थोरै नाच्ने र धेरै बाँच्ने' कलाकार बन्नेछन्। मधुशाला त्यो यात्राको पहिलो र दरिलो पाइला हो।