'ठमेल बजार' की मीना
मणिपुर, भारतबाट दशवर्ष अघि बिहे गरेर नेपाल फर्किंदा मीना निरौला (३४) लाई गायनमै जमिएला भन्ने लागेकै थिएन । तर, उनको मन अन्त गएन । मणिपुरी भाषाका एक दर्जन फिल्ममा स्वर दिएकी उनले यसबीचमा मिहिनेत मात्र गरिरहिन् ।
लूट–२ को ‘ठमेल बजार’ गीतको चर्चासँगै खोजिन थालेकी गायिका मीना यतिबेला दंग छिन् । यो गीतले उनलाई पाश्र्व गायिकाको नयाँ परिचय दिएको छ । “परिश्रमको फल पाएकी छु, थप ऊर्जा मिलेको छ”, उनी भन्छिन् ।
पुख्र्यौली घर ताप्लेजुङ भएकी मीना मणिपुरमै जन्मिइन्, हुर्काइ पनि त्यहीं भयो । शास्त्रीय संगीत सिकिन् । मणिपुरी भाषाका चलचित्रमा गाउन थालेकी उनी नेपाल फर्केपछि ‘नेपाल तारा’ मा सहभागी भइन् । उत्कृष्ट दशमा पुगे पनि स्वास्थ्यका कारणले प्रतियोगिता छोडेकी उनी ‘पलेंटी श्रृंखला’ मा आबद्ध भइन् । अम्बर गुरुङ, प्रेमध्वज प्रधान, फत्तेमान राजभण्डारी, किरण प्रधानसँगै गाइन् पनि । राष्ट्रकवि माधवप्रसाद घिमिरे र गीतकार दिनेश अधिकारीका गीतमा स्वर पनि दिइन् । “पलेंटीले नै आत्मबल बढायो”, उनी भन्छिन् ।
त्यही बेला मीनाले रोजिना गुरुङसँगै कालीप्रसाद बास्कोटाको संगीतमा पाइला अल्बम ल्याइन् । त्यसले खासै चर्चा पाएन । आधुनिक गीतसँगै चलचित्रका गीतहरू पनि गाउन थालिन् । चलचित्र पर्व को ‘काले दाइ’ ले उनको स्वरको फरकपन चिनायो । ‘ठमेल बजार’ सम्म आइपुग्दा श्रोताले उनको प्रतिभाको परख गर्ने गतिलो अवसर पाए । अब उनलाई साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्रको ‘आँसु पोखें, पीडा पोखें, पोखें जिन्दगी’ गीतबाट अझ चर्चा पाउने आशा छ ।
‘काले दाइ’ र ‘ठमेल बजार’ पछि ‘आइटम सङ’ की गायिकाको रुपमा चिनिएकी मीना स्वयंलाई भने आफू ‘भर्सटायल’ कलाकारका रुपमा चिनिने मन छ । शास्त्रीय संगीत, सुगम संगीत हुँदै यहाँसम्म आइपुगेकी मीनाको विचारमा गायक/गायिका भएपछि एउटै तरीकाका मात्र गीत गाउँछु भनेर हुँदैन । “मैले त्यसैको अभ्यास गरिरहेकी हुँ”, उनी भन्छिन् ।
तस्वीरः विक्रम राई